ट्रायथोलन च्याम्पियनसिप तयारी

राष्ट्रिय समाचार समिति (रासस) २०८० माघ २५ गते १३:२६

कास्की ।
पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ । पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ ।


कोरोनाका कारण २ वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ । नेपाल ट्रायथोलन संघको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ । प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेबसाइटमा राखिसकेको नेपाल ट्रायथोलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।


ट्रायथोलन च्याम्पियनसिपअन्तर्गत ट्रायथोलनको स्प्रिन्ट विधातर्फ प्रतिस्पर्धा गराइनेछ । च्याम्पियनसिपमा गत वर्ष १८ देशका ५३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । स्प्रिन्टअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड हुनेछ । अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराइनेछ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेगरी पुरानै रुटमा यथावत हुनेछ ।

Advertisement

स्प्रिन्टअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी, २० किमी साइक्लिङ र ५ किमी दौड हुने


च्याम्पियनसिपका लागि पोखरामा तयारी सुरु भएको छ । सोमबार साँझ पोखरामा संघका केन्द्रीय अध्यक्ष श्रेष्ठको उपस्थितिमा केन्द्र, प्रदेश तथा जिल्ला संघका पदाधिकारीको बैठक बसेको थियो । बैठकमा विगतका संस्करणभन्दा यसपटक अझ भव्य बनाउने र तयारी सुरु गर्ने निर्णय गरेको छ ।

Advertisement


संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले यस वर्षको च्याम्पियनसिपमा विश्व ट्रायथोलन संघ र एसियन ट्रायथोलन एसोसिएसनका अध्यक्षल गायत उच्चस्तरीय व्यक्तिहरूको सहभागिता हुने भएकाले भव्य हुने बताए । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी–व्यवसायीले अपनत्व लिनेगरी प्रतियोगिता सञ्चालन हुने बताइन्छ ।


‘एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्रान्ड बनिसकेको छ । पोखराको प्रवर्धनका लागि च्याम्पियनसिपले ठूलो भूमिका खेलेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरामा ठूलो इभेन्ट हुने तर पोखरेलीको स्वामित्व नहुने अवस्था विगतमा थियो । तर यस वर्ष हामी त्यस्तो हुन दिँदैनौँ । विश्वका सम्पन्न देशले गर्नेभन्दा कुनै कमी च्याम्पियनसिपमा हुन दिँदैनौँ ।’


संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक कोइरालाले पोखरा ट्रायथोलन च्याम्पियनसिपका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्ने बताए । पोखरासहित समग्र देशको अन्तर्राष्ट्रिय प्रवर्धनका लागि प्रतियोगिता महŒवपूर्ण हुने बताउनुभयो । विगतमा विभिन्न कठिनाइका बाबजुद निरन्तरता दिइएको च्याम्पियनसिपमा पछिल्लो समय प्रदेश तथा जिल्ला सङ्घ बनेर अझै सहजरूपमा सम्पन्न हुने कोइरालाले बताए ।


नेपाल ट्रायथोलन संघका गण्डकी प्रदेश अध्यक्ष सुमन देवकोटाले च्याम्पियनसिप पोखरामा हुने सबैभन्दा बृहत् खेल इभेन्ट भएको जनाए । च्याम्पियनसिप भव्य बनाउनका लागि विगतका कमजोरी सुधार गरिने उनको भनाइ छ । ‘विगतका कमजोरी दोहोरिन दिँदैनौँ र यस वर्षको प्रतियागिता अझै भव्य बनाउने छौँ’, देवकोटाले भने ।

गण्डकीको कार्यवाहक अध्यक्षमा शिशिर
नेपाल ट्रायथोलन संघ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षमा शिशिर सुवेदी चयन भएका छन् । संघका अध्यक्ष सुमन देवकोटा गत पुसमा भएको अधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि सुवेदीले गण्डकीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।


कार्यवाहक अध्यक्ष सुवेदीको संयोजकत्वमा आसन्न एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिपका लागि स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ । कार्यवाहक अध्यक्ष सुवेदीले पोखरेलीको अपनत्व हुनेगरी च्याम्पियनसिपको तयारीका काम सुरु भएको जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया