११ महिनामा ८६ हजार विदेशी मुस्ताङमा

सुन्दरकुमार थकाली २०८० मंसिर २० गते १०:५२

जोमसोम ।
सन् २०२३ को ११ महिनामा ८६ हजार ४८ पर्यटक मुस्ताङ भित्रिएका छन् । मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको रेकर्ड यो अहिलेसम्मै उच्च हो । सिएनएनले सन् २०२३ मा घुम्नैपर्ने पर्यटकीय गन्तव्यमा मुस्ताङ उपत्यकालाई सूचीकृत गरेसँगै पर्यटकको संख्या अपेक्षाकृत वृद्धि भएको हो ।


२०२३ को डिसेम्बर अन्तिमसम्ममा थप १ हजार विदेशी पर्यटक भित्रिने प्रक्षेपण गरिएको छ । यो वर्षको जनवरीदेखि नाभेम्बरसम्ममा ६८ हजार ७ सय ७७ जना सार्क राष्ट्रका र १७ हजार २ सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले उल्लेख गरेको छ ।


सन् २०२३ को नाभेम्बरसम्ममा ७५ प्रतिशत सार्क र २५ प्रतिशत तेस्रा मुलुकका पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । एक्याप प्रमुख रेग्मीका अनुसार सन् २०२३ को जनवरीमा ८ सय ५६, फेब्रुअरीमा २ हजार ८२, मार्चमा ७ हजार ७ सय ४५, अप्रिलमा १६ हजार ८ सय ७३ जना पर्यटक आएका छन् ।

Advertisement


मेमा १६ हजार २ सय ५६, जुनमा ९ हजार ९५, जुलाई ३ हजार २ सय १, अगस्ट १ हजार ६ सय ४२, सेप्टेम्बरमा ८ हजार १ सय ५४, अक्टोबरमा ११ हजार ८ सय ९१ र नोभेम्बरमा ८ हजार २ सय ५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । यस वर्ष ४८ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेको एक्याप कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।

वर्षमै ५ लाख नेपाली र करिब एक लाख विदेशी मुस्ताङ आएपछि यहाँको पर्यटन लयमा फर्किएको अनुभूत गरिएको छ

Advertisement


सार्क राष्ट्रमध्ये अधिकांश भारतीय पर्यटक छन् । मुस्ताङ आउने विदेशीमा सरदर ७० प्रतिशत भारतीय छन् । सन् २०२३ को अप्रिल, मे र अक्टोबरमा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अप्रिलमा सबैभन्दा धेरै १६ हजार ८ सय ७३, मेमा १६ हजार २ सय ५६ र अक्टोबरमा ११ हजार ८ सय ९१ जना विदेशी मुस्ताङ भित्रिएका हुन् । सबैभन्दा कम जनवरीमा ८ सय ५६ विदेशी मुस्ताङ आएका थिए ।


सन् २०२० देखि कोभिड माहामारीले सुस्ताएको मुस्ताङको पर्यटकले अहिले छलाङ पारेको हो । सन् २०२२ को तुलनामा सन् २०२३ मा २५ प्रतिशत बाह्य पर्यटक बढेका छन् । २०२२ मा ६५ हजार ९ सय ३० विदेशीले मुस्ताङ भ्रमण गरेका थिए ।


कोभिड माहामारीको पहिलो वर्ष सन् २०२० मा ४ हजार ९ सय ४७ र सन् २०२१ मा २ हजार ३ सय विदेशी मुस्ताङ आएका थिए । मुस्ताङ भित्रिएका पर्यटकको तथ्यांक अन्तर्गत सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा लमजुङको बेसीसहर र मनाङबाट राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै १० हजार २ सय ३४ जना विदेशी आएका छन् ।


तीमध्ये ६ सय २७ जना सार्क राष्ट्रका छन् भने ९ हजार ६ सय ७ जना तेस्रो मुलुकका पर्यटक छन् । सन् २०२२ मा राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै १३ हजार ६ सय २५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । राउन्ड हुँदै मुस्ताङ भित्रिने पर्यटक खासै बढेका छैनन् ।


मुस्ताङ आएका विदेशीमध्ये करिब ३ हजार ५ सयले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । उपल्लो मुस्ताङ प्रवेश गर्न अध्यागमन विभागबाट पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । त्यहाँ प्रवेश गर्न १० दिनको प्रवेश अनुमतिवापत प्रति पर्यटक ५ सय डलर रोयल्टी बुझाउनु पर्छ । १० दिन कटेपछि दैनिक ५० डलरका हिसाबले थप शुल्क लाग्छ ।


उपल्लो मुस्ताङमा भिआइपी पर्यटकबाहेक अरु हत्तपत्त जाँदैनन् । अरु विदेशी कागबेनी र मुक्तिनाथबाटै फर्किने गर्छन् । कोभिड माहामारीपछि मुस्ताङको सुस्ताएको पर्यटक लयमा फर्किसकेको मुक्तिनाथ स्थित होटल ग्रान्ड साम्बलाका प्रोपाइटर सुरज गुरुङ बताउँछन् । मुस्ताङ धार्मिक तथा पर्यटकीय हब भएकाले यहाँका पर्यटन गण्डकी प्रदेशकै आधार भएको उनको भनाइ छ ।


हवाई तथा सडक मार्ग सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बर्सेनि बढ्दै गएका छन् । यसले पर्यटन व्यवसायीलाई उत्साहित तुल्याएको छ । मुस्ताङमा पर्यटक लक्षित साना ठूला गरी २ सयभन्दा धेरै होटल तथा रेस्टुरेन्ट छन् । मुक्तिनाथ दर्शन गर्न, कागबेनीमा पिण्डदान गर्न र उपल्लो मुस्ताङ घुम्न वर्ष ५ लाख नेपाली यहाँ आउने गरेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया