मुस्ताङ अस्पतालको भवन कहिले बन्छ ?

सुन्दरकुमार थकाली २०८० पुष २५ गते १०:४१

जोमसोम ।
मुस्ताङ जिल्ला अस्पतालको भवन निर्माण निकै सुस्त छ । गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको लगानीमा २०७७ चैत २२ गते शिलन्यास गरिएको अस्पताल भवनको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशतमात्र छ ।


गण्डकी प्रदेश सरकारले त्यस बेला मुस्ताङ, मनाङसहित पोखरामा सरुवा रोग अस्पताल भवन बनाउन बहुवर्षीय योजनाअघि बढाएको थियो । भन्डै आधा शताब्दी पुरानो मानिएको मुस्ताङ अस्पतालको भवनबाट सेवा दिन अनेक कठिनाइ छ । नयाँ पक्की भवन निर्माण गरी २५ शयाको अस्पतालको रुपमा सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको भवन तत्कालीन सामाजिक विकास तथा स्वास्थ्य मन्त्री नरदेवी पुनले शिलान्यास गरेकी थिइन् ।


मन्त्रालयले इमोटल कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरी मुस्ताङ अस्पताल भवन निर्माणको कामअघि बढाएको थियो । भवनको लागत १२ करोड छ । यो भवन अपांगमैत्री साढे २ तले हुने योजना छ ।

Advertisement


सम्झौता अवधि २ वर्ष रहेको भवन सम्झौता मुताबिक आर्थिक वर्ष २०७९ चैत २१ गते सकिनुपर्ने थियो । तर, निर्माण कम्पनी इमोटल कन्स्ट्रक्सनको ढिलासुस्तीका कारण सम्झौता सकिएको ९ महिना बितिसक्दा पनि ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको अस्पतालका निमित्त कार्यालय प्रमुख भोजराज रेग्मीले जानकारी दिए । निर्माण कम्पनीले अस्पताल भवनको काममा गत आर्थिक वर्षको माघसम्म ५ करोड भुक्तानी लगिसकेको छ ।

सम्झौता सकिएको ९ महिना बितिसक्दा पनि ५५ प्रतिशतमात्र भौतिक प्रगति

Advertisement


भवनको सम्झौता अवघि सकिएपछि निर्माण कम्पनीलाई थप ३ महिना म्याद दिइएको भए पनि उक्त समयमा समेत भवन निर्माण सम्पन्न हुन नसकेको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे । भवन निर्माण अलपत्र परेपछि गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र निर्माण कम्पनीबीच चालु आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म भवन निर्माण गरिसक्ने मौखिक सहमति भएको कार्यालय प्रमुख रेग्मीले सुनाए ।


अस्पताल भवनका लागि गत आर्थिक वर्ष २०७९/०८० मा ६ करोड बजेट विनियोजन भएको थियो । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण मुस्ताङ अस्पताल भवनको भौतिक प्रगति अपेक्षाकृत नहुँदा ३ करोड फ्रिज भएको थियो । चालु वर्ष भवनका लागि ४ करोड बजेट प्रदेश सरकारबाट विनियोजन भएको निमित्त कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।


चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा निर्माण कम्पनीले निर्माणको साह्रै सुस्त गतिमा अघि बढाएको भए पनि भवन निर्माणलाई गति दिन नसकेको उनले जनाए । ‘अस्पताल भवन निर्माण ज्यादै सुस्त छ, चालु वर्ष सक्ने निर्माण कम्पनीको प्रतिवद्धता छ,’ निमित्त प्रमुख रेग्मीले थपे, ‘अब ८० प्रतिशत भौतिक प्रगति नभएसम्म निर्माण कम्पनीलाई भुक्तानी दिइने छैन । मौखिम सहमतिअनुसार यो वर्ष भवन निर्माण सक्नुपर्ने हुन्छ ।’


पछिल्लो समय सडक तथा हवाई मार्ग सहज हुँदै गएपछि मुस्ताङमा पर्यटकको आवागमन बढ्दै गएको छ । मुस्ताङ भित्रिने पर्यटक तथा स्थानीय नागरिकको स्वास्थ्य सेवालाई सहज र सरल बनाउन भवन निर्माणसँगै अस्पतालको स्तरोन्नति प्रदेश सरकारले सुरु गरेको थियो । नयाँ भवनमा कार्यालय प्रमुख कक्ष, प्रशासन कक्ष, बैठक हल, ओपीडी कक्ष, आकस्मिक कक्ष, प्रसूति कक्ष, ल्याब, एक्सरे कक्ष, फार्मेसीसहित विभिन्न समस्याका बिरामीलाई सेवा दिने पूर्वाधार हुने छन् ।


भवनको माथिल्लो तलासम्म बिरामी लैजान ह्विलचेयर गुडाउन मिल्ने पूर्वाधार तयार हुनेछ । जीर्ण अवस्थाको हालको भवनबाट सेवाग्राहीलाई परेको समस्या निराकरण गर्न अस्पतालको नयाँ भवनले सघाउने विश्वास गरिएको छ । अहिलेको मुस्ताङ अस्पतालको भवन जस्ताले छाएको अस्थायी खालको छ । अस्पतालका ३ अस्याथी जस्ताले छाएका भवन छन् ।

जीर्ण भवनबाट सेवा प्रवाह हुँदा आउने बिरामीलाई निकै सास्ती हुने गरेको छ । अस्पतालमा शैया थपसँगै भवन स्तरोन्नति गर्ने र अस्पतालमा सेवा लिन आउने बिरामीलाई सहज ढंगले सेवा प्रवाह गर्न सकिने गरी मुस्ताङ अस्पतालको नयाँ भवन बनाउन गण्डकी प्रदेश सरकारले अग्रसता देखाएको छ ।


भवनको प्राविधिक पक्ष घरपझोङ गाउँपालिकाले हेर्ने र भवनको वित्तीय भुक्तानी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमार्फत अस्पतालले दिने गरिएको अस्पतालका कार्यालय प्रमुख रेग्मीले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया