रुख काट्नेलाई पाेखरा महानगरद्वारा १५ हजार जरिवाना

समाधान संवाददाता २०८० मंसिर १४ गते १३:१९

पोखरा ।
सहरको हरियालीका लागि पोखराका सडक किनारमा रुखहरु रोपिएका छन् । त्यसले वातावरणमा योगदान त पुर्‍याएकै छन्, सहरी सौन्दर्य पनि बढाएका छन् । तर तिनै रुख बिरुवा सप्रिँदा आमनेसामनेका पसल र घरहरुले भने आफूहरु ओझेलमा परेको ठानेर रुख बिरुवालाई बैरी ठान्छन् भन्ने उदाहरण बेलाबेला देखिन्छ । त्यसैको उदाहरण हो हालै पोखरा न्युरोड सडक किनारका रुख काटिनु ।


महानगरपालिकालाई पनि टाउको दुखाइ नै छ—कहिले सडक किनारका रुख काटिन्छन्, कहिले फूल चोरिन्छन् । हालै न्युरोडमा रुख काट्नेलाई महानगरपालिकाले जरिवाना गरेको छ । महानगरले पोखरा–८ न्यूरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने २ पसलेलाई कारबाही गरेको हो ।


फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल छेकिएको जनाउँदै अनुमतिबिना रुख नै काटेका उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए ।

Advertisement


महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिबिना कटान गरेमा प्रतिहाँगा ५ हजार र रुख नै काटेमा १५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।


महानगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै पोखरामा १ घर २ बिरुवाको नीति लिएको छ । चालु वर्षमा २ लाख बिरुवा रोप्ने पनि घोषणा गरिएको छ । महानगरले वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ ।

Advertisement


पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा थुप्रै बिरुवा रोपेको जनाएको छ । सडकको बिचको डिभाइडर र किनारमा पनि सयौं संख्यामा फूलका बिरुवा रोपिएका छन् । ‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’को नारासहित हरियाली विकास गर्न महानगरपालिकाका सडक तथा सिमानाका गाउँपालिका केन्द्र जोड्ने सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम महानगरको छ ।


सडक छेउमा लगाइएका बिरुवाको संरक्षण गर्न नगरवासीमा नगरप्रमुख धनराज आचार्यले अनुरोध गरेका छन् । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने जनाउँदै आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि उनले महानगरवासीमा आग्रह गरे ।

तपाईको प्रतिक्रिया