महानगरभित्रमा अपांगतामैत्री पूर्वाधार बनाउँछौंः आचार्य

समाधान संवाददाता २०८० मंसिर १८ गते १५:००

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण गर्ने पूर्वाधार अपांगतामैत्री बन्ने वाचा गरेका छन् । ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा उनले महानगरले आगामी दिनमा निर्माण गर्ने सबै संरचना अपांगतामैत्री बन्नेमा आश्वास्त पारे ।


यस दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्ने उनको भनाइ छ । ‘महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा वितरण गरिनेछ’, उनले भने ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले अपांगता भएकालाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिँदै समाजले अपांगता भएका व्यक्तिलाई गर्ने व्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गरिन् । महानगरले अपांगता भएका व्यक्तिका लागि ऐन, कानुन निर्माण गरेको र केही कमी, कमजोरी भए यस क्षेत्रमा काम गर्ने संघ, संस्था र व्यक्तिको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने औंल्याइन् ।

Advertisement


अपांगता भएका व्यक्ति वा परिवार पाल्नुुपर्ने महिलालाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदै आएको उनको भनाइ छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रमका अवसरमा पोखरा महानगरको गेटबाट पोखरा सभागृहसम्म र्‍यालीसमेत गरिएको थियो ।


र्‍यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघ, संस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिको सहभागिता थियो । कार्यक्रममा महानगरपालिका अपांगता परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुरप्रसाद चापागाइँ, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, हेमोफिलिया सोसाइटी गण्डकी प्रदेश अध्यक्ष गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष बिना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना व्यवस्थापक विष्णु गिरी लगायतले अपांगता क्षेत्रमा भएका समस्या लगायतका विषयमा धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया