बाँझो जग्गामा आलु खेती, लाखौं आम्दानी, मुस्ताङी दंग

सुन्दरकुमार थकाली २०८० मंसिर १८ गते १०:५७

जोमसोम ।
सडक सञ्जालले जोडिएसँगै उपल्लो मुस्ताङी किसानले विस्तारै बाँझो जग्गा उपयोगमा ल्याउन थालेका छन् । सडक नहुँदा सदिंयौं वर्षदेखि सुख्खा पठारको रुपमा रहेको बाँझो प्रयोगविहीन जग्गाहरुलाई स्थानीय कृषकहरुले व्यावसायिक कृषि कर्मको रुपमा अपनाउन थालिएको हो ।


सरकारले कृषि क्षेत्रको समुन्नत विकास तथा प्रवद्र्धन गर्दै खेर गइरहेको बाँझो जग्गालाई उपयोगमा ल्याएर गरिव तथा विपन्न कृषकहरुको जीविकोपार्जन सुधारमा परिवर्तन ल्याउन पहल गरेसँगै उपल्लो मुस्ताङमा बाँझा जग्गाहरु उपयोगमा ल्याउन सुरु गरिएको हो । यसैको नमुना बनिरहेको छ लोमान्थाङ गाउँपालिका—३ ठिङ्गार गाउँ । आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले आलु साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमको सशर्त अनुदान २४ लाख र स्थानीय लाभग्राही किसानको समूह ठेकार कृषक समूहको १८ लाख ३० हजार लागत साझ्ेदारीमा सामूहिक आलु खेती गरी पकेट स्थापना गरिएको थियो । योपटक कार्यक्रममा ठिङ्गरका गाउँका १३ १३ घरधुरीको आवद्धता छ ।


वर्षौदेखि पठार जग्गाको रुपमा बाँझो रहेको जग्गामा गाउँका १३ घरधुरीले सामूहिक रुपमा मिलेर आलु पकेट विकास कार्यक्रमको रुपमा सरकारी अनुदानको सदुपयोग गर्दै आलु खेती गरेका हुन् । उनीहरुले यसअघि सबै घरधुरीको आआफ्नो व्यक्तिगत पुर्जावाला जग्गा भएपनि सदुपयोगमा ल्याउन सकेका थिएनन् । संघीय सरकारको आलु पकेट कार्यक्रमले उनीहरुको कृषि कर्म निकै फस्टाउन थालेको छ । धुलो उड्ने जग्गा अहिले मोहरमा परिणत हुन थालेपछि ठिङ्गरका किसान दंग छन् ।

Advertisement


ठिङ्गरमा सामूहिक आलु खेती गर्न थालेपछि उनीहरुको बाँझो जग्गा हरियालाीमा परिणत भएको हो । आलु पकेट भनिएको बाँझो जग्गामा मौसम अनुसार विभिन्न तरकारी उत्पादन गर्ने तयारी गरेका छन् ठिङ्गरका किसानले । ठेकार कृषक समूह संस्था दर्ता गरी बाँझो जग्गाका लागि उर्वरभूमिमा परिणत गर्दै जीविकोपार्जन सुधारमा लागिपरेको लोमान्थाङ गाउँपालिकाका कृषि शाखा अधिकृत नीराजन कटुवालले जानकारी दिए ।

स्थानीयको ७० रोपनी लालपुर्जावाल बाँझो जग्गालाई चक्लाबन्दी गरी सम्याएर खेतीयोग्य भूमिमा परिणत गरेको कृषि शाखा अधिकृत कटुवालले सुनाए । संघीय सरकारको ससर्त बजेट र स्थानीयको संयुक्त लगानीमा आलु पकेट विकास कार्यक्रम कार्यान्वयनमा आएको उनले बताए ।

Advertisement


ठिङ्गर गाउँका १३ घरधुरीले गरेको सामूहिक आलु खेती विस्तार सबैका लागि अहिले लोभलाग्दो बनेको हो । उनीहरुका लागि चालु आर्थिक वर्ष २०८०/०८१ का लागि थप ३० रोपनी जग्गा विस्तार गर्न १२ लाख बजेट विनियोजन भएको कृषि शाखा अधिकृत कटुवालले उल्लेख गरे ।

लोमान्थाङको ठिङ्गर गाउँका किसानले बाँझो जग्गामा आलु खेती गरेर सुरुआती वर्षमै करिव ५ सय क्विन्टल आलु उत्पादन गरेको ठेकार कृषक समूहका अध्यक्ष कर्मा सम्टुक गुरुङले जानकारी दिए । उनले प्रतिकेजी ६० रुपैयाँका दरले गाउँमै बिक्री गर्दा करिब ३० लाख रुपैयाँ बराबरको आम्दानी भएको बताए । ‘पहिलो वर्षमै राम्रो प्रतिफल निस्किएको छ, बाँझो जग्गामा आलु फल्दैन कि भन्ने चिन्ता थियो,’ समूहका अध्यक्ष गुरुङले भने, ‘सबै घरधुरी किसानको सामूहिक परिश्रम र मेहनत अनि उचित मलजल र व्यवस्थापनले परिकल्पना साकार हुन थालेको छ ।’ उनले अहिले सामूहिक खेतीलाई विस्तार गर्दै १ सय रोपनी जग्गामा आलु खेती विस्तार गर्ने योजना रहेको उल्लेख गरे ।


ठिङ्गरका किसानले स्थानीय जातको सेतो आलुको खेती गरेका हुन् । उपल्लो मुस्ताङमा एकबाली मात्र हुने भएकाले आलु खेतीले राम्रै आर्थिक लाभ लिन सक्ने सम्भावना छ । खेतीका लागि स्थानीय स्तरमा पालन गरिएका भेडा, च्यांग्रा, झोपा, याक, चौरीबाट मल उत्पादन गर्न सकिने भएकाले पनि आलु खेती सप्रिन टेवा पुगेको स्थानीय किसान राजु गुरुङले जानकारी दिए । उनले स्थानीय जातका सेतो आलुको जिल्लामै माग भएकाले बजारीकणका लागि समस्या भएको बताए । अग्लो उचाईको चिसो भूगोलमा उत्पादन गरिएको आलुको माग बढी भएको उनले उल्लेख गरे ।


उपल्लो मुस्ताङमा खेतीयोग्य जमिन ज्यादै न्यून छ । त्यहाँ उत्पादन भएको सबै आलु व्यापारीले किनेर ट्रकमार्फत पोखरा पु¥याएका थिए । ठिङ्गरको ठेकार कृषक समूहले गत वर्षको चैत, वैशाखमा आलु लगाएर भदौ÷असोजमा खेतबाट आलु निकालेका थिए । आलु पकेट व्यवस्थापन, मलजल, खनजोत र बजारीकणका लागि सामूहिक रुपमा खटिने र आम्दानीको नाफा पनि सामान रुपले वितरण गर्ने गरेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया