खाँचो आशाको सञ्चारको

डा.भेषबहादुर थापा २०८० चैत ४ गते १३:३४

एक सय चारवर्षे जहानियाँ राणाकालको अन्त्यसँगै २००७ सालमा प्रजातन्त्र आयो । वि.सं. २००७ मा प्रजातन्त्र स्थापना हुँदा देश आर्थिक र कूटनीतिकरूपमा निकै पछाडि रहेको थियो । नेपालको स्वतन्त्र अस्तित्व नै असुरक्षित रहेको स्थिति थियो । त्यति बेला साम्राज्यवाद समाप्त हुँदै थियो भने विश्वका धेरै मुलुक औपनिवेशिक शासनबाट स्वतन्त्रता हासिल गरी नयाँ पहिचान बनाउँदै थिए । नेपाल पनि आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन विदेशी मुलुकहरूसँग सम्बन्ध विस्तार गरिरहेको थियो । राणा शासनको अँध्यारोकालबाट प्रजातन्त्रको उज्यालो समयमा नेपालले हरेक क्षेत्रमा ठूलो फड्को मारेको थियो ।


नेपाल आधुनिक संसारमा प्रवेश गरेको सन् १९५० पछि मात्र हो । त्यसबेलाका राजनीतिज्ञहरूले नेपाललाई अघि बढाएका हुन् । अघिल्लो पुस्ताले राम्रो जग बसालेका कारण नै नेपाल यतिखेर यो अवस्थामा स्वतन्त्र अस्तित्वका साथ उभिन सकेको छ । छिमेकमा भएका परिवर्तनहरूबाट नेपालले आफ्नो परिचय र पहिचान स्थापित गर्दै अघि बढ्दै आएको छ । तर यसमा राजनेताहरू जति इमान्दार बन्नुपर्ने हो, त्यो नभएको भन्ने जनगुनासो बढिरहेको छ । देशको समस्या देशभित्रैबाट खोजिनुको साटो त्यसमा बाहिरी सहयोग खोज्ने प्रवृत्ति अचेल बढ्दै गएको छ । यसले हाम्रो विदेश नीतिमा कहिलेकाहीँ धमिलोपन ल्याउने गरेको छ ।


नेपालको भौगोलिक संरचनाले गर्दा दुवै ठूला छिमेकी मुलुकसँग प्रतिकूल असर नपर्ने गरी आफ्नो स्वतन्त्रता र अखण्डता कायम राख्ने चुनौती हामीलाई जहिले पनि रहिरहन्छ । दुई छिमेकीमध्ये एउटालाई नजिक र अर्कोलाई टाढा राख्नु हुँदैन । दुवै छिमेकीसँग सन्तुलित, विश्वसनीय बलियो सम्बन्ध बनाएर त्यसैका आधारमा आफ्नो अस्तित्व मजबुत बनाउँदै अघि बढ्नुको विकल्प छैन । चिरकालसम्म दिगो हुने गरी र भावी पुस्तालाई त्यही बाटोमा हिँडाउने गरी समझदारी, आपसी सद्भाव, सन्धि सम्झौताको आधारमा सम्बन्धहरू तय गरिनुपर्छ ।

Advertisement


खास गरी छिमेक र शक्ति राष्ट्रसँगको सम्बन्धमा नेपाल जस्तो भू–राजनीति भएको मुलुक बढी चनाखो हुनुपर्छ । विश्वको शक्ति सन्तुलनमा तल–माथि भइरहँदा हामी सचेत भएर नै अघि बढ्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष दुवैले यस्ता विषयमा चनाखो हुनुपर्छ र बाह्य सम्बन्धका विषयमा समान धारणा बनाउनुपर्छ । कुनै पनि मुलुकले गर्ने सहयोगलाई सापेक्ष रूपमा हेर्नुपर्छ । नेपालजस्तो मुलुकका लागि टाढा–टाढाका शक्ति राष्ट्रभन्दा पनि आफ्नै छिमेकीसँगको सम्बन्ध निकै महत्त्वपूर्ण हुन्छ ।

राजनीतिक परिवर्तन मात्र नभई आर्थिक परिवर्तन आवश्यक छ । त्यसो नहुँदा हिजोको भन्दा अवस्था झन् चुनौतीपूर्ण भएको छ

Advertisement

विश्वको शक्ति सन्तुलनमा उदाउँदा दुई शक्तिका बीच रहेका हामीले दुवैबाट फाइदा लिन सक्नुपर्छ । ती छिमेकसँग हामीले प्रतिस्पर्धा होइन, सहकार्य गरेर अघि बढ्नुपर्छ । चीन र भारतलाई ठिक ठाउँमा राखेर सम्बन्ध अघि बढाउन सक्यौँ भने मात्रै पनि हाम्रो पक्षमा धेरै फाइदा पुग्दछ । त्यसैले दुई मुलुकबीच सन्तुलन कायम गर्नुबाहेक हामीसँग अरू उपाय छैन ।


विश्वलाई हेर्दा हिजोको परिवर्तनले ल्याएको न्यू अडरको परिवेशमा पुग्ने विश्व परिवेश चुनौतीपूर्ण बनेको छ । हिजो विश्वलाई हेर्ने र आज हेर्ने अवस्था परिवर्तन भएको छ । विश्वको अवस्था हेर्दा चिन्ताजनक छ । कतै लडाइँ भइरहेको छ कतै प्राकृतिक विपद् भइरहेको छ । विश्वको आर्थिक सङ्कटले गर्दा मानिस अवसरको खोजीमा विश्वभर शरणार्थीको रूपमा अन्य मुलुकमा दौडिरहेको छ । आफ्नो जन्मेको देश छाडेर आफूलाई सुरक्षित महसुस गर्दै प्रगतिको लागि अन्य देशमा पलायन भइरहेको छ । अर्कोको देशमा गएर मुक्ति पाइन्छ भन्ने भ्रमले डेरा जमाएको छ ।


हाम्रो विदेश नीति पनि स्पष्ट नै छ तर कार्यान्वयन पक्ष कमजोर छ । संविधानको मार्गदर्शन, राष्ट्रिय हित, संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त हाम्रा विदेश नीतिका मुख्य मार्गदर्शक हुन् । त्यो आधारमा सम्बन्धलाई अघि बढाउन सक्दा सरकार चुक्दैन । मुलुकको हितलाई केन्द्रमा राखेर बाह्य सम्बन्ध सुदृढ गर्नेमा हामी उन्मुख हुनुपर्छ । समाजवाद, लोकतन्त्र र मानवअधिकारप्रति सचेत रहेर सरकार अघि बढेमा धेरै विषयमा हामी अब्बल ठहरिनेछौँ । नेपालजस्तो मुलुक विश्वको कुनै पनि गुट वा उपगुटमा सामेल हुनुहुँदैन ।


नेपालजस्तो राष्ट्रका लागि कूटनीति ठूलो हतियार हो । कूटनीतिमा स–साना कुराले पनि गम्भीर अर्थ राख्छ । कूटनीति सिधा रेखामा हुँदैन । यसको कुनै स्थापित सूत्र पनि छैन । तर, यसको निश्चित मूल्य र मान्यता हुन्छ । त्यसमा हामी सचेत रहनुपर्छ । वर्तमान सरकार गठनपछि कूटनीतिक क्षेत्रमा केही आशाको किरण देखिन्छ नै । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणदेखि विभिन्न मुलुकहरूमा भएका भ्रमणहरूको आदान–प्रदानले ती देशहरूसँगको कूटनीतिक सम्बन्धलाई फराकिलो बनाउन मद्दत पुग्दछ ।


नेपालमा पनि पटकपटक राजनीतिक परिवर्तनहरू भए । समानताका लागि अनेक व्यवस्था परिवर्तन भए । प्रजातन्त्रको निम्ति आफ्नो ज्यान बलिदान गर्ने सहिदहरूको देन अविस्मरणीय छ । अहिले नागरिकमा चेतनाको स्तर निकै माथि उठेको छ । राजसंस्थाको अन्त्यदेखि गणतन्त्रको बहालीसम्म आइपुग्दा नेपालको राजनीतिले ठूलो चक्र पार गरेको छ । तैपनि नेपाली जनताले राजनीति स्थिरताको भावना पाउन सकेका छैनन् ।

आफ्नोपनलाई कायम गरी विश्वमा प्रगतिशील राज्यको रूपमा देखाउन जुन अवस्था शान्ति बहालीपछि भयो, शान्ति र प्रगतिको बाटो पहिल्याउनुपर्ने थियो, देशमा स्थायित्व र प्रगति बनाउनुपर्ने थियो त्यो भने हुन सकेको देखिँदैन । हिजो यसैका लागि भनेर सङ्घर्षमा होमिएकाहरू आज कोही यहाँ सम्भावना नदेखेर विदेश पलायन भएका छन् भने कोही आफूले हिजो देखेको सपनाबाट विचलित भई निहित स्वार्थमा चुर्लुम्म डुबेका छन् । यसले मुलुकलाई अधोगतितिर लैजान्छ ।


हामी यति बेला विषम परिस्थितिबाट गुज्रिरहेका छौँ । एकातिर विश्वमा नयाँ शक्ति राष्ट्रहरू उखदाउँदै छन्, शीतयुद्ध समाप्त भए पनि विश्व परिस्थिति झन् जटिल मोडतर्फ बढ्दै छ भने अर्कोतिर देशभित्रै आन्तरिक चुनौतीहरूको सामना गर्ने क्षमतामा ह्रास आएको छ, विश्वासको संकट बढ्दो छ । राजनीति जनमुखी हुनुभन्दा स्वार्थ प्रेरित हुँदै गएको छ । राजनीतिक परिवर्तन मात्र नभई आर्थिक परिवर्तन आवश्यक छ । संघर्ष र परिवर्तनको बेला जुन धारणा बाहिर आएको थियो जनताका लागि काम गर्छौँ भनेका थिए, आज त्यसो नहुँदा हिजोको भन्दा अवस्था झन् चुनौतीपूर्ण भएको छ । तसर्थ, सम्पूर्ण राजनीतिक शक्तिहरू आन्तरिक विवादमा नअल्झिएर मुलुकलाई समृद्धिको बाटोतर्फ हिँडाउन सक्षम हुनुपर्ने बेला छ । विवेकशील र दूरगामी निर्णयहरूको खाँचो टड्कारो रूपमा छ ।


जनताले देशभित्र सुख, शान्ति र समृद्धिको सम्भावना नदेखेर विदेशी भूमिमा जसरी जाने लर्को लागेको छ, यसले एकातिर मुलुकमा युवा शून्य हुने अवस्था आएको छ भने अर्कोतिर विदेशी भूमिमा अर्काको लागि लडेर ज्यान गुमाउनुपर्ने अवस्था छ । हिजो भएन भन्ने कुरा आज हुन्छ भनेर आशाको भावना देखाउन छाडेर विदेसिनुपर्ने अवस्था आउनु देशको दुर्भाग्य हो । विगतमा भएका कमीकमजोरीलाई केलाउँदै कसैलाई दोषी देखाई रहनुभन्दा त्यसबाट पाठ सिक्नुपर्छ । सुशासनका लागि कानुनी राज्य र न्यायपूर्ण समाजको स्थापना गर्ने अवस्था सिर्जना भएको छ ।


प्रजातन्त्र पुनः स्थापनापछि विश्वका धेरै देशबाट नेपाललाई थुप्रै सहयोग प्राप्त भयो तर ती सहयोगलाई हामीले प्राथमिकीकरण गर्न सकेनौँ । विदेशी सहायताको उचित प्रतिफल प्राप्त क्षेत्रमा लगानी हुन सकेन । सहायता वा लगानी ल्याउँदा देशको दीर्घकालीन हितमा प्रयोग गर्नु जरुरी हुन्छ । समृद्ध नेपाल निर्माण गर्न शान्तिपूर्ण कानुनी राज्य हुनुपर्दछ । यो नदेखेर जनतामा निराशा जागेको छ । नैतिकताको ह्रास व्यापक भएको अनुभूति जनताले गरेका छन् । जनताको आशा राजनीतिक स्थिरता होस्, त्यसलाई हासिल गर्न सक्ने कुरा जनताले अनुभूति गर्न सकेका छैनन् । यो निकै चुनौतीपूर्ण विषय हो भन्ने मलाई लाग्दछ । यति बेला विश्वमा देखिएको अनिश्चित वातावरणबाट कसरी देशलाई जोगाउने भन्ने आशाको सञ्चार दिन आवश्यक छ ।

तपाईको प्रतिक्रिया