लोकतन्त्रमाथि प्रश्न, विकल्प के ?

डा सञ्जय कोइराला २०८० मंसिर १४ गते १३:००

जहानियाँ राणा शासनको अवसानपश्चात २००७ सालपछि देशले विभिन्न राजनीतिक परिवर्तनहरु भोगिसकेको छ । सात वटा त संविधान नै देशले पाइसकेको छ । २०६२/६३ को जनआन्दोलनले देशलाई एकात्मकबाट संघीय र राजसंस्थालाई इतिहास बनाएर देशमा गणतन्त्र स्थापना गरिसकेको अवस्था छ । राजनीतिक विकासको कोणबाट हेर्दा हाम्रो देशले सबैभन्दा उच्चतम व्यवस्था पाइसकेको छ ।


कुनै पनि देश विकासका लागि राजनीतिशास्त्रले देखाएको उच्च व्यवस्थामा रहिरहँदा पनि अहिले देशको परिस्थति हेर्दा लागिरहेको छ कि हामी नेपालीलाई कुनै पनि व्यवस्था स्वीकार्य छैन । हामी अहिले लोकतन्त्रको पनि विकल्प खोजिरहेका छौं !
समकालीन अवस्थाका विभिन्न राज्यहरुको राजनीतिक विकास क्रमको सूक्ष्म अध्ययन गरेर कुनै पनि राज्यमा हुन सक्ने शासन व्यवस्थाहरुको विषयमा अरस्तुले विस्तृत रुपमा लेखेका छन्ः राजतन्त्र, कुलीनतन्त्र र लोकतन्त्र । कुनै पनि राज्यमा यी तीन तन्त्रमध्ये एक व्यवस्था रहने अरस्तुको बुझाइ थियो । यी तिनै खाले व्यवस्था नागरिकमैत्री र विकासमुखी या त्यसको विपरीत हुने सम्भावना उत्तिकै देखेका अरस्तुले लोकतन्त्रमा पनि सीमित शासकीय प्रवृत्तिका व्यक्तिहरुको बर्चस्व रहन सक्ने आंकलन ऊ बेलामै गरेका थिए ।


व्यवस्था कुनै पनि आफैंमा असल या खराब हुँदैन । जुनसुकै व्यवस्थामा पनि दुवै अवस्था आउने सम्भावना उत्तिकै रहन्छ । राजनीतिक विकासक्रमलाइ हेर्दा पूर्वीय होस् या पश्चिमा, संसारका हरेक राष्ट्र पहिले आ–आफ्नो धार्मिक दर्शनबाट प्रभावित रहेको देखिन्छ । अधिकांश धर्ममा शक्तिको केन्द्र आ–आफ्ना भगवानलाई मानिएको छ र राज्य चलाउने शासकलाई तिनै ईश्वरको अंशको रुपमा व्याख्या गरिएको पाइन्छ । यसरी हेर्दा हरेक राज्यमा सुरुवाती अवस्थमा राजतन्त्र नै रहेको इतिहास छ ।

Advertisement


मध्य युगमा पश्चिमा राज्यहरु बिशेष गरी बेलायतमा जब धर्म र राजा बीच ‘दुई धारे तलबार’ को बिषयमा शक्ति संघर्ष सुरु भयो, तब धर्मको जगमा अडिएको राजतन्त्रमा ठूलो आघात पुग्यो । सन् १६४९ मा बेलायती राजा चाल्र्स प्रथमलाई फाँसी दिएर बेलायतमा गणतन्त्र स्थापना भएको थियो । तर उक्त व्यवस्था १२ वर्ष पनि टिक्न नपाउँदै बेलायत पुनः संवैधानिक राजसंस्था आयो । तत्पश्चात अविछिन्न रुपमा बेलायतमा राजसंस्था (राजतन्त्र हैन) चलिआएको छ ।

कुनै पनि व्यवस्था आफैंमा खराब छैनन् । व्यक्ति फेर्न लोकतन्त्रमा जति सहज अरु कुनै व्यवस्थामा हुँदैन ।

Advertisement


१५ औं शताब्दीमा जन्मिएका म्याकियाभेलीले धर्म र राजनीतिलाई अलग्याउन आफ्नो लेख ‘प्रिन्स’मार्फत ठूलो भूमिका खेलेका थिए । जब विश्वमा राजनीतिबाट धर्म विस्तारै अलग्गिन थाल्यो तब लोकतन्त्रको आवाज विश्वव्यापी हुन थालेको हो । सोही जगमा विश्वमा लोकतन्त्रका विभिन्न चरण आए । अहिले अधिकांश राज्य लोकतान्त्रिक पद्दतिमा रहेको हामी पाउँछौं । भलै अझै पनि विश्वमा केही राज्यमा राजतन्त्र विद्यमान छ तर ती राज्यमा पनि साशन पद्धति लोकतन्त्रमा नै आधारित छ ।


हाम्रो देशले राजतन्त्र, कुलीनतन्त्र हुँदै अहिले लोकतन्त्र पाएको अवस्था छ । राजनीतिक विकासक्रमलाइ हेर्दा अब लोकतन्त्रमा पनि जनताले चाहेको जस्तो विकास र समृद्धि पाउन नसकेका हामी चरम निरासामा छौँ । हामी अधैर्य छौँ, इतिहास र समयलाइ हामीले बुझ्न चाहेका छैनौँ । लोकतन्त्रको विकल्प खोजेका हामी पुनः राजतन्त्रको पक्षमा उभिरहँदा हामीमा राजनीतिको बुझाइ शून्य नै देखिन्छ ।


राजतन्त्रको विरुद्धमा विभिन्न चरणमा आन्दोलन गरेर वर्तमान अवस्थामा आइपुगेका हामी लोकतन्त्रको सही अभ्यास गर्ने प्रयास पनि नगर्दै अधैर्य भइरहँदा हामी पद्दतिमा नभई पुनः व्यक्ति या मसिहा केन्द्रित मानसिकतामा नै रुमल्लिएका छौं ।


देशमा लोकतन्त्रको पद्दति बसिसकेको छ । आवधिक र निष्पक्ष निर्वाचनमार्फत योग्य र सक्षम व्यक्तिहरुलाई हरेक ५ वर्षमा चुनेर पठाउन पाउने अधिकार जनतामा सुनिश्चित भइसकेको छ । यदि कसैले अपेक्षित कार्य गर्न नसकेमा ऊ पुनः जनतामाझ परीक्षणमा आउनै पर्छ र उत्तीर्ण नभएमा अन्य चुनिन सक्ने सम्भावना छँदै छ । यसरी हेर्दा राज्यको शक्ति जनताको हातमा आइसकको छ । यो भन्दा उत्तम व्यवस्था राजतन्त्र या कुलीनतन्त्र हुन सक्दैन ।


बहुदलीय व्यवस्थामा केही समय अस्थिरता अवश्यम्भावी हो । जबसम्म जनता जागरुक र विवेकी हुदैनन्, तबसम्म विभिन्न वाद या कुनै धर्म या सम्प्रदाय विशेषको पछि लागेर राज्यलाइ अस्थिर बनाइराख्ने गर्छन् । जबसम्म हामी आफ्नो अधिकार नबुझ्ने अनि कसैले देखाइदिएको सपनामा बहकिने गर्छौं, तबसम्म देशमा यस्ता अस्थिरताका लहरहरु देखिई नै रहन्छन् । दुर्गा प्रसाईं र महेश बस्नेत जस्ता व्यक्तिलाई मसिहा देख्न थालेमा यो देशमा अध्ययन, अनुशासन र पद्धतिको धज्जी उड्ने निश्चित छ ।


हामी के चाहन्छौं ? विकास र समृछि चाहेको होइन र ? विकास र समृद्धि के कुनै व्यक्ति विशेषले दिने देन हो र ? कहिलेसम्म हामी कुनै व्यक्ति विशेषलाई ताकेर बस्ने ? यत्तिका संघर्षपश्चात हामीले लोकतान्त्रिक पद्धति त बसालिसकेका छौँ, के अब यही पद्धतिमा बसेर केही समय धैर्य भएर देशलाई सही दिशा दिन सक्ने योग्य र सक्षम व्यक्ति छानेर पठाउने हिम्मत गर्न सक्दैनौं ? विचार गरौँ, कुनै पनि व्यवस्था आफैंमा खराब छैन । व्यक्ति खराब हुन् । व्यक्ति फेर्न लोकतन्त्रमा जति सहज कुनै पनि अन्य व्यवस्थामा हुँदैन । हामीलाई अहिले जरुरी छ त धैर्य, स्वविवेक र आफ्नो अधिकारको अनुभूति ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया