गुर्जा गाउँ सडकमा जोडियो

राष्ट्रिय समाचार समिति (रासस) २०८० चैत २२ गते ११:११

म्याग्दी ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो ।


लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण आयोजना सुरु भएको धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । चालु आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु दुई/दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्स्ट्रक्सनले ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको छ ।


तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । गत फागुन महिनामा सम्झौता भएको योजना आगामी २०८१ साल असार २० गते सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका इञ्जिनियर लोकेन्द्र रावलले उल्लेख गरे । ‘दुईवटा डोजर परिचालन गरेको ठेकेदार कम्पनीले लुलाङतर्फबाट करिब नौ सय मिटर सडकको मार्ग खोल्ने काम सकिसकेको छ,’ उनले भने, ‘२ लाख ५ हजार घनमिटर माटो कटिङ गर्ने सम्झौता अनुसार देउराली डाँडासम्म करिब ६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको छ ।’

Advertisement


गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको छ । गत वर्ष गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङदेखि लुलाङ हुँदै ४ किलोमिटर ४ सय मिटर सडकको मार्ग निर्माण भएको थियो ।
देउरालीदेखि गुर्जातर्फ पनि सडक निर्माणका लागि आगामी वर्षको बजेटमा पनि योजना समेट्नका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए ।

एउटै बस्ती एकै वडामा समेटिएको २ सय ६५ घरधुरी रहेको गुर्जाको जनसङ्ख्या १ हजार ५ सय छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकप्टर चार्टर गर्नुपर्छ ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया