राजनीति र व्यवसायमा गुरुङको सहभागितबारे बहस

समाधान संवाददाता २०८० पुष १२ गते १२:२३

पोखरा ।
तमुहरूको महान पर्व मुप्री ल्होसारको अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुरुङहरूको सहभागिता एवं गुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।


अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताए ।


समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार पर्यटन नै भएको उनको भनाइ छ । गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारको पूर्व पर्यटन मन्त्रीसमेत रहेका गुरुङले यसका माध्यमबाट रोजगारी अभिवृद्धि गर्न सकिने जनाए ।

Advertisement


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार उदासिन देखिएको दाबी गर्दै उनले चाँडो उडान सञ्चालन गर्ने गरी लाग्नुपर्नेमा जोड दिए । गुरुङ समुदायका युवा व्यवसासयिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिदै उनले सफलताका लागि निरन्तरता र धैर्य आवश्यक हुने औंल्याए ।


गुुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउँदै गण्डकीमा पर्यटनका माध्यमबाट आयआर्जन एवम् रोजगारी वृद्धिका धेरै सम्भावना रहेको जनाए । संघले गुरुङ समुदायका ऐतिहासिक गाउँहरू समेट्दै कास्कीको ताङतिङदेखि याङ्जाकोट, सिक्लेस हुँदै दूधपोखरीबाट मनाङको तिमाङ सम्मको पदमार्ग विकास गर्ने अवधारणा अघि सारेको उनको भनाइ छ ।

Advertisement


गुरुङ सम्पदा पदमार्गका रुपमा यसको विकास गर्न सकेमा यसले पदयात्रा पर्यटनसँगै समग्र पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने उनको विचार छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा गुुरुङ पर्यटन व्यवसायीको विशिष्ट योगदान हुँदै आएको स्मरण गरे । कोरोना प्रभावित पर्यटनलाई सहयोग पुर्‍याउन पृथ्वीसुव्वा गुरुङ नेतृत्वको तत्कालीन गण्डकी प्रदेश सरकारको समयमा ल्याइएको व्यवसाय जीवन रक्षा कोषको अबधारणा सह्रानीय भएको बताउँदै उनले सरकारको व्यवसायमैत्री नीति आवश्यक भएकोमा जोड दिए ।


नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धनमा बोर्डले सहयोग गर्ने विश्वास व्यक्त गरे । क्होलासोँथर गाउँपालिका लमजुुङका अध्यक्ष सूर्य गुरुङले गुुरुङ सम्पदा पदमार्गको विकासका लागि पालिकाका तर्फबाट सक्दो बजेट विनियोजन गर्ने विश्वास जनाए ।


गुुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव तुल गुरुङले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया