५ दशक समाजसेवामा

रवीन्द्र माकाजू २०८० फागुन २९ गते १२:३१

अन्तर्राष्ट्रिय स्तरको सामाजिक संस्था लायन्स क्लब पोखरामा निकै सक्रिय र व्यापक रूपमा फैलिएको सामाजिक संस्था हो । आजभन्दा करिब ५० वर्ष पहिले पोखरा लायन्स क्लबको जन्म भएको थियो । अहिले यो संस्था स्वर्ण जयन्ती मनाउने तरखरमा छ । यो संस्थाको जन्म कहिले र कसरी भयो भन्ने विषयमा पोखरा लायन्स क्लबका संस्थापक सदस्य एवं पूर्व काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ भन्छन् –


आजभन्दा करिब ४७ वर्ष अघि बम्बइका लायन नवरोज पटेल र साथीहरु स्वेच्छाले पोखरा घुम्न आउँदा पोखरा एअरपोर्ट स्थित होटल कृस्टलमा उहाँहरु बस्तु भएको र त्यसै होटलमा पेन्सन क्याम्प रामबजारका उत्तम पुन आइरहने र कहिले कता म पनि पुग्ने क्रममा संयोगवश त्यस होटलका मेनेजर आरके मजुमदारको मध्यस्थतामा बम्बईका गु्रपसँग परिचय र चिनजानपश्चात यति सुन्दर पोखरा सहरमा अन्तर्राष्ट्रिय एउटा लायन्स क्लब खोल्नु राम्रो हुन्छ भन्ने मोटामोटी चर्चाका साथ लायनवादबारे सामान्य जानकारी उत्तम पुन, म र मजुमदारलाई गराए । यसरी पोखरामा लायन्सबारे मित्र राष्ट्रका लायन्सहरुबाट जानकारी लिने पहिलो व्यक्ति हामी तीन जना नै हो ।


हामी तीन जनाबिच फाट्टफुट्ट कुरा भईरहन्थ्यो । जब उहाँहरु बम्बै पुगेपछि लायन्सका विभिन्न कागजपत्र पठाई दिनुभयो । त्यसपछि यसको गठनको लागि तीव्रता बढायौं । हाला कि विराटनगर र काठमाडौंमा अनि विरगंजमा लायन्स क्लब खुलिसकेका थिए । तापनि त्यसको केही प्रभाव या जानकारी पोखरेलीले पाएका थिएनन् ।

Advertisement


सुरुमा स्थानीयको नाताले उत्तम पुन र म हामी २ जनाको सक्रियतामा सदस्यहरु आमन्त्रण गर्दै गयौं । यसको उद्घाटन र विधिवत दर्ताका लागि छलफल चलिरहेका बखत विविध कारणका बाबजुद उत्तम पुन राजनीतिमा पनि सक्रिय रहेकाले उहाँलाई यसमा समावेश गराई रहनु उपयुक्त हुँदैन भन्ने धेरैको रायपश्चात वहाँलाई यसबाट छुटाउने जिम्मा मलाई तोकिएको थियो ।

१९९९ मा लायन्सको सर्वोच्च पद काउन्सिल चियरमेनमा निर्वाचित श्रेष्ठ सन् १९९८ मा संसार भरका ७४२ जना गर्भनरमध्ये सबैभन्दा बढी क्लब खोल्ने गर्भनर बने

Advertisement


तत्पश्चात प्रस्तावित अध्यक्षको रुपमा पिएन क्याम्पसका प्राचार्य जर्ज जोनलाई राख्ने छलफल र सहमतिपश्चात क्लब उद्घाटनका लागि स्थान महेन्द्रपुलमा रहेको होटल मन्दार तय भएपछि तत्कालीन अञ्चलाधीश रामचन्द्रबहादुर सिंहलाई निम्तो दिन म र साथीहरु पुग्यौं । म त्यस बखत सहकारी मेनेजर भएका कारण अञ्चलाधीशसँग राम्रो सम्पर्क थियो तर उहाँले ठाडै ईन्कार गर्नुभयो र कार्यक्रम अगाडि नबढाउनसमेत सचेत गराउनुभयो । तापनि अन्य माध्यमबाट उदटन गरी छाड्यौं ।


बम्बईबाट काठमाडौं लायन्स क्लबलाई पोखरामा लायन्स क्लब खोल्न सहयोग गर्नु भन्ने जानकारी गराएपछि काठमाण्डौंबाट लायन अग्रजहरु आई हामीलाई प्रशिक्षण दिने र विधिवत दर्ता गराउने व्यवस्थाका लागि सघाउनुभयो । त्यस बखतका संस्थापकमध्ये हाल हाम्रो क्लबमा ३ जना म, सुशीलकुमार गोशली, लायन मेहरमान श्रेष्ठमात्रै जीवित छौँ ।


गण्डकी प्रदेशको पर्वत जिल्लाको लिमी थापाठानामा पिता शिवलाल श्रेष्ठ र माता जयकुमारी श्रेष्ठबाट सन् १९४८ मा जन्मनु भएका लायन श्रेष्ठ पढाइको सिलसिलामा सन् १९५८ मा पोखरा आई बसोबास गर्न थाल्नुभयो । श्रेष्ठ अहिले बुवा, मुमा, दिदी र भाइ सहितको परिवार पोखरा पार्दीमा (स्याउलेबजार) बसोबास गर्दछन् । उनको प्रारम्भिक शिक्षा मालेपाटन स्थित बाराही स्कुलबाट ज्ञान हाँसिल गर्दै तत्कालीन सोल्जर्स बोर्ड स्कुल (हालको अमरसिंह मावि) बाट अध्ययन पूरा गरी पृथ्वीनारायण क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गर्न भ्याए ।


पढाइ पूरा गरेपछि श्रेष्ठले केही महिना आफ्नै जन्मस्थल कार्कीनेटामा शिक्षकका रुपमा रही सेवा पु¥याए । २०२४ सालमा जिल्ला सहकारी संघमा मेनेजरको रुपमा प्रवेश गरी स्वदेश र विदेशबाट तालिम लिँदै प्रमुख व्यवस्थापक भई १० वर्ष सेवा गरेपश्चात् आफ्नै व्यवसाय सञ्चालन गर्ने क्रममा विन्ध्येश्वरी स्टोर्स एन्ड सप्लायर्स व्यापारिक प्रतिष्ठान स्थापना गरी निरन्तर ४२ वर्ष पुस्तक, स्टेसनरी, खेलकुद एवं अन्य शैक्षिक सामग्री बिक्री वितरण गर्दै आएका छन् ।


आफ्नै जन्मस्थल लिमी थापाठानाकी लिलाकुमारीसँग समाजसेवी प्रेमबहादुरको वैवाहिक सम्बन्ध हुन गयो । श्रेष्ठ दम्पतीका ४ छोरी र ३ छोरा छन् । जागिरमा सेवारत रहेकै अवस्थादेखि नै विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै सोही बिच सन् १९७६ मा लायन्स क्लबमार्फत संस्थापक सदस्यको रुपमा प्रवेश गरी नेपालीले पाउने उच्च पदमा श्रेष्ठ पुग्न सफल भए ।


जागिरमा रहेकै बखत तत्कालीन पार्दी प्राथमिक विद्यालयको अध्यक्ष भएका श्रेष्ठ स्याउलेबजार बिच बाटो निर्माण समितिको सदस्य सचिव पनि थिए । नेपाल रेडक्रस सोसाइटी, बाल मन्दिरको (नेपाल बाल संगठन) आजीवन सदस्य श्रेष्ठ काहुँ भ्यु टावर निर्माण समितिको सदस्य भएर निर्माण कार्यमा लागे । काहुँ खानेपानी योजनाको सदस्य सचिव श्रेष्ठ सेभ द चिल्ड्रेन नेपालबाट गोरखामा सञ्चालित एकीकृत विकास कार्यक्रमको कार्यकारिणी सदस्य पनि थिए ।


लायन श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्यमा निर्वाचित भई सुरुमा नै कोषाध्यक्षको कार्यभार सम्हाले । तत्कालीन पुस्तक व्यवसायी संघ कास्कीको संस्थापक सदस्य सचिव, केही वर्षपश्चात् कास्की शाखाको अध्यक्ष र पछि निर्माण भएकोे नेपाल पुस्तक तथा स्टेशनरी महासंघ केन्द्रीय कार्यालयको सल्लाहकार मण्डलको सभापति र धेरै वर्षसम्म सोही प्रकारको भूमिका निर्वाह गर्दै आए समाजसेवी श्रेष्ठ । सन् १९७६ मा लायनवादमा प्रवेशपश्चात धेरै सामाजिक र सेवा कार्यमा संलग्नरत हुँदै सयौं आँखा शिविर र स्वास्थ्य शिविरमा पूर्णरुपमा उनले सेवा गरे ।


भलाम डाँडाखोर खानेपानी योजना र भलाम स्कुल निर्माण समितिको सचिव, तनहुँ क्याविन धरमपानी खानेपानी योजना र स्कुल भवन निर्माण समितिको कार्यकारिणी सदस्य, पोखरा पार्दी विरौटा स्थित राम मन्दिरको आजीवन सदस्य एवं सल्लाहकार छन् श्रेष्ठ । पर्वत जिल्ला थापाठाना खानेपानी योजनाको संयोजक श्रेष्ठले सराङ्कोट सामुदायिक परियोजनाको सदस्य सचिवको भूमिका निर्वाह गरे । लायनवादको विभिन्न पद र हैसियतमा कार्यरत रहँदै सन् १९९८ मा गर्भनरमा श्रेष्ठ निर्वाचित भए ।


सन् १९९९ मा स्वदेशमा लायन्सको सर्वोच्च पद काउन्सिल चियरमेनमा निर्वाचित श्रेष्ठ सन् १९९८ मा संसार भरका ७ सय ४२ जना गर्भनरमध्ये सबैभन्दा बढी क्लब खोल्ने गर्भनर नेपालको प्रेमबहादुर श्रेष्ठ भएको अन्तर्राष्ट्रिय स्तरमा घोषणा गरियो । लायन्स अन्तर्राष्ट्रिय नेपालमा लायनवाद को तर्फबाट सप्रमाण ठोस र दह्रो पहिचान दिन सफल, सोही वर्षको प्रभावले हालसम्म नै निरन्तरता पाएकोमा श्रेष्ठ अत्यन्त खुसी छन् । सोही काममा नेपाल बाट हटाउने विश्वव्यापी कार्यक्रममा सन् २००० मा नेपालको लागि लायन अन्तर्राष्ट्रियबाट ग्रान्ट एडमिनिष्ट्रेटरमा श्रेष्ठ नियुक्ति भए ।


भैरहवा, परासी, पाल्पा र धनगढीमा आँखा अस्पताल भवन निर्माण कमिटिमा सदस्य एवं सल्लाहकार बनेका श्रेष्ठले लायन्स सर्भिस सेन्टर नारायणगढको भवन निर्माण समितिमा सल्लाहकार र तनहुँको भानुभक्त क्याम्पस भवन निर्माणमा प्रमुख भूमिका खेले । उनी तुलसीपुरमा सम्पन्न दाहसंसकार गृह निर्माणको सल्लाहकार थिए । दाङको तुलसीपुरमा अत्याधुनिक एम्बुलेन्स उपलब्ध गराउन प्रमुख भूमिका खेले श्रेष्ठले ।


महेन्द्रनगरमा भव्य बस प्रतीक्षालय निर्माण कार्यमा सल्लाहकार श्रेष्ठ लेखनाथ सामुदायिक भवन निर्माण कार्यमा प्रमुख भूमिका एवं पोखरा माटेपानीमा सम्पन्न लायन्स सर्भिस सेन्टर भवन निर्माणमा प्रमुख भूमिका खेले । लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त सहयोगको ग्रान्ट एडमिनिष्ट्रेटर श्रेष्ठ वीरगञ्ज घण्टाघर नजिक निर्माण सम्पन्न भव्य यात्रु प्रतीक्षालयको प्रमुख सल्लाहकार थिए ।
श्रेष्ठ नौलो घुम्ती नेपालको संस्थापक अध्यक्ष, चिल्ड्रेन नेपालको सल्लाहकार, पोखरा पर्वत थापाठाना मिलन समाजको सल्लाहकार, अर्वुद रोग निवारण संस्थाका आजीवन सदस्य, हिमालय आँखा अस्पतालको आजीवन सदस्य, कोपिला नेपालको अध्यक्ष पदमा सक्रिय बन्न पुगे ।


जीवनको ७४ वर्षमा प्रवेश गरी रहँदा अतीतका यादगार, दुःख सुखका अनेकन स्मरण मानसपटलमा आएता पनि स्वेच्छाले गरिएको, लागिएको हुनाले परिवारबाट सकारात्मक सहयोग र समाजका मित्रहरुका समर्थन, हौसला प्राप्त भएका कारण उनलाई जीवनमा कुनै पश्चताप छैन । जे जति सेवा गर्न सफल भए, त्यसको श्रेय आफ्नो परिवार र मित्रहरुलाई दिन चाहन्छन् । समाजसेवी श्रेष्ठ यसैमा आनन्द भेट्छन् ।


श्रेष्ठ अतीतका राम्रा, सुख, खुसी र रमाइला क्षणहरुको स्मरण गर्दा आफ्नो मन प्रशन्न हुने बताउँछन् । व्यापार, व्यवसायतर्फका मित्रहरुबाट बुबा र लायन्स क्षेत्रका बा, प्रेम दाइ भनी गरिएको सम्बोधन उनका लागि ठूलो सम्मान तथा पदवी हो ।

तपाईको प्रतिक्रिया