पोखरा आईपुग्यो ‘नदीको राजमार्ग’

समाधान संवाददाता २०८० माघ २९ गते १२:१३

पोखरा ।
साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’को शनिबार पोखरामा गृह विमोचन गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचन लगायतले कृति विमोचन गरे ।


साहित्यकार सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रममात्रै भएको तर्क गरे । उनले जुनसुकै छोटा विधाका रचना लेख्न पनि पनि उत्तिकै मिहिनेत लाग्ने धारणा राखे । कृतिको संख्या कति पुग्यो भन्ने कुराभन्दा कति ओजिलो छ भन्ने कुराले महत्व राख्ने उनको भनाइ छ ।


समीक्षक डा ईश्वरमणि अधिकारीले ६६ लघुकथा समेटिएको ‘नदीको राजमार्ग’ नेपाली लघुकथाकै मुख्य राजमार्ग भएको दाबी गरे । अर्की समीक्षक सरस्वती प्रतीक्षाले समीपका लघुकथा सामाजिक यथार्थवादी धारामा केन्द्रित रहेको बताइन् । कतिपय सूत्रकथा जस्ता लाग्ने लघुकथा समेटिएको कृतिका अधिकांश लघुकथा सबैलाई मन पर्ने उनको भनाइ छ ।

Advertisement


‘नदीको राजमार्गमा समेटिएका लघुकथाको प्रमुख विशेषता नै मुक्तकिलो झट्का दिनु हो,’ प्रतीक्षाले भनिन्, ‘हास्यंग्यको प्रचूर प्रयोग भए पनि चुट्किला बन्नबाट समीपका लघुकथा जोगिनुले उनलाई परिपक्व लघुकथाकारका रूपमा स्थापित गरेको छ ।’
कथाकार समीपले लघुकथा लेख्नु पाका मानिसले सियोमा धागो छिराएजस्तै भएको धारणा राखे ।

भने, ‘छोटो लेख्नु ज्यादै कठिनसाध्य काम हो, लघु आकारको कथामा सिंगो वैचारिक झट्का दिनु सजिलो छैन ।’ २०५४ र २०५५ मा लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारको पुरस्कार जितेका समीपलेसाथीहरूको हौसलाबाट कृतिलाई पुग्ने लघुकथा लेख्न सकेको अनुभव सुनाए । यसअघि उनका भूगोलभित्र नकोरिएको देश (गजल संग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तक संग्रह, २०७८) प्रकाशित छन् ।

Advertisement


संस्थाका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, उषा शेरचन, हरिदेवी कोइराला, साहित्यकार जीवनसागर भण्डारी, प्रकाशक पेज टर्नरका जयराम तिमिल्सिना, परिवारकी उपाध्यक्ष रीता अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया