एकै पालिकामा १११ क्षयरोगी

राष्ट्रिय समाचार समिति (रासस) २०८० माघ ८ गते १२:५२

गलकोट ।

बागलुङमा क्षयरोगीको संख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको संक्रमण शून्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा १ सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ ।


स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो संख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको उपचार गर्न थालिएको जनाएको छ । कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोग निर्मूल पार्ने अभियानमा क्षयरोगको सम्भावना रहेको बडिगाडमा स्वास्थ्य शिविर गर्दा सो संख्यामा क्षयरोग देखिएको जनाउँदै उनीहरुलाई स्वास्थ्य कार्यालयको सम्पर्कमा राखेर उपचार थालिएको जानकारी दिए ।

Advertisement


‘कार्यालयले क्षयरोग शून्यमा पार्ने अभियान अन्तर्गत खोजपड्ताल गरिरहेको थियो, जसमध्ये बडिगाडमा क्षयरोगी भेटिएपछि उपचारतर्फ लागेका छौं’, घिमिरेले भने, ‘दुई हप्ताअघि गरेको शिविरमा ९८ जना फेला परेपछि हालसम्म धेरै स्थानमा गरेको परीक्षण र प्राप्त रिपोर्टका आधारमा बडिगाडभित्रै एक सय ११ जना क्षयरोगी भेटिएका छन्, उनीहरुमध्ये २६ जनामा सार्ने प्रकारको क्षयरोग भेटिएको हो ।’


लामो समयदेखि बडिगाडमा क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । त्यसपछि बडिगाड गाउँपालिकाको पहल तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाको प्राविधिक सहयोगमा गरिएको क्षयरोग शिविरमा बढी क्षयरोगी भेटिएका हुन् ।

Advertisement


बडिगाडमा धेरै क्षयरोगी पहिचान हुँदा अन्यलाई सर्ने डर कम हुने गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । ‘रोगको पहिचानमा समस्या भएपछि भित्रभित्रै फैलिएको रहेछ, रोगको निदान गर्नुभन्दा पहिला पहिचान आवश्यकता थियो, गाउँपालिकाले क्षयरोगी खोज्न छाड्दैन, क्षयरोग पहिचानपछि उपचार हुन्छ’, अध्यक्ष अधिकारीले भनिन्, ‘यो डरलाग्दो अवस्थाबाट हामीले उन्मुक्ति पाउनै पर्छ, पहिचान भएका सबैलाई उपचारमा पालिकालेसमेत सहयोग गर्छ, उपचारपछि अन्यलाई रोग नसर्दा क्षयरोग न्यूनीकरणमा ठूलो सहयोग हुन्छ ।’


पछिल्लो समय क्षयरोगीको संख्या बढ्दै गएपछि धौलागिरि अस्पतालमै क्षयरोग परीक्षण, उपचार र उपचारको प्रभावकारिता थाहा पाउने ‘एक्स्पट एक्सडिआर’ मेसिनसमेत जडान गरिएको छ । उक्त उपकरणले क्षयरोग पत्ता लगाउने र उपचारको प्रभावकारितासमेत पत्ता लगाउनेछ ।


यो उपकरण नहुँदा दोस्रो चरणको क्षयरोग परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर जानुपर्ने हुन्थ्यो । मेसिन जडानपछि धौलागिरि अस्पतालमा शंकास्पद बिरामीको नियमित परीक्षण भइरहेको छ । बागलुङमा यसअघि २ सय ३५ क्षयरोगीले नियमित औषधि खाइरहेकोमा बडिगाडका १ सय ११ थपिँदा ३४६ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्ले देखाएको छ । क्षयरोगीको पहिचान गर्नका लागि रोग पत्ता लगाउने उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा समेत जडान गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया