मुग्लिन पोखरा सडक ९ किमी कालोपत्र

समाधान संवाददाता २०८० मंसिर २० गते १२:५८

दमौली ।
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको ९ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा ९ किलोमिटर खण्ड एकतर्फी कालोपत्र गरिएको हो ।


पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर गाउँपालिका १ नाहालादेखि छिर्कनेसम्म ५ दशमलव ५ किलोमिटर र आँबुखैरेनी गाउँपालिका १ बरादीमा ३ दशमलव ५ किलोमिटर खण्ड कालोपत्र भएको हो । उनले भने, ‘दुई ठाउँमा एकातर्फी रूपमा ९ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’


सडक आयोजनाले गत असारमा आँबुखैरेनीको बरादीमा सडक कालोपत्र गरेकामा नाहाला खण्डमा तिहारका बेला कालोपत्र गरेको थियोे । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१ दशमलव४५ किमी छ । आँबुखैरेनीको मार्कीचोकदेखि बरादीसम्मको खण्डमा कालोपत्रको काम थालिएको छ ।

Advertisement


इन्जिनियर पाण्डेका अनुसार पहिला कालोपत्र भइसकेको बरादीसम्म मार्कीचोकदेखि कालोपत्र थप्ने काम थालिएको छ । उनी भन्छन्, ‘यस अगाडि बरादीमा कालोपत्र भएको ठाउँमा जोड्ने गरी मार्कीचोकदेखि काम सुरु भएको छ । सवारी साधनको आगमनलाई ध्यानमा राखेर अहिले एकतर्फीमात्रै काम भइरहेको छ ।’


पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको इन्जिनियर पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने र पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३८ प्रतिशत काम सकिएको छ ।

Advertisement


राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।


४१ दशमलव ४५ किमी यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म छ । पश्चिम खण्डको काम भने सुस्त छ ।


विसं २०२६ मा रेखांकन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटर हुनेछ ।

तपाईको प्रतिक्रिया