नेपाली भकुन्डे राजनीति

डा सञ्जय कोइराला २०८० फागुन २९ गते १३:०७

आम नेपाली एवं नेपाली राजनीतिज्ञहरु सबैले नेपाली राजनीतिलाई फुटबल खेलसरह ठानेका छन् । हरेकलाई लाग्दछ उ गोल गर्न सक्षम छ । हामी सबै आफैैले आफैंलाई चतुर खेलाडी सम्झिएका छौँ । सबै कुरा जन्मजात जानेको जस्तो गरिरहका छौँ । जाबो एउटा भकुण्डोलाई गोल पोस्टमा छिराउने त हो, के नै पो ज्ञान या कला चाहिएला र ? न ज्ञान चाहिने न अभ्यास, मात्र बोल्न जानेको, अरुलाई होच्याउन जानेको भरमा नेपाली राजनीतिमा जम्न सकिने प्रवृत्ति अहिले हावी छ ।


राजनीति फगत साम, दाम दण्ड भेद अपनाएर शक्ति र सम्पत्ति आर्जन गर्ने क्रीडास्थल बनेको छ । वास्तवमा राजनीति विशुद्ध राष्ट्रसेवा हो । डेविड इस्टनका अनुसार राजनीति राज्य स्रोतहरुको उचित व्यवस्थापन हो । स्रोत भन्नाले आर्थिक, मानविय, खनिज या अन्य जुनसुकै वस्तु या विचार पनि हुन सक्छन् । परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको पनि उचित व्यवस्थापन गर्नु भनेको अर्थ राजनीति गर्नु हो ।


द्वन्द्व, युद्ध भनेको राजनीतिको असफलता हो । राज्य सञ्चालनका लागि गरिने हरेक क्रियाकलाप राष्ट्रिय राजनीति हो र सबैले बुझ्ने राजनीति भनेको यही नै हो । यसका लागि ज्ञान, अनुभव सँगै अध्यात्म पनि जरुरी हुन्छ । तर यहाँ यो कुरा बुझ्ने र बुझाउन खोज्नेहरु सधै अल्पमतमै रहिरहेका छन् ।

Advertisement


नेपाली राजनीतिको चरित्र हेर्ने हो भने हालसम्म नेपालमा राजनीति गर्न कुनै पनि योग्यता वा अनुभव आवश्यक देखिएको छैन । वर्तमान सन्दर्भमा भन्नु पर्दा त भाषणमात्रै गर्न जान्ने, अनेक राजनीतिक दाउपेच जान्ने खूबी भएका पतीत, अनैतिक, प्यक्तिवाद र परिवारवादको चंगुलमा रहेकाहरुको बाहुल्यता यहाँ रहेको छ ।

लोकतन्त्रमा राजनीति जनताको हातमा हुन्छ । जस्तो जनता उस्तै नेता पाउने हुन् ।

Advertisement


जो कोहीमा पनि राजनीति विरुद्ध आवाज उठाउन जानेको भरमा नै आफैंले राजनीति गर्न सक्छु भन्ने घमण्ड हावी हुने प्रवृत्ति नेपालको राजनीतिले देखिरहेको छ, भोगिरहेको छ । सत्ता बाहिर रहँदा नैतिकताका पाठ पढाएर नथाक्नेहरु सत्तामा पुग्नेबित्तिकै उही चरित्र देखाउन आफैं अग्रसर हुने गरेको खुला आकास जस्तै छर्लंग देखिएको छ । तैपनि जनतालाई कुनै न कुनै रुपले भुलाउन उनीहरु अझैं पनि सक्षम रहेका छन् ।


यस बिषयमा हामी नेपालीहरुको धैर्यको प्रशंसा नगरी बस्नचाहिँ सकिन्न । कहिलेसम्म यसरी राजनीतिलाई गरेर सिक्ने बिषयमा सीमित बनाउने ? राजनीतिशास्त्रलाई शास्त्र नभई छुमन्तर गरेर जान्न सकिने बिषयको दाँजोमा राखेर कहिलेसम्म देशलाई अराजनैतिक तत्वहरुको चंगुलमा रहिरहन दिने ? देश र समाजको लागि निःस्वार्थ काम गर्नुपर्ने यो जस्तो महत्वपूर्ण क्षेत्रलाई बिना ज्ञान र अनुभाव भएकाहरुलाई बारम्बार उही सत्ता र सम्पत्ति मोहमा अड्किएका परिक्षित नेताहरुकै वरिपरी कहिलेसम्म घुमाउने ? नेपाली जनताले विचार गर्नु पर्छ ।


लोकतन्त्रमा राजनीति जनताको हातमा हुन्छ । जस्तो जनता उस्तै नेता पाउने हुन् । यो कुरा स्वयम् प्रचण्डले पनि बेला बेला भन्ने गरेका छन् । २०६२/६३ को जनआन्दोलनले देशको राजनीतिलाई जनताको पहुँचमा पु¥याइसकेको अवस्था छ । यस्तो अवस्थामा आइसकेर पनि अपेक्षित सुधारहरु नदेखिएको भन्दै प्रतिगमनकारीको पनि अहिले अवाज उठ्दै गइरहेको पाउन सकिन्छ । यस्तो हुनुमा दोषी हामी जनता स्वयम् नै हौँ । आफ्नो अधिकारको बारेमा आफैंलाई ज्ञान नभएका हामी मृगले आफ्नो सुगन्ध खोजेको जस्तै हो ।


लोकतन्त्र राजनीतिको परिस्कृत अवस्था हो । आवधिक निर्वाचनद्वारा आफ्नो प्रतिनिधि आफैंले चुन्न पाउने अवसर पाइसकेको अवस्थमा आफ्नो अधिकार बुझ्न छोडेर कुनै मसिहाको आश गर्नु भनेको आफैंले आफैंलाई विश्वास नगर्नु हो । आफ्नो अधिकार बिना कुनै मेहनत प्रयोग गरेपछि फुर्सदमा पछुताउनुबहेक अरु केही पनि गर्न सकिँदैन ।


गीतमा भनिएको छ–मेहनत बिना फलको आश गर्नु भनेको पाप हो । हामी हरेक क्षण पाप कर्म गर्न उद्दत छौँ । हामीलाई क्षणिक फाइदा चाहिएको छ त्यो पनि बिना मेहनत, जुन असम्भव नै हो भन्दा फरक पर्दैन र हाम्रो वर्तमानको अवस्थाले पनि त्यसैलाई इंगित गर्दछ । हामी आफूले गर्नुपर्ने कर्तव्य गर्न आनाकानी गर्छौं तर हामीलाई नतिजा भने सोचेजस्तै चाहिएको छ ।
आफूले प्रयास गर्न सकेसम्म नचाहने तर फलका लागि भने इश्वरलाई पुकार्ने हाम्रो मनोभावना वास्तवमा लज्जास्पद नै छ । कर्म अनुसारको नै फल पाउने हो त राम्रो कर्म गरे फल अवस्य राम्रो नै हुन्छ चाहे त्यो ढिला नै किन नहोस् । तर अवश्य मिल्छ । यति कुरा बुझ्न सकेमात्र पनि राजनीतिको लागि कुनै दाउपेच नै जान्नु पर्दैन भन्ने मेरो विश्वास छ ।


कोइराला पोस्सोन केन्द्रीय उपाध्यक्ष हुन् ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया