भेट्रान फुटबल प्रतियोगिता सुरु

समाधान संवाददाता २०८० माघ २२ गते १५:०३

पोखरा ।
बगर भाइखलकको आयोजनामा आइतबारदेखि दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटबल प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुँडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ ।


बगरको जितमा नरेश केसीले २ तथा राजुकुमार तामाङ र राजु हमालले समान १ गोल गरे । दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।


उद्घाटन सत्रमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बगर फाइखलकले नेपालमा ‘एट ए साइड’ फुटबलको ब्रान्डिङ गरेको बताए । उनले महानगरको लगानीमा पोखरा टुँडिखेल खेलमैदानमा रोपिएको दुबोको संरक्षण हुन नसक्दा सुकेकोप्रति दुःख व्यक्त गर्दै आगामी वर्ष त्यसको संरक्षण गर्न आग्रह गरे । टुँडिखेलको जग्गा विविध हिसाबले सानो भइरहँदा त्यहाँ हुने प्रतियोगिताका कारण हालसम्म जग्गा संरक्षण हुन सकेको उनको भनाइ छ ।

Advertisement


उनले हाल रहेको वडा प्रहरी कार्यालयलाई स्थानान्तरण गरी टुडिखेलको जग्गा बढाइने जनाए । ‘यहाँको प्रहरी चौकीलाई हामीले गाईघाटमा लैजाने तयारी थालेका छौं । अब टुँडिखेलको आफ्नै साइज हुनेछ । यो अभियान हामीले सुरु गरिसकेका छौं ।

यो मैदानमा उघिल्लो पटक यहि प्रतियोगिताको समयमा आउँदा निकै धुलो थियो त्यसैले धुलो नउड्ने बनाउँछु भनेका थियौं र दुबो रोपियो,’ उनले भने, ‘अहिले अलि संरक्षण नभएर पूरै सुकेछ आशा छ, आगामी वर्ष यस्तो हुने छैन महानगरको १५ लाख रुपैयाँ बजेट छ ।’

Advertisement


बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले यसअघि ४० वर्षमाथि उमेर समूहको मात्रै प्रतियोगिता हुने गरे पनि हाल तीन विधामा प्रतियोगिता भएको सुनाए । बगर भाइ खलकले दिनको १ घण्टा व्यायाम भन्ने अभियान चलाएको जनाउँदै उनले अभियानलाई सघाउन सबैलाई अनुरोध गरे ।


राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भेट्रानको फुटबल पोखरा रंगशालामा गराएमा आफूहरु सहयोग गर्न तयार रहेको बताए । पछिल्लो समय पोखराको खेलकुद विकास शून्य भएकाले यसतर्फ सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले भेट्रान फुटबलको उदेश्य उत्कृष्ट रहेको सुनाए । भेट्रान खेलाडी खेलेर बचत रकम ग्रासरुटमा खर्चिदा नयाँ खेलाडी उत्पादन हुनेमा आफू आशावादी रहेको जनाए ।


समारोहमा नेपाली फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यस पटक शम्भु केसीलाई सम्मान गरिएको छ । राखेपका पूर्व प्रशिक्षकसमेत रहेका वरिष्ठ प्रशिक्षक केसीलाई सम्मानपत्रसहित सम्मान गरिएको हो ।


प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । ५० वर्षमाथि उमेर समूहको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ तथा ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता छ । बगर भाइखलकले २०६८ देखि निरन्त भेट्रान फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया