रिङरोड सडक अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन

सुन्दरकुमार थकाली २०८१ वैशाख १६ गते ११:४९

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा निर्माणधिन रिङरोड सडक अलपत्र छाडेर ठेकेदार एक वर्षदेखि सम्पर्कविहीन भएका छन् । संघीयता कार्यान्वयनसँगै अघिल्लो कार्यकालमा प्रादेशिक बजेटले सुरु गरिएको घरपझोङ गाउँपालिकाको ५ वटै वडा जोड्ने सडक एक वर्षदेखि अलपत्र परेको हो ।


गण्डकी प्रदेश सरकार अन्तर्गत ‘एक निर्वाचन क्षेत्र एक सडक’ निर्माण कार्यक्रममा प्राथमिकतामा परेको घरपझोङको ५ वटै वडा जोड्ने सडक आधा काम बाँकी छँदै निर्माण कम्पनीका ठेकेदारले सडक निर्माणको काममा कुनै चासो दिएका छन् । पूर्वाधार विकास कार्यालय मुस्ताङले पटक÷पटक निर्माण कम्पनीका प्रतिनिधिलाई काममा फर्किन लिखित र मौखिक पत्रचार गरिएको भएपनि निर्माण कम्पनीले अनेक बहानाबाजी गरेर रिङरोड सडक निर्माणबाट उम्किने प्रयास गरेको छ ।


मुस्ताङको प्रतिकुल मौसम, कोरोना कहर, हिमपात र अन्य समस्या देखाएर रिङरोड निर्माणको काममा निकै विलम्व गर्दै आइरहेको निर्माण कम्पनी अनुकुल मौसम सुरु भइसक्दासमेत काममा फर्किन सकेको छैन । पछिल्लोपटक चालु वर्षको माघ महिनामा उपकरण र जनशक्तिसहित रिङरोड सडकको काम गर्ने लिखित पत्र पूर्वाधार विकास कार्यालय पठाएर आश्वास्त पारेको निर्माण कम्पनी वैशाख महिनाको आधा बितिसक्दा समेत काममा फर्किन सकेको छैन । निर्माण कम्पनीको छलकपट र ढिलासुस्तीले गर्दा ४ पटक म्याद थप भइसक्दा समेत घरपझोङ रिङरोड सडक निर्माणमा अन्योलता छाएको हो ।

Advertisement


कृषि र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिएको घरपझोङ रिङरोड सडकले पालिकाभित्रका गाउँहरु जोमसोम, ठिनी, ढुम्बा, चिमाङ, छैरो, स्याङ र मार्फा गाउँ जोडिन्छन् ।


२०७६ साल कात्तिक २१ गते एमएस बन्दना भगवती जलजला जेभी कन्टक्सनले घरपझोङ रिङरोड सडक निर्माण गर्न २१ करोड ४३ लाख १३ हजार लागतमा ठेक्का सम्झौता गरेको थियो । वहुवर्षीय आयोजना रुपमा सुरु गरिएको घरपझोङ रिङरोड सडकको सुरुआती ठेक्का सम्झौता अवधि १५ महिनाको थियो ।

Advertisement


ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७७ साल माघ महिनामा सम्पन्न गर्नुपर्ने थियो । तर, निर्माण कम्पनीले सुरुआती ठेक्का सम्झौता अनुसार सडक निर्माणलाई तीब्रता दिननसक्दा रिङरोड सडकको काम ४ वर्ष पर धकेलिँदासमेत आधा जसो काम अझै ज्यूँका त्यूँनै छ ।


पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले रिङरोड सडकको पाँचौं पटकका लागि म्याद थप प्रक्रियामा रहेको जानकारी दिए । उनले रिङरोड सडकको पछिल्लो भौतिक प्रगति ६१ प्रतिशत रहेको र निर्माण कम्पनीले काममा फर्किन ताकेता गरिएको बताए ।


मुस्ताङको पर्यटकीय गाउँ ठिनी हुँदै ढुम्बाताललाई रिङरोड सडकले जोड्छ । ढुम्बाबाट छैरोसम्म २ सय मिटर दुरीमा नयाँ ट्र्याक ओपनसमेत गरिएको छ । घरपझोङका ५ वडालाई सडक सञ्जालले जोड्ने गरी १० दशमलव ५ किमी सडकलाई रिङरोड सडकले जोडिने छ ।

सडकको ड्रेनसहित ८ मिटर चौडा कायम गरिएको सडकमा जोमसोमदेखि ढुम्बातालसम्मको ५ किमी दुरीमा प्रिमिक्स कालोपत्र र बाँकी ५ दशमलव ५ किमी दुरीमा ग्राभेल सडक विस्तार गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङले उल्लेख गरेको छ । यो सडकको चौथोपटक थपिएको म्याद गत वर्षको असारमा सकिएको थियो ।


सरकारले सार्वजनिक खरिद नियमावली बाह्रौं संशोधन अनुसार जीण आयोजनाहरुको सम्पन्न अवधि गत वर्षको असारसम्म कायम गरेको थियो । त्यसबेलासम्म पनि निर्माण कम्पनीले रिङरोड सडक निर्माणको काममा तदारुकता देखाएको थिएन ।


झन्डै एक वर्षदेखि अलपत्र परेको घरपझोङ रिङरोड सडकको म्याद थप गर्न समस्या परिरहेको बेला सरकारले सार्वजनिक खरिद नियमावलीको तेह्रौं संशोधन ल्याएपछि काम नगर्ने ढिलासुस्तीका आयोजनाले थप एक वर्ष म्याद थप गर्न बाटो खुलेको हो ।


मुस्ताङमा घरपझोङ रिङरोड सडकसहित संघ तथा प्रादेशीक सरकारबाट सुरु गरिएका दर्जनौ सडक तथा पुल र भौतिक संरचनाहरु निर्माण कम्पनीकै चरम ढिलासुस्तीले अलपत्र परेका हुन् । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक अन्तर्गत थासाङको खन्तीदेखि जोमसोम १६ किमी कालोपत्र सडक, जोमसोम —कागबेनी १३ किमी कालोपत्र सडक, चराङ—छोसेर ग्राभेल सडकका साथै घरपझोङ—२ मार्फा खोला पुल, छुसाङ खोला पुल र घमी खोला पुलको काम निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र परेका हुन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया