भुजुङका घर घरैमा धारा

समाधान संवाददाता २०८० मंसिर २१ गते ११:०७

पोखरा ।
क्व्होलासोथार गाउँपालिका ४ भुजुङमा घरघरै खानेपानीका धारा पुगेका छन् । संघीयताअघि एक गाउँ र एक गाविसका रुपमा चिनिएको भुजुङ अहिले एक वडा, एक गाउँले चिनिन्छ ।


भुजुङमा ३ सय ४५ धारा निर्माण भएका छन् । गाउँका ३ सय १६ घरधुरी साथै ४ वटा सामुदायिक भवन, २ विद्यालय, गुम्बा, वडा कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय र सार्वजनिक ठाउँमा धारा निर्माण गरिएका हुन् । यसबाट १ हजार ९ सय ९५ जना लाभान्वित भएका छन् ।


कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपाल पोखराको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट धारा निर्माण गरिएको हो । १ करोड २६ लाख २४ हजार १ सय ७४ रुपैयाँ ७२ पैसामा निर्माण गरिएको भुजुङ थोख्ले खानेपानी योजनामा कादुरी एग्रीकल्चरल एड् एसोसिएसन पोखराको १ करोड ५ लाख ३ हजार ६ सय ७५ रुपैयाँ ७२ पैसा लगानी भएको छ । उपभोक्ताले २१ लख २० हजार ५ सयको श्रमदान गरेका छन् ।

Advertisement


खानेपानी योजना मंगलबार उद्घाटन गर्दै कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपालका निर्देशक रिटार्यड कर्नेल एन्ड्रु मिल्सले गाउँका घरघरै निर्माण भएका धारामा स्वच्छ खानेपानी आएको देख्दा खुसी लागेको सुनाए । कादुरीले यस क्षेत्रमा निर्माण गरेको सवैभन्दा ठूलो योजना नै भुजुङको थोख्ले खानेपानी योजना हो ।


यसलाई गाउँलेले सदुपयाग गर्ने र गाउँको कला र संस्कृति जोगाउने अपेक्षा उनले सुनाए । क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले पछिल्लो समय विकास गाउँ गाउँमा आएको भन्दै यसका लागि सबैको एकमत जरुरी हुने जनाइन् । उनले खानेपानीबाट भुजुङका बासिन्दामात्रै नभई अस्थायी रुपमा भुजुङ बस्ने कर्मचारी र भुजुङ आउने पर्यटकलाई समेत फाइदा पुग्ने उनको भनाइ छ ।

Advertisement


कादुरीका प्रबन्धक मनबहादुर थापाले भुजुङमा निर्माण भएको खानेपानी आयोजनाबारे विस्तुत जानकारी दिए । सो अवसरमा खानेपानी ट्यांकी निर्माणका लागि आवश्यक जग्गा दिने पुनरी गुरुङ, खिमबहादुर गुरुङ, नन्दबहादुर गुरुङ, प्रेमकाशी गुरुङ र हस्तबहादुर गुरुङलाई सम्मान गरिएको छ ।


भुजुङ थोख्ले खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष डीलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा योजनाका निवेदक क्याप्टेन मिलबहादुर गुरुङ, समितिका सचिव बोदबहादुर गुरुङ, वडाध्यक्ष नारायाण गुरुङ लगायतले बोलेका थिए ।


गाउँमा यसअघि रहेका पुराना धाराबाट पर्याप्त पानी नआउँदा स्थानीय समस्यामा थिए । थोंख्ले मुलबाट पाइपमार्फत ल्याइएको खानेपानीलाई घरघरै धारा निर्माण गरी उपभोक्तामाझ पुर्‍याएको छ ।

तपाईको प्रतिक्रिया