पोखरा अडिसनमा उत्साह

समाधान संवाददाता २०८० माघ २५ गते १३:०२

पोखरा ।
चर्चित गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करणको अडिसन मंगलबार पोखरामा सुरु भएको छ । अडिसनका लागि नेपाल आइडलका करिब ७० जनाको टोली सोमबारै पोखरा आइपुगिसकेको थियो ।


नेपाल आइडलको पाँचौं संस्करणको अडिसन पुस २१ गतेदेखि झापाको बिर्तामोडबाट सुरु भएको हो । त्यसपछि महोत्तरीको बर्दिबास, हेटौंडाको मकवानपुर, धनगढीको अत्तरिया, सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराहीमा प्रि—अडिसन सकेर आइडल टिम गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको हो ।


टोलीले पोखराको अडिसनपछि काठमाडौंमा अडिसन आयोजना गर्ने छ । पोखरा—१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको प्रांगणमा २ दिनसम्म अडिसन सञ्चालन हुनेछ । पहिलो दिन गण्डकी प्रदेश तथा अन्य स्थानका विभिन्न जिल्लाबाट अडिसनमा सहभागी हुन प्रतिभा पोखरा आइसकेका छन् ।

Advertisement


पोखरा अडिसनमा गायन प्रतिभा भएका युवायुवतीको उत्साहजन सहभागिता रहेको कार्यक्रम निर्देशक सुरेश पौडेलले जानकारी दिए । पहिलो दिन २ चरणमा अलग÷अलग रूपमा प्रि–जर्जहरूबाट अडिसनमा प्रतिस्पर्धी छनोट गरिनेछ ।


युवा विदेश पलायन हुने क्रम तीव्र रूपमा भइरहँदा पनि नेपाल आइडलको क्रेज पहिलेजस्तै उत्साहजन रहेको निर्देशक पौडेलले बताए । ‘यस पटक अडिसन कस्तो हुन्छ भनेर हामीलाई सुरुदेखि नै चिन्ता लागेको थियो । तर, हामीले सोचेभन्दा बढी प्रतिभाहरूको सहभागिताले उत्साहित बनाएको छ’, निर्देशक पौडेलले भने, ‘हामी जहाँ–जहाँ गयौं, त्यहाँ युवाको जनसागर नै उर्लिएको पायौं । पोखरा त आइडल जन्माएकै ठाउँ हो ।’

Advertisement


गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सहायक प्रमुख रामजी पौडेलले नेपाल आइडलको अडिसन आफ्नो क्याम्पसमा आयोजना हुनु गौरवको बिषय भएको बताए । उनले भने, ‘अडिसनले क्याम्पसको गरिमा र इज्जतलाई थप उचाइमा पु¥याउने अपेक्षा गरेका छौं ।’


नेपाल आइडल सिजन वानको विजेता पोखराका बुद्ध लामा बनेका थिए । पोखरा पर्यटकीय दृष्टिकोणले मात्र नभई संगीत क्षेत्रमा रुचि राख्ने प्रतिभाका कारण पनि पोखरा अडिसन महत्वपूर्ण मानिन्छ । मंगलबार प्रि—अडिसनमा सहभागी भएकी भरतपुर–१० चितवनकी २४ वर्षीया अमोध पौडेल निकै खुसी देखिन्थिन् । नेपाल आइडलमा सहभागी हुन श्रीमान्सँगै आएकी पौडेलले २ वर्षकी छोरी सासुससुराको जिम्मा लगाएर अडिसनमा सहभागी हुन आएको बताइन् ।


दन्त चिकित्सा अध्ययनरत उनी बाल्यकालदेखि नै गीत, संगीतमा रुचि भएकाले अडिसनमा आएको सुनाउँछिन् । ‘विवाह गर्नुअघि पढाइमै व्यस्त भएकाले यसअघिका अडिसनमा सहभागी हुन पाइनँ’, उनले भनिन्, ‘यस पटकको अडिसनमा समय अनुकूल भएकाले त्यो धोको पूरा गर्ने रहन पलाएको हो ।’


पोखरा १५ रामबजारकी सुस्मिमा पुन अडिसनमा सहभागी हुन लामो लाइनमा बसेकी थिइन् । रामबजारस्थित बाल विकास केन्द्रकी शिक्षकसमेत रहेकी पुन निकै धैर्य र उत्साहित हुँदै अडिसनमा सहभागी हुन लाइन बसेकी थिइन् । बाल्यकालदेखि गीत गाउने सौखले आफ्नो प्रतिभा उजागर गर्न आएको उनले बताइन् ।


‘परीक्षा हो । सफल, असफल जे पनि हुन्छ । त्यो मलाई स्वीकार्य पनि छ’, उनले भनिन्, ‘एक चोटि कोसिस गरेर हे¥यौं भन्ने लाग्यो, त्यसैले अडिसनमा आएँ ।’


नेपाल आइडलको पाँचौं संस्करणमा न्हयू बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक छन् । कार्यक्रम सञ्चालन रीमा विश्वकर्मा र आशिफ शाहले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया