पोखरेली सञ्चार नक्षत्रलाई सम्झदा

कुसुमकेशव पराजुली २०८० चैत ४ गते १३:२८

आज पोखराका अग्रज शिक्षाप्रेमी, समाजसेवी, व्यवसायी र मानवताप्रेमी दयाशंकर पालिखेको स्मृति दिवसको दिन हो । पोखराका पत्रकारहरुले उनलाई सम्झने दिन हो । आजैको दिनमा पोखराका सञ्चार नक्षत्रहरुलाई सम्मान गर्ने दिन रहेको छ । पोखरालाई आधार इलाका बनाएर निरन्तर प्रेस स्वतन्त्रताका लागि लड्दै आएका सशक्त युवा पत्रकार दीपेन्द्र श्रेष्ठ आज सम्मानित हुँदै छन् । यसैगरी उनकै सहयात्री सशक्त पत्रकार त्रिभुवन पौडेललाई पनि आजै मरणोपरान्त सम्मान गरिँदै छ ।


बिल्कुल निडर, जोशिला र हक्की स्वभावका ऐतिहासिक व्यक्तित्वलाई सम्झिरहँदा पोखराले स्वर्गीय दयाशंकर पालिखेलाई बिर्सन सक्दैन । निरंकुश राणाशासनको अत्य गराउँदा होस् वा प्रजातन्त्र स्थापनापछिका शैक्षिक, सामाजिक जागरण कालमा होस्, दयाशंकर पालिखेलाई गण्डकी प्रदेशजनले सम्झना गरिरहने छन् । दयाशंकर पालिखेको नाममा रहेको पत्रकारिता सम्मानले यस क्षेत्रमा रहेका पत्रकार, समाजसेवी र व्यवसायी सबैको गरिमा बढ्नेछ ।


प्रजातन्त्रको उदय कालले पु¥याउन नसकेको शिक्षा, सामाजिक उत्थान र स्वतन्त्र व्यावसायिक भोकलाई सञ्चार क्षेत्रले उजागर गर्न थाल्यो । यसै शिलशिलामा राजनीतिक स्वतन्त्रतासँगै सामाजिक सँस्कृतिक जगरणमा नयाँ पुस्ताको उदय भयो । नयाँ पुस्तालाई प्रोत्साहन गर्न स्वर्गीय दयाशंकर पालिखेका सन्तति लागिपरे । सूचना, संञ्चार र पर्यटन व्यवसायलाई नयाँ ढंगले विकास गर्न पालिखे परिवारको योगदान रहेको छ ।

Advertisement


पत्रकारिताका सशक्त हस्ताक्षर दीपेन्द्र श्रेष्ठले गरेको मेहनत र रेडियो कार्यक्रमको प्रस्तुति, साथै वाचन कला अहिले पनि गण्डकी प्रदेशमा गञ्जिइरहेको छ । रेडियो अन्नपूर्णबाट आफ्नो प्रतिभा प्रदर्शन गर्न सुरु गरेका सञ्चारकर्मी श्रेष्ठले लोकतन्त्र र प्रेस स्वतन्त्रता समाप्त गर्न लागिएको बेलामा संघर्षको इतिहासलाई कायम राखेका थिए । हाम्रा अग्रजहरुले हिंडेको लोकतन्त्रको रक्षा, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको बाटोबाट श्रेष्ठ अविचलित रहेका कारण उनी धन्यवादका पात्र बनेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष रही काम गरेका श्रेष्ठ हाल एभरेस्ट एफएमका सञ्चालक रहेका छन् ।


उनैं श्रेष्ठका सहयात्री पत्रकार त्रिभुवन पौडेल जसलाई नयाँ पुस्ताको पत्रकारितामा कहिल्यै बिर्सन सकिन्न । रेडियो अन्नपूर्णबाटै पत्रकारिता गरेका स्वर्गीय पौडेल जीवनको अन्तिम कालसम्म पोखरा हटलाईन दैनिकको सम्पादक भएर क्रियाशील भए । पत्रकार महासंघ गण्डकी अध्यक्ष र कास्कीका उपाध्यक्ष रहेर कार्य गरेका त्रिभुवन प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष बनेका थिए । पत्रकारिताको इतिहासमा हामीलाई माघ १ गते कालो दिन लाग्दछ । त्रिभुवन र उनका सहयात्री अनिल शाहीको एकै पटक वायुयान दुर्घटनामा परेर मृत्यु बरण गर्दा हामी पोखरेली पत्रकारलाई निकै चोट लाग्न पुग्यो ।

Advertisement

बेलैमा विकृति हटाउन र मुलुकको समग्र विकासमा ध्यान पुर्‍याउन सकेमा पालिखे लगायत स्वतन्त्र प्रेसका हिमायतीप्रति सम्मान ठहरिन्छ


स्वतन्त्रता सेनानी दयाशंकर पालिखेको योगदान प्रेस स्वतन्त्रतासँग जोडिएको छ । उनको परिवारसँग सञ्चारकर्मीद्वय दीपेन्द्र र त्रिभुवन पौडेलसँग राम्रो र सुमधुर सम्बन्ध रहेको थियो । उनका परिवारजनले स्थापना गरेको स्वर्गीय दयाशंकर पत्रकारिता पुरस्कारबाट २०८० र २०८१ बाट दुवै जना पत्रकार र उनका परिवारजन सम्मानित हुँदै छन् । यो पुरस्कार सम्मान कार्यक्रम बहालवाला सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गर्दै छन् । इतिहासको कालखण्ड र स्वर्गीय दयाशंकर पालिखे पत्रकारिताको इतिहासमा जुन आफैंमा महत्व राख्दछ ।


पत्रकारिताको इतिहास कोरिरहँदा नयाँ पुस्ताले पुरानो पुस्ताको गरिमा बढाउन लाग्ने र पुरानो पुस्ताले नयाँ पिढीका लागि अवसर प्रदान गर्न सकेमा राम्रो परम्पराका बस्दछ । समस्याको मुल जड कहाँ हुँदै रहेछ भने परम्परावादका नाममा केही व्यक्ति संकीर्ण भएको र नयाँ विकासको नाममा कोही अराजकतामा जकडिएको भेटिन्छ । यी दुवै अतिवादबाट माथि उठेर पत्रकारिता र समाज सुधार गर्न सकेमा राम्रो हुने राय वरिष्ठ पत्रकार तिलकमान गुभाजुको छ ।


पत्रकारिताको स्वतन्त्रता त्यसै उम्रिएर आएको होइन । राजनीतिक स्तन्त्रताका लागि प्राण हत्केलामा राखेर लोकतन्त्रको पुनर्बहाली गर्दै रहँदा जिउँदा सहिद भनेर पालिखेलाई भनिन्थ्यो । निर्दलीय राजतन्त्रका नाममा तत्कालीन शासन व्यवस्था बिरुद्ध लड्दा पालिखेलाई तत्कालीन शासकहरुले सास्ती दिनेमात्र होइन, वि.सं. २०४७ सालमा निरंकुश शासकले गोली दागेका तर त्यसबाट उनी बचेको खबर हामीले छापा माध्यममा प्रेसित यरेका थियौं । पालिखेलाई त्यति बेला पोखराका गणेशमान सिंहको नामाकरण हामीले गरेका थियौं । उनको स्वभाव निष्कपट, हक्की, निडर थियो भनेर प्रजातन्त्र सेनानी तारानाथ ‘पाखे’ बताउँछन् ।


अहिले बाबुबाजेको नाम जपेरमात्रै केही हुँदैन । कर्ममा विश्वास गर्ने पालिखेका परिवारजन बिभिन्न विधामा विज्ञ छन् । इन्जिनियरिङ, पर्यटन व्यवसायमा आफ्नो दख्खल भएका पालिखे परिवार पोखरा उद्योग बाणिज्य, नेपाल चीन मैत्रीसंघ संघमा पनि आबद्ध छन् । राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने दयाशंकर पालिखेका परिवारजन राजनीतिमा उल्लेख्य स्थान हासिल गर्न नसके पनि आफ्नो समुदाय र विशेषज्ञता राष्ट्रका लागि लागोस् भनेर चाहन्छन् ।


प्रेरणा दिनु, लिनु एउटा कुरा हो । ऐतिहासिक व्यक्तिको बुद्धि, विवेकलाई समुन्नत समाजमा अवसर दिनु वा नदिनु अर्को कुरा हो । यस मानेमा राजनीतिक खेल फोहरी पनि हुन सक्छ भन्दै विज्ञहरु निस्कृय हुनु दुखको कुरा हो । नीति निर्माताहरुले विज्ञ, विद्वानहरुलाई मर्यादा राख्न सके राम्रो हुन्थ्यो । हाम्रो राज्य व्यवस्थामा अनेकौं खोट छन् । बेलैमा त्यस्ता विकृति हटाउन र मुलुकको समग्र विकासमा ध्यान पुर्‍याउन सकेमा पालिखे लगायत स्वतन्त्र प्रेसका हिमायतीप्रति सम्मान ठहरिन्छ ।


आशा गरौं, नेपाली पत्रकारिताका नक्षत्रहरु जो समुन्नत समाजका लागि काम गर्दै छन्, उनीहरुको उज्ज्वल भविष्यको कामना गरौं । परिस्कृत प्रेस स्तन्त्रताका लागि, विकृत लोकतन्त्रका विरुद्ध हाम्रा पाइला अझै अगाडि बढून् भन्ने कामना छ । विसंगतिका लागि होइन, सुसंस्कृतिका लागि राजनीतिक, आर्थिक र सांस्कृतिक उत्थानमा हामी सबै अगाडि बढौं ।


लेखक प्रेस स्वतन्त्रता सेनानी हुन् ।

कुसुमकेशव पराजुली

प्रेस स्वतन्त्रता सेनानी पराजुली ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य हुन् 

तपाईको प्रतिक्रिया