सडकका गाईवस्तु बटुलेर गौशाला

समाधान संवाददाता २०८० मंसिर १८ गते १३:२१
क्याप्सनः पोखरा–१४, बाच्छेबुडुवाको पुरानो ल्याडफिल साइटमा बनेको गौशाला ।

पोखरा ।
आधा वर्षअघिसम्म पोखराका सडकमा देखिने एउटा दृश्य अचेल गायबजस्तै छ । सम्झनुभयो ? यत्रतत्र स्वच्छन्द छाडा गाईवस्तुको दृश्य । पोखरा महानगरपालिकालाई बेलाबेला टाउको दुखाइ बन्थ्यो सडकका गाईवस्तु । त्यसमाथि पैदलयात्रु र गाडीहरुलाई पनि उत्तिकै सास्ती हुन्थ्यो । कहिलेकाहिँ त दुर्घटना पनि निम्तन्थ्यो ।


अचेल पनि सडकमा गाईवस्तु नआउने होइनन् । तर त्यस्ता गाईवस्तुलाई भेटेसम्म पोखरा १४ को बाच्छेबुडुवा पु¥याइन्छ । जहाँ पहिला महानगरपालिकाले फोहोर बोकेर लैजान्थ्यो, अचेल गाईवस्तु लगिन्छ । फोहोर थन्क्याउने ल्यान्डफिल साइट पुरिसकिएको छ । त्यतै खुलेको छ—‘पुष्करिणी परोपकार गोकुल धाम’ ।


धाममा ठूला र साना गरी ४ गोठ छन् । त्यहीं छन् ३ सयभन्दा बढी गाई । राष्ट्रिय परोपकार महासंघले ७ महिनामै संरचनासहित आधुनिक गौशाला बनाएको हो । गौशालाका बाँकी पूर्वाधार निर्माण र व्यवस्थापनको काम अबको १ वर्षभित्रै सक्ने योजना छ । व्यवस्थित गौलाशामा गाईका गोठमात्रै छैनन्, वरिपरि बिरुवा रोपिएको छ, चौतारी बनाइँदै छ, बगैंचामा बाच्छाबाच्छी रमाउँदै दौडिन्छन् ।

Advertisement


फोहोरको थुप्रो लाग्दा गिद्ध र अरु चराचुरुंगी पुग्थे बाच्छेबुडुवा । अचेल गौशाला हेर्न मानिस पुग्छन् । एकातिर सडकका गाईवस्तुको व्यवस्थापन अर्काेतिर गाईको संरक्षण पनि । गौशालाले ती २ ‘धर्म’ गरेको छ ।

गौशालाले एकातिर फोहोरमा गिद्ध आउँदा हुन सक्ने उडान अवरोध हटाएको छ भने अर्कातिर छाडा चौपायाको समस्या पनि सुल्झाएको छ

Advertisement


परोपकार महासंघका अध्यक्ष कमलनयन गौतमको जुक्तिमा गौशाला बनेको हो । जसै गौशाला बनाएर सडकका गाईवस्तु व्यवस्थापन र गाई संरक्षणको योजना गौतमले महानगर पुर्‍याए, कार्यपालिका बैठकले अनुमोदन गर्‍यो । त्यसपछि गोठ बनाइवरि सडकका गाई बटुलेर लगियो । अनि सुरु भयो, गौशाला । ३ करोड खर्च भइसकेको ‘पुष्करिणी परोपकार गोकुल धाम’का लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यही पैसाले गोठ बनेका हुन् । बाँकी त महासंघले जुटायो । दाता पनि जुट्ने जुटाउने क्रम जारी नै छ ।


पशुपालक किसानले सडकमा छोड्नुको साटो गौशालासम्म पनि आफ्ना गाई पुर्‍याउन थालेका छन् । गौशालामा अहोरात्र आफै खटिने महासंघ अध्यक्ष गौतम अब पोखरामा गाईगोरु, बाच्छाबाच्छी भोक, रोग र पीडाले मर्नुपर्दैन नपर्ने सुनाउँछन् । ‘वेबारिस गाईको उद्धारमात्र गर्दैनौं, यहाँ नमुना काम गरी देखाउँछौँ,’ उनी भन्छन् ।


गौतमको योजना र लक्ष्य भनेको गौशालालाई आत्मनिर्भर बनाएर दीर्घकालीन रुपमा चलाउने भन्ने हो । घरमा पाल्दा फाइदा नहुने ठानी छाडेका गाईबाट दूध उत्पादन गरी आम्दानी हुने सम्भावना निकै कम छ । केही हदमा दूध उत्पादन भएको छ । अहिले गौशालामा दैनिक ५० लिटर हराहारी दूध उत्पादन हुन्छ । गौतम भन्छन्, ‘मुख्य लक्ष्य गोबर र गहुँत व्यवस्थापन नै हो । हाम्रो क्षमता सीमित छ, सबै गाई यही व्यवस्थापन गर्नेभन्दा पनि गाईको महत्व बुझाउने र घर घरमै पाल्ने वातावरण बनाउनु मुख्य कुरा हो ।’


महानगर प्रमुख धनराज आचार्य छाडा चौपायाले सडक असुरक्षित बनेको र गाईको बिजोग भएपछि गौशालाको योजनालाई सहयोग गरेको बताउँछन् । महानगरले अहिले सडकबाट घाइते, बिरामी पशुलाई उठाउन विशेष गाडी(एनिमल रेस्क्यु भेइकल) नै बनाएको छ । ‘गाई थाकेपछि सडकमा ल्याएर छाड्ने गरेको देखियो । मान्छेले गरेका गल्तीको पशुलाई भागिदार बनाइयो । फरक खालको गौशाला बनाएर यी पशुको व्यवस्थापन र पर्यटकीय स्थल बनाउँदै छौँ,’ उनले भने ।


गौशाला रहेको २ सय रोपनीमा तारबार गर्ने तयारी छ । गएको तिहारमा जनप्रतिनिधि, कर्मचारी र केही स्थानीयले यहाँ गएर सामूहिक गाईपूजा गरेका थिए । गाईको आहाराका लागि गौशाला परिसरमा डाले घाँसका बिरुवा लगाइएका छन् । गाईको मलमूत्र प्रयोग गरी १० रोपनीमा अर्गानिक तरकारी खेतीसमेत थालिएको छ ।


यो गौशालालाई अध्ययन, अवलोकन स्थल बनाउने लक्ष्य छ । ‘यी गाईले आफैं पालिन सक्ने अवस्था बनाउछौँ । यहाँ आएर गाईका जात, फाइदा, दूधजन्य उत्पादनबारे बुझ्ने, चाख्ने मौका दिन्छौँ,’ महासंघ अध्यक्ष गौतम भन्छन्, ‘कृषि प्रणाली बुझाउने, सिकाउने र त्यसतर्फ सर्वसाधारणलाई उत्प्रेरित गर्ने योजना छ । २५/३० वटा ठेकी राखेर मोही पार्न सिकाउँछौँ । इच्छुकलाई दूध दुहुन दिन्छौं ।’ सम्भव भएसम्म नेपालमा पाइने सबै रैथाने जातका गाई राख्ने योजना छ ।

तपाईको प्रतिक्रिया