संग्रहालय प्रवर्धनका लागि पर्वतीय महोत्सवः न्यौपाने

समाधान संवाददाता २०८० मंसिर २२ गते ११:३८

महोत्सव सूचनामूलक, जानकारीमूलक र पर्वतीय संग्रहालय र पर्वतीय जनजीवन प्रवद्र्धन र उत्थानमै केन्द्रित हुन्छ
संयुक्त राष्ट्रसंघको आह्वानमा डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै आएको । सोही अवसरमा नेपाल पर्वतारोहण संघले पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा पर्वतीय महोत्सव गर्दै आएको छ ।

यसपालि शुक्रबारबाट सुरु हुने आठौं संस्करणको यो महोत्सवमामा पर्वतीय पर्यटनका विविध पक्षबारे छलफल र प्रदर्शनी हुनेछ । सँगसँगै, परम्परागत खेल, सांगीतिक कार्यक्रम, नाटक प्रदर्शन, डकुमेन्ट्री प्रदर्शन लगायत आकर्षण रहनेछन् । महोत्सवबारे अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेसँग गरिएको कुराकानीः


पर्वतीय महोत्सव आयोजनाको मुख्य उद्देश्यचाहिँ के हो ?
यसको मुख्य उद्देश्य पर्वतीय संग्रहालयको प्रवद्र्धन नै हो । सँगसँगै, नेपाल पर्वतारोहण संघ(एनएमए)को पनि प्रवद्र्धन हुने भयो । एनएमएले कसरी, के काम गर्दाे रहेछ भन्ने आम नागरिकलाई थाहा हुने भयो । महोत्सव भनेपछि व्यापारिक प्रयोजन, नाफा आर्जन भन्ने हुन्छ तर हाम्रो मुख्य उद्देश्य प्रवद्र्धन नै हो । यो महोत्सव सूचनामूलक, जानकारीमूलक र पर्वतीय संग्रहालय र पर्वतीय जनजीवनको प्रवद्र्धन र उत्थानमै केन्द्रित हुन्छ ।

Advertisement


महोत्सवका मुख्य आकर्षण के के छन् ?
हिमाली क्षेत्र मनाङ, मुस्ताङमा हुने उत्पादन सिमी, फापरको पीठो लगायतका उत्पादन यहाँ राखिनेछ । त्यहाँकै स्थानीय र पालिकाहरुसँग सहकार्यका लागि आग्रह गरेका छौँ । म्यादी, मुस्ताङ, कास्की, गोरखा, मनाङका सबै हिमाली पालिकालाई प्रस्ताव पठाएका थियौँ । यसपालि प्रस्ताव गर्दा यसै पटक सबै पालिकाका उत्पादन र सहकार्य सम्भव नभए पनि आगामी वर्षबाट सहकार्यका लागि आधार तयार गरेका छौँ । हिमाली क्षेत्रका पालिकाको जनजीवनमा जलवायु परिवर्तनका कारण परेको असर, पालिकाहरुको भूमिका, स्थानीयको भूमिकासहित उनीहरुको अनुभव साटासाट गर्न यस्तो प्रयास गरेका हौँ । दूरी र लगानीको हिसाबले तत्काल सबै पालिकाबाट स्टल राख्न सम्भव भएन ।


यो महोत्सवमा के के पर्वतीय खेलकुदका गतिविधि हुन्छन् ?
हिमाली क्षेत्रतिर खेलिने आर्चरी, छेलो जस्ता खेल हुने छन् । आर्चरी ८ देखि ११ तारिखसम्म हुनेछ, यो खुला प्रतिस्पर्धा हो । जोसुकैले पनि आर्चरीमा भाग लिन पाउने छन्, एक सय रुपैयाँमा ५ वटा एरो लिएर प्रहार गर्न पाइनेछ, सेन्टरमा पार्नेलाई पुरस्कारको व्यवस्था गरेका छौँ । जिपलाइन राखिएको छ । बच्चाहरुले विगतमा यसलाई खूब मन पराए, यसको न्यूनतम शुल्क २ सय राखिएको छ ।

Advertisement


छेलो प्रतियोगिता कालावाङ खडेरी गुरुङ समाजको व्यवस्थापनमा हुँदै छ । पूर्व भूपूहरुले व्यवस्थापनमा टग अफ वार (डोरी तान्ने प्रतियोगिता)को व्यवस्थापन गर्नुभएको छ । नेपालमा पुलको विकासक्रमबारे प्रकाश पार्न हेल्बेटासले पुलहरुको फोटो प्रदर्शनी गर्दै छ । नेपालका ८ हजार मिटरभन्दा अग्ला हिमालहरु आरोहण गरी विश्व कीर्तिमान कायम गरेका आरोहीहरुको फोटो प्रदर्शनीसमेत हुनेछ ।


संग्रहालयभित्र पनि अस्थायी प्रदर्शनी हुनेछ । त्यहाँ आल्स मिट हिमालयको फोटो प्रदर्शनी हुँदै छ । फोटोग्राफरले नै तस्बिर खिच्दाको अनुभव सुनाउने कार्यक्रमसमेत छ । यो ९ तारिखमा हुनेछ । सांगीतिक कार्यक्रम पाँचै दिन हुनेछ । विद्यार्थीलाई लाभदायी कार्यक्रम वर्ड कन्जरभेसन नेपालले तयार गरेको गिद्धसम्बन्धीको नाटक पाँचै दिन देखाइनेछ । दिउँसो १ बजेतिर मञ्चन हुने नाटकको व्यवस्थापन वर्ड कन्जरभेसन नेपालले नै गर्ने छ । ‘साइलेन्ट वर्ड, बुन अफ नेचर’ शीर्षकमा विद्यालयका विद्यार्थीहरुले नाटक देखाउने छन् । किम्फसँगको सहकार्यमा डकुमेन्ट्रीहरु प्रदर्शन गरिनेछ ।


३ दिन हुँदै आएको महोत्सव यसपालि किन लम्ब्याइयो ?
यसपालिको महोत्सवलाई थप प्रभावकारी र विशेष बनाउने प्रयत्न भएको छ । यसअघि ३ दिन हुँदै आएको महोत्सव यसपालि ५ दिन हुँदै छ । स्टलको व्यवस्थापन, अन्य व्यवस्थापनको खर्च पनि ३ र ५ दिनका लागि गर्दा ठूलो फरक नहुने र यसलाई नियमित इभेन्टका रुपमा स्थापित गर्न पनि महोत्सव अवधि लम्ब्याइएको हो । यो समय संग्रहालयमा सबैभन्दा बढी विद्यार्थी आउने सिजन हो । एक दिनमै विद्यार्थी र पोखरा बाहिरका पर्यटक गरी सरदर २ हजार आउनुहुन्छ । यहाँ आउने आगन्तुकलाई थप बुझ्ने र अरुलाई पनि बुझाउने अवसरमा रुपमा यसलाई उपयोग गर्ने प्रयत्न गरेका छौँ ।


प्रवर्धनका लागि हुने महोत्सव खर्च त पक्कै धान्दैन होला ? यसको व्यवस्थापन कसरी गरिएको छ ?
यो महोत्सवचाहिँ हामी आफैंले गर्दै आएका छौँ । विभिन्न संघ, संस्थासँग सहकार्य भने हामी गर्छौं । यसपालि डब्लुडब्लुएफ, एसिमोड, गो बन्जी, एक्याप, सिद्धार्थ बैंक लगायतका संघ, संस्थासँग पनिसहकार्य गरेका छौँ । केही रकम यी र यस्तै संघ, संस्थाबाट प्राप्त हुन्छ, बाँकी रकम हामी आफैं व्यहोर्छाैं । महोत्सवमा राखिएका स्टलहरुबाट आम्दानी हुने अपेक्षा हाम्रो छैन । किनभने यो ठाउँ पनि बजारबाट केही छेउतिर पर्छ र बाहिर हुने महोत्सव जस्तो महोत्सव पनि यो होइन ।


आठौं महोत्सव हुँदै छ, सातौंसम्मका उपलब्धिचाहिँ के के देखिए ?
हामीले विगतमा यसको मूल्यांकन र भावी योजना निर्माणका लागि आम्दानी र आगन्तुकको तथ्यांक राखेका थियौँ । पहिले महोत्सवका बेला र त्यसपछि टिकटबाट हुने आम्दानी ५ प्रतिशत बढेको देखिएको थियो । यसपालि पनि आम्दानी बढ्छ भन्ने हाम्रो अपेक्षा छ । आगन्तुक त यसै बढ्ने नै भए । प्रचारप्रसार र कायक्रमबारे जानकारीका लागि हामी लागिरहेका छौँ । इभेन्टका लागि हामीले पोखराका सबै स्कुललाई निमन्त्रणा पठाएका छौँ । नियमित आगन्तुक नै आउने नै भए ।


पर्वतीय संग्रहालय पोखराको एउटा गौरव हो । सय रोपनीमा संसारकै ठूलो संग्रहालय पोखरामा छ । यो ठाउँलाई पर्वतीय संग्रहालयमा जोडिने गरी पर्वतीय र साहासिक क्रियाकलाप थप गर्नु जरुरी छ । यसका लागि हामी अन्तर्राष्ट्रिय स्तरको क्लाइम्बिङ वाल र एड्भेन्चर पार्क बनाउने योजनामा छौँ । यहीका वस्तुलाई प्रयोग गरी आगन्तुकले मनोरञ्जन लिन सक्ने खालको पार्क बनाउन चाहेका छौँ ।

हाम्रो परिसरलाई सुन्दर बगैँचाका रुपमा विकास गर्ने योजना छ । यहाँका आकर्षणहरु बढाउने, सँगसँगै टिकट दरमा वृद्धि गरी संग्रहालयको आय बढाउने र यसलाई घुम्नैपर्ने गन्तव्यका रुपमा विकास गर्नु हाम्रो मुख्य लक्ष्य हो । महोत्सवले नियमित गतिविधिसहित अरु क्रियाकलाप पनि यहाँ हुन्छन् भन्ने प्रचार गरेको छ । पर्वतबारे अध्ययन, अवलोकन गर्ने केन्द्रको रुपमा यसलाई स्थापित गर्ने हाम्रो लक्ष्य छ ।

तपाईको प्रतिक्रिया