संघीयता लागू गर्न संघ सरकार नै तगारो !

समाधान संवाददाता २०८० फागुन ७ गते १२:०६

पोखरा ।
‘अझ हाम्रो पालामा भन्दा अहिले दोस्रो कार्यकालमा आएर प्रदेश सरकारलाई पूरा बजेटको ३ प्रतिशतमात्रै दिएको छ । संघीयता कमजोर यस कारण भएको हो’, प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘माथिबाट थिचेको थिच्यै गरेको छ । माथिबाट प्रदेशको अधिकारलाई कटौती गरेर तलबाट स्थानीय तहलाई उचाल्ने काम गरिरहेको छ ।’


पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करण अन्तर्गत ‘प्रदेशका पीर’ विषयक सत्रमा गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गुरुङले संघीयता कार्यान्वयनमा आफूले भोगेको सकसको पोको खोले । गुरुङले संघीयता कार्यान्यवनको दोस्रो कार्यकाल आइसक्दा पनि अधिकार बाँडफाँडमा संघ सरकार अनुदार बनेको आरोपसमेत लगाए ।


राजनीतिक, प्रशासनिक र वित्तीय सबै हिसाबले प्रदेशलाई कमजोर बनाइएको गुरुङको जिकिर छ । ‘वित्तीय संघीयताको हिसाबले पनि प्रदेशलाई केही दिएको छैन, उसले कतै राजस्व उठाउन पाउँदैन । केवल ढुंगा, गिटी, बालुवामा स्थानीय तहसँग मिलेर व्यवस्थापन गर्ने भनिएको छ’, गुरुङले भने ।

Advertisement


प्रदेश सरकारले कुनै योजना अगाडि बढाउन चाहे पनि संघीय कानुनकै कारण अड्चन आइपर्ने गुरुङको भनाइ थियो । उनले स्थानीय तहलाई ‘उचालेर’ संघ सरकार आफैं प्रदेशलाई थिच्ने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘अधिकारमाथि केन्द्रित गरेर राख्ने, अलिअलि भए पनि स्थानीय सरकार सञ्चालित भयो भने प्रदेश सरकार चाहिँदैन क्या हो भन्ने मेन्टालिटी संघीय सरकारले नै बनाइरहेको छ ।’

संघीयताले आफ्नो सामथ्र्य देखाउने हो भने, यो मुलुकमा स्थिरता कायम हुनुपर्‍यो । बांगाटिंगा कुरा मिलाउनुपर्‍यो ।
पृथ्वीसुब्बा गुरुङ
संस्थापक मुख्यमन्त्री, गण्डकी प्रदेश

Advertisement


उनले जिससलाई संघीयताको गलगाँडको संज्ञा दिए । ‘संघीय लोकतन्त्रात्मक संविधान आयो । त्यो संविधानमा ३ तहको सरकारको व्यवस्था गर्‍यो’, गुरुङले भने, ‘तर, यहाँ अर्को गलगाँड पनि थप्यो, जिल्ला समन्वय समिति भन्ने । त्यो कुनै पनि हिसाबले औचित्यपूर्ण थिएन ।’


गण्डकीका वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पाण्डेले पूर्वमुख्यमन्त्रीकै विचारमा सही थापे । संघ सरकारले कानुन नबनाइदिँदा नयाँ योजना ल्याउन नपाएको र ल्याएका योजना पनि कार्यान्वयन गर्न नसकेको उनले बताए । ‘यहाँ आइसकेपछि जति गर्न सक्ने कुरा छ । त्यति गर्न नसकिनुको कारणमध्ये प्रमुख कारण हामीले संविधानले पदत्त अधिकार जे छ, त्योअनुसारको अधिकार नपाएर पनि हो’, मुख्यमन्त्री पाण्डेले भने, ‘कतिपय कानुन हामीले बनाउन पाएनौं, कति बनाएर पनि कार्यान्वयन गर्न सकेनौं ।’


संघले बजेटमा पनि संकुचन ल्याउँदा प्रदेशहरु आफैंले आत्मनिर्भर भएर बजेट ल्याउन सक्ने अवस्था नरहेको पाण्डेको भनाइ छ । ‘किन कि यो नयाँ संरचना पनि हो । कतिपय कानुनी बाध्यताले काम गर्न सकेका छैनौं’, उनले भने, ‘आत्मनिर्भर अहिले नै बनिसक्ने स्थिति छैन । तर, प्रयत्न गरिरहेका छौं । गर्न खोजेका कुरामा पनि कानुनी झमेला छन् ।’


गोरखामा उनको चुनावी क्षेत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्न आउने भएपछि आफूले मुख्यमन्त्री हुन नै आफू प्रदेश झरेको बताए । तर, प्रदेशमा आइसकेपछि संघीयताको मर्मअनुसार संघीय सरकारले अधिकार नदिँदा काम गर्न नपाएको दुखसो उनले पोखे ।


प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँगै अधिकारकै लडाइँ लडिरहेको पाण्डेले सुनाए । ‘प्रधानमन्त्रीसँग व्यक्तिगत लडाइँ भएको होइन । तर, अधिकारको लडाइँ हो’, उनले भने, ‘संघीयता यदि कार्यान्वयन हुन्छ भने तपाईंको पालामा हुनुपर्छ भनेर प्रचण्डजीलाई पनि भनेको छु । यसलाई लागू गर्ने पहिलो जिम्मेवारी पनि उहाँको पनि हो ।’


संघीयतापछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले आफ्नो कार्यकालमा अधिकार माग्दै संघ सरकारलाई दबाब दिन मुख्यमन्त्री भेला गरेका थिए । दोस्रो कार्यकालमा आइसक्दा पनि हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि तिनै पुरानै माग उठाइरहेका छन् । गुरुङ संघीयताको हलो नअड्किएको तर, मेसो नमिलेको बताउँछन् ।


‘हलो अड्किएको भए यो प्रदेश सरकार पनि चल्ने थिएन, संघीय सरकार पनि चल्ने थिएन । सरकार त चलिरहेकै छ नि ’, उनले भने, ‘तर, संघीयताले आफ्नो सामथ्र्य देखाउने हो भने, यो मुलुकमा स्थिरता कायम हुनुपर्‍यो । बांगाटिंगा कुरा मिलाउनुपर्‍यो ।’


संघीयता लागू गर्न ‘कर्मचारीतन्त्र’ वाधक भएको गुरुङले दोहोर्‍याए । योजना कार्यान्वयनको इमान्दार कर्मचारी नै नभएको उनको आरोप छ । ‘प्रदेश सरकारसँग लोयल भएको कर्मचारी र प्रहरी भएनन् हामीसँग’, उनले, ‘अर्को भनेको धेरै योजना कार्यान्वयन गर्न हामीर्ला जमिन चाहिन्छ । अहिले एउटा रुख ढाल्न पनि केन्द्र सरकारको अनुमति लिइरहनुपर्ने प्रावधान छ । यो मैले भागेर आएको हो ।’

तपाईको प्रतिक्रिया