पाेखरा महानगरका ८ स्कुल मर्ज

पोखरा महानगरमा २०३ सामुदायिक स्कुलमा ४९ हजार र १७४ निजी स्कुलमा ८८ हजार विद्यार्थी छन्

सञ्जय रानाभाट २०८० फागुन १५ गते ११:१७

सञ्जय रानाभाट, पोखरा ।
विद्यार्थी संख्या कम हुँदै गएपछि पोखरा महानगरका ८ सामुदायिक विद्यालयलाई मर्ज गरिएको छ । विद्यार्थीका संख्या शून्य हुँदै गएपछि विद्यालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको निर्णय अनुरुप पोखरा महानगरको शिक्षा महाशाखाले ८ विद्यालय नजिकैका अरु स्कुलमा गाभिएका हुन् ।


शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत वद्रिनाथ सुवेदीले ०७९ देखि ०८० फागुनसम्म आइपुग्दा ८ विद्यालय मर्ज भइसकेको जानकारी दिए । मर्जरमा गएका विद्यालयलाई पायक पर्ने विद्यालयसँग गाभिएको छ । मर्जर भइसकेका विद्यालयमा कार्यरत कर्मचारी, शिक्षकलाई गाभिएको विद्यालयमा समायोजन गरिएको छ ।


महानगरके थप केही विद्यालय मर्ज हुने प्रक्रियामा छन् । २ वर्षअघि २ सय ११सामुदायक विद्यालय रहेकोमा अहिले २ सय ३ वटामात्र रहेको महाशाखाका सूचना अधिकारीसमेत रहेको सुवेदीले जानकारी दिए ।

Advertisement


मर्जरमा स्थानीयको असन्तुष्टि
२ वर्षअघि पोखरा १८ को रत्न आधारभूत विद्यालयको अवस्था ठिकठाक थियो । कर्मचारी र शिक्षकको दरबन्दी छँदै थियो । तर विद्यालयको गुणस्तर खस्किएको भन्दै अभिभावकले भकाभक सन्तानलाई अन्यत्रै सार्दै जाँदा गत वर्ष विद्यार्थी संख्या ९ मा झ¥यो ।


त्यसपछि विद्यालय व्यवस्थापन समितिले विद्यालयलाई बन्द गरी मर्जरमा लैजाने निर्णय गर्‍यो । अहिले सो विद्यालय नजिकै पर्ने जनजागृति आधारभूत विद्यालयमा गाभिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयपछि वडा कार्यालयको शिक्षा समितिले विद्यालय गाभ्न उपयुक्त देखिएको भन्दै पोखरा महानगरको शिक्षा समितिमा सिफारिस गरेको थियो ।

Advertisement


शिक्षा समितिको सिफारिसपछि जनजागृति आधारभूत विद्यालय मर्जर गरेको वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी बताउँछन् । ‘विद्यालय गाभ्न महाशाखाले मात्र निर्णण गर्न सक्दैन । विद्यालय व्यवस्थापन समिति हुँदै वडा कार्यालयको शिक्षा समितिको निर्णय भएपछि मात्र महाशाखाले निर्णय गर्ने हो,’ अधिकृत सुवेदीले भने ।


मर्ज भएका विद्यालय वरिपरिका स्थानीय भने रुष्ट छन् । महाशाखाले निर्णय गरेर विद्यालय बन्द गरेको पोखरा २८ को जनज्योेति आधारभूत विद्यालयविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो । स्थानीयले जिल्ला अदालत पुगेर महाशाखाको निर्णयविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।


यद्यपि जिल्ला अदातले विद्यार्थी कम भएको ठाउँमा मर्ज भएको महाशाखाको निर्णयलाई सदर गरेको सूचना अधिकारी सुवेदी बताउँछन् । ‘विद्यालय मर्ज गर्न नहुने भन्दै पोखरा २८ अन्तर्गत रहेको जनज्योेति आधारभूत विद्यालय वरिपरिका स्थानीय जिल्ला अदालत पुग्नुभएको थियो । तर, विद्यार्थी नै नभएपछि त्यो उजुरीमा अदालतले मर्जरलाई सदर गरिदिएको छ,’ सुवेदीले भने ।


मर्ज गरिएका विद्यालयका संरचना भने अहिले खाली छन् । ती विद्यालयको भौतिक संरचना संरक्षण गर्ने जिम्मा मर्जर भएका विद्यालयलाई दिइएको छ । तर, संरक्षण अभावमा कतिपय संरचना जीर्ण बनेका छन् । ‘मर्जर भएका विद्यालयका फनिचर मर्ज भएका विद्यालयलाई नै जिम्मा दिइएको छ । अचल सम्पति पनि अहिले उपयोगविहीन छन्,’ सूचना अधिकारी सुवेदीले भने ।


उनले गाभिएका विद्यालय दुर्गम भेगका भएको सुनाए । सबैभन्दा बढी पोखरा २८ का सामुदायिक विद्यालय मर्जर भएका छन् । यो वडाका ३ वटा विद्यालय एउटै विद्यालयमा गाभिएका हुन् । तर, विद्यालय गाभिए पनि अघिल्ला वर्षभन्दा यस वर्ष पोखरा महानगरमा सामुदायक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढेको छ ।


शिक्षा महाशाखाका सूचना अधिकृत सुवेदीले अघिल्लो वर्षभन्दा यस सामुदायिक र निजीतर्फ करिब १२ हजार विद्यार्थी संख्या बढेको आकडाले देखाएको जनाए । अहिले पोखरा महानगरमा २ सय ३ सामुदायिक र संस्थागततर्फ १ सय ७४ विद्यालय छन् ।


समुदायिकभन्दा निजीमा दोब्बर विद्यार्थी
पोखरा महानगरको शिक्षा महाशाखाले सामुदायिक र संस्थागत विद्यालयको विद्यार्थी संख्या फरक फरक रुपमा राखेको छ । सामुदायक विद्यालयको संख्या संस्थागतको भन्दा आधा भन्दा कम छ ।


सामुदायिक विद्यालयमा करिब ४९ हजार विद्यार्थी छन् भने संस्थागत विद्यालयमा करिब ८८ हजार विद्यार्थी छन् । यसरी महानगरभित्रका १ देखि १२ कक्षासम्मका विद्यार्थीको संख्या हेर्दा यो संख्या छात्राभन्दा छात्र बढी देखिन्छ । छात्रको संख्या करिब ७३ हजार हुँदा छात्राको संख्या ६० हजार हारहारी छन् ।


यसरी सामुदायिक विद्यालयको गुणस्तर खस्किएको भन्दै अभिभावकले सन्तानलाई संस्थागत विद्यालयमा भर्ना गर्न थालेपछि विद्यार्थीलाई आकर्षण गर्न पालिका र नेपाल सरकारले विभिन्न सेवा थप्न थालेका छन् । महानगरले सामुदायिक विद्यार्थीलाई आकर्षण गर्न प्रत्येक दिन प्रतिविद्यार्थी नेपाल सरकारले उपलब्ध गराउने १५ रुपैयाँमा १० रुपैयाँ थप गरी २५ रुपैयाँ दैनिक दिवा खाजाबापत दिँदै आएको छ । पोखरा महानगरले केही सामुदायिक स्कुललाई बस किन्न आधा रकमसमेत दिइरहेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया