थासाङको ६ गाउँ जोड्ने सडक अलपत्र

राष्ट्रिय समाचार समिति (रासस) २०८० मंसिर १५ गते १२:२०

जोमसोम ।
कालिगण्डकी पूर्वमा रहेको मुस्ताङको थासाङ गाउँपालिकाका ६ वटा गाउँ जोड्ने सडक स्तरोन्नति अहिले रोकिएको छ । संघीय निर्वाचन क्षेत्र अन्तर्गत १ निर्वाचन क्षेत्र, १ रणनीतिक महत्वको सडक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले थासाङको ६ गाउँ जोड्ने सडक स्तरोन्नति सुरु गरेको थियो ।


सडकका लागि पर्याप्त बजेट नहुँदा सडक स्तरोन्नति ८ महिनादेखि रोकिएको हो । यो रणनीतिक महत्वको सडकका लागि यसअघि भौतिक योजना तथा यातायात मन्त्रालयले २०७७/०७८ मा कार्यक्रम स्वीकृत गरी ६० लाख बजेट विनियोजन गरेको थियो । थासाङ ३ लेतेको बेनी जोमसोम मुख्य राजमार्ग सडकबाट छयो, कुञ्जो, टिटी, धम्पु, कोखेठाटी र सौरु जोड्ने १० किमी सडक स्तरोन्नति तथा डिबिएसडी कालोपत्र गर्न योजनामा परेको थियो ।


सडक स्तरोन्नतिसँगै थासाङका वडा २, ३, ४ र ५ सडक पहुँचमा जोडिने भए पनि अहिले २० प्रतिशत भौतिक प्रगति हुँदा निर्माणको काम बजेट अभावले रोकिएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनीयर अमर अधिकारीले जानकारी दिए ।
थासाङमासडक नहुँदा आझेलमा परेका ६ गाउँ जोड्ने सडकका लागि तत्कालीन संघीय सांसद प्रेमप्रसाद तुलाचनले एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडकका लागि पहल गरेका थिए । ०७८ मा सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरिएको थियो । तर, डिपिआर बने पनि ठेक्का सम्झौता ढिलो भएको थियो ।

Advertisement


सो सडकको १२ किमी स्तरोन्नति भनिए पनि लेतदेखि कोखेठाँटीसम्म १० किमीको मात्र ठेक्का सम्झौता भएको थियो । ६ गाउँ जोड्ने रणनीतिक महत्वको संघीय योजनाको लागत ६० करोड रहे पनि ३८ करोड ८८ लाख ६१ हजारमा सम्झौता भएको हो । महालक्ष्मी हिमाली जेभी काठमाडौं र डिभिजन सडक कार्यालय बागलुङबीच २०७९ पुस ७ गते सडकको ठेक्का सम्झौता भएको थियो ।


२०८२ पुस ६ गते अर्थात् ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा चालु वर्ष पर्याप्त बजेट नआउँदा सडक निर्माणको काम ठप्पै भएको डिभिजन सडक कार्यालय बागलुङका इन्नियर अमर अधिकारीले जानकारी दिए । थासाङका ६ गाउँ जोड्ने रणनीतिक महत्वको सडक ७ मिटर चौडा, कालोपत्र, ५० सेमी सोल्जर र १ मिटर ड्रेनसहितको हुनेछ ।

Advertisement

मुस्ताङको थासाङ गाउँपालिकाका ६ वटा गाउँ जोड्ने सडकको काम बजेट नहुँदा ८ महिनादेखि रोकिएको छ


गत पुसदेखि सडक स्तरोन्नति सुरु गरिएको यो सडकको ४ महिनामा २० प्रतिशत भौतिक प्रगति भएकोमा त्यसयताको ८ महिनासम्म बजेटकै कारण सडकको काम रोकिएको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर अधिकारी बताउँछन् । उनले सडकमा ७ मिटर चौडा डिबिएसडी कालोपत्र हुने बताए ।


थासाङका गाउँहरु छयो, कुञ्जो, ताक्लुङ, टिटी, धम्पु र कोखेठाँटी जोड्ने रणनीतिक महत्वको सडकका लागि गत वर्ष विनियोजन भएको बजेटबाहेक निर्माण कम्पनीले थप ६० लाख बढीको काम गरेको थियो । चालु वर्ष भौतिक पूर्वाधार मन्त्रालयले १ करोड हाराहारीमा बजेट विनियोजन गरेको भए पनि गत वर्ष निर्माण कम्पनीले पाउने पैसामध्ये ३० लाखमात्र पाएको छ । ‘हामीले निर्माण कम्पनीले गरेको कामको बजेट चालु वर्षको बजेटले फच्र्छोट गर्‍यौं, अब केही कटिङको कामको पैसा दिनु छ,’ अधिकारीले भने, ‘बाँकी रहेको पैसा सडकका लागि पर्याप्त छैन, यसैले थप बजेटको पर्खाइमा छौं ।’


उनले बजेट अभाव भएर काम रोकिएको र थप १० करोड जति चालु वर्षका लागि चाहिएको भनी भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयमा कार्यालयमा कागजात पेश गरिसकेको जानकारी दिए । उनले सडक निर्माण कम्पनी निरन्तर सम्पर्कमा रहेको र बजेट सुनिश्चिता हुन साथ तत्काल कामअघि बढ्ने दावी गरे ।


अधिकारीले सो सडकका लागि हालसम्म ६ करोड भुक्तानी भइसकेको सुनाए । उनले थोरै बजेट मौज्यात रहेकाले निर्माणको काम बढाउन नसकेको उल्लेख गरे । कालोपत्र सडकका लागि स्ट्रक्चर निर्माण भइसकेको छ ।


थासाङका ६ गाउँ जोड्ने सडकका लागि केही स्थानमा जंगल फडानी गर्नुपर्ने भएकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइई) प्रक्रियामा रहको अधिकारीको भनाइ छ । उनले थासाङको धम्पु क्षेत्रमा करिब सय रुख काटनुपर्ने र त्यो ठाउँ छोडेर सडक स्तरोन्नतिँसँगै डिबिएसडी कालोपत्र गर्ने योजनामा सुनाए ।


सडक नहुँदा त्यस क्षेत्रका स्थानीयलाई निकै सास्ती हुने गरेको गाउँपालिका उपाध्यक्ष सोमल हिराचन बताउँछन् । उनले रणनीतिक महत्वको सडकसँगै कालिगण्डकी नदीमा लेते छयो र लेते धम्पु सडक पुल बन्नुपर्नेमा जोड दिए । सडक र पुल बनेमा त्यस क्षेत्रका स्थानीयलाई ठूलो राहत पुग्ने उपाध्यक्ष हिराचनको भनाइ छ ।


तत्कालीन संघीय सांसद तुलाचनले थासाङको कालिगण्डकी पूर्वको कालोपत्र सडक निर्माणपछि छयो, कुञ्जो, ताक्लुङ, टिटी, सिर्खुङ लगायतका स्थानीय लाभान्वित हुने बताए । उनले बजेट अभावले सडक रोकिएको सुन्दा आफुलाई दुखित भएको बताए ।


थासाङका ६ गाउँ जोड्ने सडक नहुँदा त्यस क्षेत्रका कृषकले उत्पादन गर्ने कृषि उपज बजारीकरण गर्न निकै कठिनाइ छ । सडक निर्माण पूरा भएमा एक गाउँबाट अर्कोमा आउजाउ गर्न र कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा जानसमेत सजिलो हुनेछ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया