पर्वतमा चार करोडको लागतमा तटबन्ध निर्माण

समाधान संवाददाता २०८० चैत १५ गते ११:३७

पर्वत ।
पर्वतको जलजला गाउँपालिका २ स्थित राम मन्दिर संरक्षण गर्न ४ करोड ३२ लाख ७९ हजार लागतमा तटबन्ध निर्माण गरिएको छ ।


कालीगण्डकी र रघुगंगा नदीमा अघिल्लो वर्षा याममा आएको बाढीले कटानको उच्च जोखिममा परेको राम मन्दि संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको हो । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजनाले माछापुच्छ्रे निर्माण सेवासँग २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत वर्ष माघमा ४ करोड ३२ लाख ७९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।


मन्दिर संरक्षण गर्न कालीगण्डकी नदी किनारमा १ सय ३८ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माण गरिएको छ । ठेक्का सम्झौता हुने बित्तिकै निर्माण कम्पनीले काम थालेको थियो । आगामी पुस ७ गतेसम्म ठेक्काको म्याद भए पनि १० महिनाअगावै योजना सम्पन्न भएको छ ।

Advertisement


३ वर्षअघि कालीगण्डकीमा आएको बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको राम मन्दिरमा क्षति भएको थियो । नदी कटानले मन्दिरको धर्मशालासहितका संरचना बाढीले बगाएको थियो । बाढीका कारण मन्दिर, पुजारी निवास र गलेश्वरबाट राम मन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको थियो ।


रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका सबइन्जिनियर अशोक तिमिल्सिनाका अनुसार जमिनमुनि ५० सेन्टिमिटर चौडाइको २ मिटर ५० सेन्टिमिटरको कटअफ निर्माण गरी ३ मिटर उचाइको ४ मिटर फराकिलो पक्की कम्पोजिट पर्खाल निर्माण गरिएको छ । निर्माण भएको कम्पोजिट पर्खालमाथि आवश्यकतानुसार ३ देखि ४ मिटर उचाइसम्म ‘ग्याबिन’ जाली भरिएको छ ।

Advertisement


कालीगण्डकीको कटानले उच्च जोखिममा पर्वत जलजला गाउँपालिकास्थित वारीबेनी, म्याग्दीको बेनीबजार र गलेश्वर क्षेत्र आसपासका बस्तीलाई संरक्षण गर्न रुपताल संरक्षण एकीकृत विकास परियोजनाले १ वर्षअघिदेखि ४८ करोडको लागतमा विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया