सडक महोत्सवको पूर्वसन्ध्यामा सफाइ

समाधान संवाददाता २०८० पुष १२ गते १२:२५

पोखरा ।
२५ औं संस्करणको सडक महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थल वरपर सरसफाइ गरिएको छ । होटल प्रतिनिधि समाज पोखराको आयोजनामा भएको कार्यक्रममा रेवानले सहकार्य गरेको थियो । राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कदेखि वडा प्रहरी कार्यालय बैदाम, मुलाखेत, अम्मट, गौरीघाट, बाराहीघाट हुँदै खहरेसम्म सरसफाइ गरिएको होटल प्रतिनिधि समाजका महासचिव माधव लम्सालले जानकारी दिए ।


कार्यक्रममा वडाका जनप्रतिनिधि र होटल संघका अध्यक्षसहितका प्रतिनिधिले साथ दिएका थिए । रेवान अध्यक्ष नरेश भट्टराई, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले सरसफाइ कार्यक्रममा सहभागीलाई धन्यवाद दिएका छन् । रेवान अध्यक्ष भट्टराईले महोत्सवमा स्वास्थ्य, सुरक्षा लगायतमा पनि आयोजकले विशेष ख्याल राखेको बताए ।


महोत्सव बिहीबारदेखि सुरु हुँदै छ । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

Advertisement


महोत्सव बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोमागाने पार्कमा हुने विशेष समारोहमा उद्घाटन गर्ने तय छ । रेवान पोखरा महासचिव विकास भट्टराईले त्यसअघि बिहान ११ बजे हल्लनचोकबाट बाजागाजासहित संस्कृतिक झाँकी निकालिने जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया