सम्पादकीयः सुन तस्करीको यथार्थ खोज

समाधान संवाददाता २०८० फागुन ३ गते ११:५७

राजधानी, अन्तर्राष्ट्रिय विमानस्थल र केही सीमा नाकामा बारम्बार सार्वजनिक हुने सुन तस्करी मंगलबार पोखरामा देखियो । कास्की प्रहरीले स्रोत नखुलेको ६ केजी सुन र ६४ लाख नगदसहित भारतीय नागरिकलाई समायो । लामो समयदेखि घर नै भाडामा लिएर यत्रो ठूलो मात्रामा सुन, चाँदीको कारोबार र करोडौँ रकम यसरी राख्ने, कारोबार गर्ने गर्दा पनि सुरक्षा निकायले लामो समयसम्म थाहा नभएको देखिएको छ । यो घटनाले एकैसाथ धेरै प्रश्न उब्जाएको छ । एकातिर यसले पोखरासहित देशका धेरै सहरमा यस खालको अवैध सुन तस्करी हुने गरेको तथ्य सार्वजनिक गरेको छ भने अर्कातिर सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उब्जाएको छ । विभिन्न ठाउँबाट यत्रो ठूलो परिणाममा कसरी सुन भित्रियो भन्ने खोजीकै विषय बनेको छ ।


प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुरको दासपुर–११ घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको छ । सुन तस्करीमा भारतीयको पनि संलग्नता देखिएको छ । भौमिकलाई कास्की प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ । तर समय बित्दै जाँदा यो काण्डमा सर्वसाधारणको चासो घट्ने र अनुसन्धान कमजोर हुने आशंका छ । पहुँच, दबाब बिना अनुसन्धान नहुने र भइहाले पनि अनुसन्धानका लागि अनुसन्धान हुने, कतिपय अवस्थामा कमजोर अनुसन्धानकै कारण अदालतबाट तस्करीमा संलग्नहरु छुट्ने गरेका छन् । यति ठूलो परिणामको तस्करी एक्लै गर्न सम्भव छैन । अर्थात् यो तस्करीको गिरोह नै छ । सुरक्षा निकाय त्यो गिरोहसम्म पुगेर तस्करीलाई रोक्न र संलग्नलाई कानुनी दायरामा ल्याउनु जरुरी छ ।


कुनै बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कटाइसकेको १ क्विन्टल सुन बरामद भएको थियो । पहुँचवालाले त्यही भन्सारबाट एकै खेपमा क्विन्टल सुन बाहिर निकाल्न सक्ने तर सर्वसाधारणले ससाना कुरामा विमानस्थलमा झन्झट व्यहोर्नुपर्ने अवस्था अझै छ । विमानस्थलमा सेटिङमै धेरै मानिसलाई भिजिट भिसामा विदेश पठाउने गिरोह भएको बताइन्छ । सुन तस्करी होस् कि मानव तस्करी, बेला बेलामा सार्वजनिक हुने कारणचाहिँ सेटिङ बिग्रिदा हो भन्ने धेरैको भनाइ छ । अहिले पनि बजारको आवश्यकता अनुसार नेपालमा सुन आपूर्ति हुन सकेको छैन ।

Advertisement

तर बजारमा चाहेको जति सुन किन्न पाइने अवस्था छ । यसले अवैध बाटोबाट ठूलो परिणाममा सुन भित्रिएको पुष्टि गर्छ । देशमा भन्सार विभागले यस्तो अवैध कारोबार रोक्न सकेको देखिँदैन । राजस्व अनुसन्धान विभागको सक्रियता पनि कम छ । नेपालमा ठूला काण्ड, घटना हुँदा आयोगहरु बन्छन्, बहस, छलफल हुन्छन् । समयक्रमसँगै ती घटनाको चर्चा हराउँछ । आयोगहरुले प्रतिवेदन दिन्छन् र ती प्रतिवेदन दराजमै थन्किन्छन् । अब थप अर्काे प्रतिवेदनभन्दा तस्करीलाई नै रोक्न प्रभावकारी कदम अपेक्षित छ ।

Advertisement

तपाईको प्रतिक्रिया