सञ्चार सहकारीको सभा

समाधान संवाददाता २०८० मंसिर १८ गते १५:५७

पोखरा ।
सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ वार्षिक साधारण सभा शनिबार भएको छ । साधारणसभामा ज्येष्ठ सेयर सदस्य सुवेदार मेजर यामबहादुर रानाले उद्घाटन गर्दै सहकारीको मर्म अनुसार काम गरी लक्ष्यमा पुग्न आग्रह गरे ।


संस्थाका अध्यक्ष विनोद ढुंगानाले पछिल्लो समय केही सहकारीमा देखिएको वित्तीय संकट र व्यवस्थापकीय कमजोरीले सहकारीप्रति आम बचतकर्ताको धारणा बदलिएको जनाए । उनले त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर संस्थामा देखिए पनि सञ्चालक समितिको व्यवस्थापकीय कौशलका कारण कठिन र चुनौतिपूर्ण समयलाई पार लगाएर सेयर सदस्य र बचतकर्ताको बचतलाई सुरक्षित गर्न सफल भएको दाबी गरे ।


उनले भने, ‘हामीलाई सेयर सदस्य र बचतकर्ताको निकै ठूलो साथ र भरोसा मिल्यो, हामीप्रति उहाँहरुको विश्वास र उहाँहरु प्रति हामी जिम्मेवार भएकै कारण संस्थाले नियमित कारोबार गरिह्यो र कुनै पनि बचतकर्ता निराश हुनुपरेन ।’ सबैको साथले सञ्चारले आफ्नो गरिमा जोगाउन सफल भएको जनाउँदै उनले संस्थालाई अझ मजबुत बनाउन आगामी आर्थिक वर्षदेखि सञ्चालक र व्यवस्थापकले ऋण सुविधा लिन नमिल्ने व्यवस्था गरिएको जानकारी दिए ।

Advertisement


जिल्ला सहकारी संघ कास्की सञ्चालक धनराज पुरीले सहकारीले नीति, नियमभित्र रहेर कारोबार गर्दा समस्या भोग्नु नपर्ने भन्दै सञ्चालकदेखि बचतकर्ता सेयर सदस्य सबैले आर्थिक अनुशासनलाई पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सञ्चालक सचिव पवित्रराज तिवारीले आगामी कार्ययोजना सहितको प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष युवराज खनालले आर्थिक प्रतिवेदन पेश गरे ।


लेखा समितिको वार्षिक प्रतिवेदन संयोजक गणेश पराजुलीले प्रस्तुत गरे । कार्यक्रममा सहकारीमा कार्यरत बजार व्यवस्थापक सनम नेपालीलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद ५ हजारसहित सम्मान गरिएको थियो । संस्थामा ४ सय ५४ सेयर सदस्य छन् भने सेयर पुँजी ८ करोड ५६ लाख २५ हजार छ ।

Advertisement

तपाईको प्रतिक्रिया