भूकम्प प्रभावितलाई युनाइटेड क्लबको सहयाेग

समाधान संवाददाता २०८० मंसिर १९ गते १२:३९

पोखरा ।
युनाइटेड क्लब पोखराले भूकम्प प्रभावित क्षेत्रमा पुगी विद्यार्थी र अभिभावकलाई सिरक र न्यानो कपडा वितरण गरेको छ । देउसीभैलोबाट बचत भएको रकमबाट स्थापित विपद व्यवस्थापन कोषमार्फत युनाइटेडले सहयोग गरेको हो ।


कात्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० बिसौनीचौरका बासिन्दालाई त्यही पुगी सहयोग गरिएको हो । क्लबले ऐश्वर्य आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकलाई सघाएको हो ।


बिसौनीचौरका १ सय ५० बिद्यार्थीलाई न्यानो कपडा र विद्यार्थीका अभिभावकसहित अन्यलाई सिरक वितरण गरिएको हो । चौरजहारी नगरपालिका वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र रोकायाले आफ्नो वडामा सहयोग गरेकोमा धन्यवाद दिए ।

Advertisement


युनाइटेड क्लबका निवर्तमान अध्यक्ष सुकबहादुर गुरुङले क्लबले स्थापनका कालदेखि नै सामाजिक काममा हातअघि बढाउँदै आएको स्मरण गरे । क्लबका अध्यक्ष राजु श्रेष्ठले विपद व्यवस्थापन कोषमार्फत देशका जुनसुकै ठाउँमा पनि विपद् आउँदा यथाशक्य सहयोग गर्ने गरेको जनाए । कार्यक्रममा युनाइटेड क्लबका सदस्य जयराम आचार्य। पूर्व विद्यालय निरीक्षक अतिराम वली, प्रधानाध्यापक बलबहादुर केसी, गण्डकी प्रदेशका स्वयंसेवक पानबहादुर क्षेत्री लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया