डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

कोही–कोही ठाउँ यस्तो छ, उपभोक्ताहरुले नै डढेलो लगाइदिएका छन्

समाधान संवाददाता २०८१ वैशाख १६ गते १०:३१

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार पोखरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको नीति निर्माणकर्ताहरुसँग वन नीतिमा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


जानेर वा नजानेर वन जंगलमा डढेलो लगाउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न समस्या देखिएको भन्दै उनीहरुलाई कारवाही गर्नको लागि संघीय ऐनमानै जन्मकैदको व्यवस्था गर्नुपर्ने मुख्यमन्त्री अधिकारीले सुनाए । ‘वनमा जानी वा नजानीकन डढेलो लगाउँदा त्यहाँका चराचुरुङ्गी मरेका छन्, बासस्थान खतम भएको छ, सिमसार सुकेका छन्, मूलहरु सुकेका छन्,’ उनले भने ।


डढेलोका कारण बाढी पहिरो लगायतको जोखिम समेत उतिकै बढदै गएकोमा उनको चिन्ता थियो । ‘चैत वैशाखको खडेरीमा डढेलो लगाइदियो अनि पानी पर्छ, हाम्रो काँचो चट्टान छ, बाढी पहिरो जान्छ,’ उनले थपे ।

Advertisement


केही अधिकारहरु संघबाट प्रदेशमा आइनपुगेका कारण समेत समस्या भएको उनको गुनासो थियो । डढेलो लगाउनेलाई कडा कारबाहीको व्यवस्था संघीय ऐनमा नै गर्नसके डढेलोका कारण भएको क्षति तथा वातावरणीय प्रदूषण नियन्त्रण गर्न सहज हुने उनले सुनाए ।


संघीयता सम्प्रभुताको विकेन्द्रीकरण भएपनि पाउनुपर्ने अधिकार संघबाट प्रदेशमा नआउँदा समेत समस्या परेको उनको भनाइ छ । सामुदायिक वन उपभोक्ता महासंघले समेत डढेलो नियन्त्रण गर्ने विशेष कार्ययोजना बनाउदै समुदाय परिचालन गर्नुपर्नेमा उनको जोड थियो ।

Advertisement


‘सामुदायिक वनले डढेलो नियन्त्रण गर्ने विशेष कार्ययोजना बनाउनुप¥यो, साधन चाहियो भएन भनेर मात्र हुँदैन, समुदाय परिचालन गर्नुपर्छ,’ उनले भने । कुनै कुनै ठाउँमा सामुदायिक वनका उपभोक्ताले नै डढेलो लगाउने गरेको उनको दावी थियो । ‘कोही–कोही ठाउँ यस्तो छ, उपभोक्ताहरुले नै डढेलो लगाइदिएको छ,’ उनले भने ।


सामुदायिक वन उपभोक्ताको हिसाबले तथा संरक्षणको हिसाबले, विश्वकै नमुना रहेको उनले सुनाए । गण्डकी प्रदेशमा सामूहिक निष्कर्षमा पर्याप्त छलफल गरेर ऐन बनाएको भन्दै समसामयिक विषयवस्तु अनुसार ऐनलाई अझै व्यवस्थित बनाउन सकिने बताए ।


वन पैदावार पालिकाले वा उपभोक्ताले संरक्षण मात्र गर्नुपर्ने तर उपयोग गर्न नपाउने कारण समेत समुदायमा उत्तरदायित्वको भावना विकास हुन नसकेको हुन सक्ने भएकोले यसतर्फ सोच्नुपर्ने उनको भनाइ थियो । ‘वनको वन पैदावार संरक्षण मात्र गर्ने भन्छ, उपयोग गर्न पाउँदैन, पालिकाले नपाएपछि किन संरक्षण गर्छ, समुदायले पनि उपयोग र उपयोगिता हिस्सेदारी भएन भने किन संरक्षण गर्नुहुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया