भट्टराईको पार्टीले गण्डकीमा फरक पर्छ ?

समाधान संवाददाता २०८० फागुन २३ गते १०:४१

पोखरा ।
गण्डकी प्रदेश सभामा सभामुखसहित नेकपा माओवादी केन्द्र संसदीय दलमा ८ सांसद छन् । तीमध्ये एक जनाचाहिँ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा पनि हुन् । माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लडेको हुँदा उनी माओवादी संसदीय दलको सदस्यकै रुपमा छन् । तर भट्टराईले भने माओवादी संसदीय दलबाट आफ्ना सांसदलाई अलग गरिदिन संसद सचिवालयलाई पत्राचार गरेका छन् ।


संघमा सरकारको गठबन्धन फेरिँदा गण्डकीमा पनि फेर्न माओवादी र एमालेले पनि कसरत सुरु गरिसकेको बेला भट्टराईको पार्टीले फरक निर्णय लिए के हुन्छ भन्ने कौतुहल पैदा भएको छ । भट्टराईको पत्राचार अनुसार संसद सचिवालयले देवकोटालाई माओवादी संसदीय दलबाट अलग गरी छुट्टै पार्टी सांसदको हैसियत प्रदान गर्‍यो भने माओवादी सांसद संख्या घट्नेछ । त्यसो हुँदा नयाँ गठबन्धनको सरकार गठन गर्न एमाले—माओवादीलाई झन् अप्ठेरो परिस्थिति सिर्जना हुन सक्छ । संघमा माओवादीले कांग्रेससँगको सहकार्य तोड्दै एमालेसहितका दलको गठबन्धनमा आफूलाई सामेल गरिसकेको छ । भट्टराईसँग भने एमाले—माओवादीले कुनै सहमति गरेका छैनन् ।


संघमा जस्तै कांग्रेसलाई सत्ताबिमुख बनाएर एमाले—माओवादीले गण्डकीमा सरकार गठन गर्नका लागि आवश्यक बहुमत अर्थात ३१ सांसद पुर्‍याउन राप्रपाको साथ त लिनुपर्ने देखिन्छ नै । त्यसमाथि पनि बाबुराम भट्टराईको पार्टीले फरक बाटो हिँडे झन् अर्काे अडचन आउन सक्छ । गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८ (समाजवादीका देवकोटा र सभामुखसहित), राप्रपाका २ र नेकपा एसका १ सांसद छन् ।

Advertisement


गण्डकी प्रदेश सभा सचिवालयले सांसद फणीन्द्र देवकोटालाई सांसदको परिचयपत्र उपलब्ध गराउँदा नेपाल समाजवादी पार्टी नै उल्लेख गरेको छ । तर वागमतीमा भने सांसद गंगा श्रेष्ठलाई माओवादी केन्द्र भनेर परिचयपत्र प्राप्त छ । त्यसै कारण पनि पार्टीको केन्द्रीय कमिटी बैठकले आफ्ना सांसदलाई आफ्नै पार्टीको नाममा परिचय दिनुपर्ने मागसहितको पत्राचार गर्ने निर्णय गरेको नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष किरण थापा बताउँछन् ।


समाजवादीका पोलिटब्युरो सदस्यसमेत थापाले नयाँ गठबन्धनले आफूहरुसँग सल्लाह नगरेको बताए । उनले नयाँ गठबन्धनको राजनीतिक औचित्य पुष्टि कसरी हुन्छ भनेर आफूहरुले हेरिरहेको पनि सुनाए । ‘जे कारण अघिल्लो गठबन्धन बनेको थियो, अहिले त्यस्तो त होइन,’ उनले भने, ‘केवल सत्ताका लागि न नयाँ गठबन्धन बनेको छ ।’

Advertisement


समाजवादी पार्टीका सांसदलाई माओवादी संसदीय दलको ह्विप लाग्छ कि लाग्दैन भन्नेबारे कानुनी अन्योल छ । तर चुनावमा फरक फरक पार्टीका उम्मेदवार एकल चुनाव चिन्हबाट उठ्न मिल्ने कानुनी व्यवस्था अनुसार समाजवादीका नेता देवकोटा माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए ।

तपाईको प्रतिक्रिया