शाखा मन्त्रीको राष्ट्रिय भेला पोखरामा

समाधान संवाददाता २०८० पुष १२ गते १२:२९

पोखरा ।
नेपाल रेडक्रस सोसाइटीको संगठनात्मक संरचना तथा प्रशासनिक नेतृत्व गर्ने जिल्ला शाखाका मन्त्रीहरुको दोस्रो राष्ट्रिय भेलाले पोखरामा भएको छ । भेलाले जिल्ला शाखाहरु बीच समन्वय, सहकार्य र पहलकद्मी गर्न पोखरा घोषणापत्र जारी गर्नुका साथै कास्की शाखाका मन्त्री सुरेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला शाखाको प्रतिनिधित्व हुने गरी मन्त्री स्तरीय सयन्त्र (कार्यदल) गठन गरेको छ ।


यसअघि काठमाडौंमा भएको प्रथम राष्ट्रिय भेलाले संयोजक गुरुङको संयोजकत्वमा मन्त्री स्तरीय संयन्त्र गठन गरेको थियो । पोखरामा गठन गरिएको १३ सदस्यीय कार्यदलको सदस्यमा कैलालीका लोकराज जोशी, भक्तपुरका परशुराम पाण्डे, ताप्लेजुङका विकास गौतम, बर्दिया गोविनप्रसाद शर्मा रहेको संयोजक गुरुङले जानकारी दिए ।


सुर्खेतका चेतनकुमार सुवेदी, धनकुटाका रामकुमारी राई, खोटाङका छत्रकुमार बजिमय, मकवानपुरका सुमित्रा काफ्ले, काभ्रेका हेमलाल तामाङ, चितवनका राममणि खनाल, बाँकेका अजिजमहमद सिद्धिकी र कञ्चनपुरका रघुनाथ भट्ट कार्यदलका सदस्य छन् ।

Advertisement


रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले शाखाका मन्त्रीहरु एकजुट भएर केन्द्रीय समितिले गरेका निर्णय जिल्लामा लागू गर्न निर्देशन दिए । उनले जिल्ला शाखामा गतिविधि बढाएर सांगठनिक गतिविधिलाई चलायमान बनाउन शाखा मन्त्रीहरुको भूमिका रहने उल्लेख गरे ।


भेलाले शाखाका मन्त्रीहरुमा रहेका ज्ञान, सीप र अनुभवलाई एक आपसमा आदान प्रदान गरी संगठन सञ्चालन र परिचालनमा ठूलो मद्दत पुग्ने उनले उल्लेख गरे । रेडक्रसका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठले वर्तमान कार्यसमितिले गरेका महत्वपूर्ण कार्यक्रमको बारेमा जानकारी गराए ।

Advertisement


उपमहामन्त्री मनोजकुमार थापाले जिल्ला शाखाका मन्त्रीहरुको काम कर्तव्य र अधिकार र विधानमा भएको व्यवस्थाको बारेमा सहजीकरण गरे । शाखा मन्त्रीहरुको भेलामा केन्द्रीय संगठन विकास समितिका संयोजक नारायण तिमिल्सिनाले संगठन निर्माण र परिचालनको बारेमा प्रशिक्षण दिए ।


भेलाले २ साउन २०८० मा भएको केन्द्रीय सभाको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई ७७ जिल्ला शाखाको मन्त्रीहरुको तर्फबाट बधाइ ज्ञापन गर्नुका साथै सम्मानसमेत गरिएको संयोजक गुरुङले जनाए ।


भेलाले प्रथम राष्ट्रिय भेलाले जारी गरेको काठमाडौं घोषणामाथि समीक्षासँगै १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । भेलाले रेडक्रस कानुन निर्माणको लागि रेडक्रस केन्द्र र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । ‘भेलाले संस्था नवीकरण तथा रेडक्रसको कानुन निर्माणका लागि रणनीतिक पहल गर्ने निर्णय गर्दछ,’ पोखरा घोषणापत्रमा भनिएको छ,’ उनले भने, ‘संघीय संरचना अनुसार प्रदेश, जिल्ला तथा पालिका र वडा स्तरमा सांगठनिक सुधार र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न रणनीतिक पहलकदमी लिनेछ ।’


घोषणापत्रमा संस्थालाई गतिशील र चलायमान बनाई राख्न सबैको प्रतिनिधित्व हुने गरी विधान कार्यशाला गोष्ठी गर्न रेडक्रस केन्द्रलाई अनुरोध गरिएको छ । ७७ जिल्ला शाखाका मन्त्री र कर्मचारी गरी प्रत्येक जिल्लाको २ जना स्रोत व्यक्तिको रुपमा क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने निर्णय गर्दै भेलाले अन्तर जिल्ला सहयोग तथा असल अभ्यासहरुको सिकाई आदानप्रदान कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।


भेलाले जिल्ला शाखाका मन्त्रीहरुको तेस्रो राष्ट्रिय भेला चितवन शाखाको व्यवस्थापनमा गर्ने निर्णय गरेको छ । शाखा मन्त्रीहरुको भेलामा अग्रज मन्त्रीहरु अजिजअहमद सिद्धिकी (बाँके) र वृद्धिमान शाक्य (काठमाडौं)लाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया