
जोमसोम ।
मुस्ताङमा हुन सक्ने अत्यधिक चिसोबाट स्थानीयलाई बचाउन आवश्यक विपद् प्रतिकार्य तथा व्यवस्थापन थालिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङ तथा जिल्ला स्थित राजनीतिक पार्टीका प्रतिनिधि सम्मिलित बिहीबारको विपद् व्यवस्थापनको बैठकले चिसोका सामना गर्न पूर्वतयारी थाल्ने निर्णय लिएको हो ।
हिमपात हुन सक्ने भएकाले यसबाट नागरिकलाई जोगाउन विपद् प्रतिकार्य युनिट र संयन्त्रलाई पूर्व तयारी अवस्थामा राखिने भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक जनकराज पन्तले हिमपात र चिसोबाट नागरिकलाई जोगाउन विपद् जोखिम न्यूनीकरण संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।
पन्तले हिउँद याममा हिउँ पर्ने, चिसोले नागरिकको स्वास्थ्यमा पार्न सक्ने समस्या, हिमपहिरो र आगलागीका घटनाले संकट उत्पन्न हुन सक्ने भएकाले प्रशासन, सुरक्षा निकाय, कार्यालयहरु, जिल्लाका ५ वटै स्थानीय तह, रेडक्रस, नागरिक समाज, गैसस महासंघ, पत्रकार महासंघ र आम नागरिकलाई जोखिमबाट मुक्त राख्न आवश्यक सजगता अपनाउन अपिल गर्ने निर्णय भएको बताए । विपद्का बेलामा हुन सक्ने जोखिमबाट बँच्न के कसरी प्रतिकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफलसमेत भएको छ ।
बैठकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विभिन्न ७ बुँदे निर्णय गरेको छ । बैठकले हिउँद यामको चिसो मौसम र हिमपातको जोखिम र त्यसको असरलाई न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी संघ, संस्थाबाट आवश्यक जनचेतनामूलक सामग्री प्रचारप्रसार गर्ने र न्यानो कपडाको जोहो गर्ने निर्णय गरेको छ । हिमपात र चिसोबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षा निकायलाई सर्तक अवस्थामा राख्ने, संघीय तथा प्रादेशिक सरकारबाट प्राप्त राहत सामग्रीको समुचित व्यवस्थापन र आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने जनाइएको छ ।
कागबेनी बाढी पीडितलाई विपद् व्यवस्थापन नियमावली अनुसार राहत वितरण गरिने
गत साउन २८ गते गएको कागबेनी बाढी प्रभावित क्षेत्रका घरबारविहीन परिवारलाई संघ तथा प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम संघीय र प्रादेशीक विपद् व्यवस्थापन नियमावलीमा रहेको राहत वितरण मापदण्ड अनुसार विवरण संकलन गरी प्रक्रिया पु¥याएर वितरण गर्ने निर्णय भएको छ ।
घरपझोङ ४ जोमसोममा पर्यटन प्रहरीलाई १ रोपनी जग्गा, घरपझोङ ३ एक्लेभट्टीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २ रोपनी जग्गा र वारागुङ ५ फल्याकमा स्वास्थ्य चौकी निर्माण गर्न २ रोपनी बढी जग्गा माग भएको छ । सो जग्गा विपद् व्यवस्थापनका लागि आवश्यक नपर्ने भएकाले लिजमा दिन सिफारिस गर्ने निर्णय भएको छ ।
चिसोले बस्ती सुनसान
अत्यधिक चिसो भएपछि उपल्लो मुस्ताङका अधिकांश बासिन्दा अहिले बेंसी झरिसकेका छन् । हिमपात र चिसोबाट जोगिन उपल्लो मुस्ताङका ८० प्रतिशत नागरिक बेंसी झरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।
गाउँमै घर र पशुचौपया रेखदेखमा बसेकामध्ये अधिकांश ज्येष्ठ नागरिक र गोठालामात्र छन् । विगतमा मंसिर अगावै झर्ने उपल्लो मुस्ताङी यस पटक भने कोरला नाका खुलेकाले केही ढिलो बेसी झरेका हुन् । अहिले चिसो र हिमपातको जोखिमका कारण धेरैजसोले घरमा ताल्चा मारेर जाडो छल्न बेंसी झरिसकेको लोमान्थाङ ५ का वडाध्यक्ष ढुक्के बिष्ट बताउँछन् ।
उपल्लो मुस्ताङमा सीमा सुरक्षाका लागि बसेका सशस्त्र प्रहरीको बिओपी र र प्रहरी इकाइ साविककै कार्यस्थलमा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । नागरिक बेंसी झरिसकेकाले उपल्लो मुस्ताङमा अहिले सुनसान बनेको छ ।
पर्यटकीय सिजनमा निकै चहलपहल हुने लोमान्थाङ बजारका समेत डेढ दर्जन होटलमध्ये २/३ वटा मात्र सञ्चालनमा छन् ।
चिसोकै कारण संघ, प्रदेश र स्थानीय तहका सबै विकास, निर्माणका काम रोकिएका छन् । तल्लो मुस्ताङका पनि एक तिहाइ बासिन्दा बेंसी झरिसकेका छन् । स्याउ बगैचा व्यवस्थापनका लागि स्थानीय कृषक गाउँमा छन् । अहिले उपल्लो मुस्ताङमा माईनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस ८ डिग्री तापक्रम छ ।
उपल्लो मुस्ताङमा मुख्य र शाखा नदी बरफ बनेका छन् । घरका धारा, पोखरी र सिंचा कुलोसमेत जमेका छन् । पशुचौपायालाई आहार खुवाउन र दैनिक उपयोगका लागि समेत पानीको प्रयोग गर्न कठिनाइ रहेको ठिङ्गरका स्थानीय कर्मासम्टुक गुरुङ बताउँछन् । चिसोले यातायातका साधन आउजाउ गर्न समेत सकस हुन्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया