स्वास्थ्य शिविरमा साढे ३ सयको उपचार

समाधान संवाददाता २०८० माघ ९ गते १२:४०

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का विपन्न वर्गका समुदायलाई लक्षित गरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।


दुर्गम स्वास्थ्य सेवा केन्द्र र पोखरा महानगरपालिका वडा नं १५ को वडा कार्यालयसँगको सहकार्य र गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको सेवा केन्द्रका अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए । शिविरमा स्त्रीरोग, दाँत, मुटुको परीक्षण गरिएको छ ।


शिविरमा डा चन्दा श्रेष्ठ, डा सरिता श्रेष्ठ, डा तारा सिलवाल, डा उज्ज्वल शाह, डा सुशान्त श्रेष्ठ लगायतका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले शिविरको उद्घाटन गर्दै स्वास्थ्य मानव जीवनको सबभन्दा ठूलो धन भएको बताए । ‘नागरिक स्वास्थ भए समाज समुन्नत र विकसित हुन्छ,’ उनले भने, ‘मानिशको शरीमात्र स्वास्थ भएर पुग्दैन । मानसिक र वातावरणीय अवस्थासमेत स्वस्थ हुनु पर्छ ।’ उनले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकमा व्यवस्था गरेको बताए ।

Advertisement


गण्डकी मेडिकल कलेजका निर्देशक डा रवीन्द्र श्रेष्ठले शिविरमा निदान हुन नसकेका बिरामीलाई अस्पतालले विशेष छुटका साथ उपचार गर्ने जानकारी दिए । उनले शिविरमा सहकार्य गर्ने अवसर दिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गरे । पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँले नागरिकको स्वास्थ्य अवस्था राम्रो भएमात्र घर परिवार, समाज र राष्ट्रलाई योगदान गर्न सकिने बताए ।


नागरिकको शिक्षा र स्वास्थ्यमा सुधार भएमा मानवीय विकास हुने उल्लेख गर्दै उनले वडाको ४० प्रतिशत बजेट मानवीय विकासको क्षेत्रमा खर्च गर्ने जानकारी दिए । उनले सामाजिक संघ, संस्थाको सहकार्यमा वडा कार्यालयले हरेक ३ महिनामा अस्पतालसम्म पहुँच पुग्न नसकेका नागरिकको लागि लक्षित गरी स्वास्थ्य शिविर गरेको उल्लेख गरे ।

Advertisement


कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका उपाध्यक्ष कुमारीमुना बास्तोला, सचिव उत्तम जोशी, कार्यक्रम संयोजक गीता भण्डारी, दुर्गम स्वास्थ्य सेवा केन्द्रका प्रमुख धर्मराज खड्का, मितेरी टोल विकास संस्थाका उपाध्यक्ष विष्णुमाया पोखरेल, सल्लाहकार मोती पोखरेल लगायतले स्वास्थ्य शिविरका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया