श्रद्धाञ्जली: बिलबहादुर गुरुङ

जसले बौद्ध अर्घौ सदनको परिकल्पना गरे

विश्वशान्ति स्तूप निर्माण तथा सञ्चालनमा पनि समाजसेवी बिलबहादुरको अत्यन्त महत्वपूर्ण भूमिका थियो

रवीन्द्र माकाजु २०८० चैत २९ गते १२:४४

रवीन्द्र माकाजू
पोखरा ।
समाजसेवी बिलबहादुर गुरुङ अब हामीमाझ रहेनन् । पोखरा बुद्धचोक निवासी गुरुङ ९१ वर्षका थिए । काठमाडाैंको ग्रान्डी अस्पतालमा उपचारकै क्रममा गुरुङले मंगलबार बेलुका ९ बजे अन्तिम सास फेरे ।


सामान्य पेटको दुखाइबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न लगिएका गुरुङको पछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । स्वर्गीय गुरुङका २ श्रीमती, ३ छोरा, २ छोरी छन् । बिल गुरुङका जेठा छोरा कमलकुमार, माइला सुनील कान्छा सुन्दरकुमार, छोरीहरुमा गंगा र ज्वाला गुरुङ छन् । स्वर्गीय गुरुङको बुधबार पोखरा रामघाटस्थित बौद्ध अर्घाैंसदनमा अन्तिम संस्कार गरिएको छ ।


पेट्रेलियम डिलर्स एसोसियसन गण्डकीका संस्थापक अध्यक्ष, बौद्ध अघौं सदनका संस्थापक सचिव पनि हुन् । कालिका मावि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका पूर्वसदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्वसञ्चालक थिए उनी ।

Advertisement


पोखरामा २०२७ सालमा स्थापित बौद्ध अर्घौ सदनको परिकल्पनाकार एवं संस्थापक सचिव गुरुङको निधनबाट पोखराले एक धार्मिक, सामाजिक व्यक्तित्व गुमाएको छ ।


पहिला–पहिला तमुहरूले तीन राते अर्घौ गर्ने गर्थे । त्यसका लागि धेरै जोहो गर्नुपर्थ्यो । धेरै जनावर काटिन्थे । लाखौं रुपैयाँ खर्च हुन्थ्यो । पितृ उद्धारका नाममा संस्कार र परम्पराले विकृतरूप धारण गरेको देख्दा नासु बिलबहादुरको हृदय छिया–छिया हुन्थ्यो । पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौ सदनको स्थापना किन कसरी र के का लागि भयो भन्ने जिज्ञासामा पुराना बुढापाकाका भनाई अनुसार ७ दशक पहिले पोखरा उपत्यकाका अधिकांश भू–भाग बयरघारी शिरु भूमि थियो । यस ठाउँमा औंलो (मलेरिया) लाग्थ्यो । गाउँघरबाट पोखरामा बसाइसराई गर्नेहरू नगण्य थिए ।

Advertisement


शिक्षा, स्वास्थ्यको विकास र औलो उन्मूलन भएपछि पोखरामा बसाई सराई ह्वात्त बढ्न थाल्यो । वसाइसराई गर्नेहरूमा बढी भूपू सैनिकहरू थिए । आवादी बढ्दै जाँदा त्यही अनुरुप अन्य आवश्यकता बढ्दै गयो । पोखरामा अस्पताल स्थापना भएपछि गाउँघरबाट बिरामीहरू उपचार गर्न आउन थाले । सिकिस्त भएपछि मात्र अस्पताल ल्याउने बानीले भाग्यमानी बिरामी भने निको भएर घर फर्कन्थे । धेरैजसोले अस्पतालको बेडमै मृत्युवरण गर्थे ।


आपत–विपत परेको बेला सहयोग गर्नुपर्छ, यसका लागि कुनै न कुनै कदम चाल्नुपर्छ भन्ने प्रायः सबैको हृदयमा थियो । यसका लागि आन्तरिक रूपमा संगठित भएर अथवा व्यक्तिगत तरिकाबाट सहयोग होला भन्ठानेर सुरुमा क्या बुद्धिबल गुरुङ, नासु बिलबहादुर गुरुङ, बुद्धिबहादुर गुरुङ समेतले २०२७ सालमा अनौपचारिक रूपमा एक समितिको गठन गरे । समितिले पेन्सनरहरूबाट ५० पैसादेखि ५ रूपैयाँसम्म चन्दा संकलन गरी यसबाट उठेको रकम दाहसंस्कार गर्न अप्ठेरो परेकाहरूलाई सहयोग गथ्र्यो । समितिले २०३० सालसम्म केही रकम (चन्दा संकलनबाट) जम्मा गरेका थिए । त्यसैवर्ष समितिले दाहसंस्कारका लागि केही जग्गाको माग गर्न पहिलो पटक तत्कालीन पोखरा नगर पञ्चायतमा सम्पर्क राख्ने निधो गयो ।


उक्त प्रक्रियाका लागि बिलबहादुर गुरुङले तत्कालीन पोखरा नगर पञ्चायतमा समितिको प्रतिनिधित्व गर्दै २०३२ सालमा पोखरा नगर परियोजनाका तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीसँग वैरागी वनको केही जग्गा माग गर्दा वृक्षरोपण भएको कारणले दिन नमिल्ने जवाफ पाए । उक्त जग्गा उपलब्ध हुन नसकेपछि समितिले रामघाट स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पश्चिमपट्टि खाली जग्गा माग गयो । त्यसमा टिनको टहरो बनाई अस्पतालमा बिरामी कुर्न आउनेहरूले खाना पकाई खाने र टहरोको छेउमा लास राखी अन्तिम संस्कारको विधि पूरा गर्न प्रयोग गरे । तर अस्पतालका कर्मचारी र स्थानीय बासिन्दाहरूले अस्पतालको वातावरणमा प्रतिकूल असर पायो भन्ने बहानामा हटाइयो ।


अन्तमा पटक–पटक नगर पञ्चायतसंग अनुरोध गरेपछि तत्कालीन वडा नम्बर १० का वडाध्यक्ष अम्मरबहादुर कार्कीबाट २०३५ मंसिर ५ को वडा समितिको निर्णय अनुसार सदनलाई सिफारिस पत्र प्राप्त भयो । वडा कार्यालयको सिफारिस सहित नासु बिलबहादुर गुरुङले पोखरा नगर पञ्चायतमा निवेदन गर्न जाँदा आधिकारिक रूपमा समिति गठन गरी आउनुपर्छ भन्ने सल्लाह पाए । त्यसपछि अनौपचारिक रूपमा सक्रिय व्यक्तिहरूको हिमालय पेट्रोलियम कम्पनीमा पहिलो बैठक बस्यो ।

सो वैठकले कप बुद्धिबल गुरुङ, नासु बिलबहादुर गुरुङ, बुद्धिबहादुर गुरुङ, कोषाध्यक्ष र सदस्य रहेको समिति औपचारिक रूपमा गठन भयो । तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्चमा गणेश शेरचन थिए । नवगठित समितिले दिएको निवेदन उपर कारवाही भई नगर पञ्चायतको मिति २०३८÷८÷२१ मा बसेको बैठकले सदनलाई जग्गा प्रदान गर्ने निर्णय गयो । नगर पञ्चायतको उक्त निर्णय अनुसार सम्बन्धित कार्यालयहरूमा समितिका तर्फबाट सचिव नासु बिलबहादुर गुरुङ र सह–सचिव चन्द्रबहादुर गुरुङले सम्पर्क राखी आधिकारिक रूपमा सदनले १४ रोपनी ७ आना जग्गा प्राप्त गयो ।


सदनले पोखरा नगर पञ्चायतबाट जग्गा प्राप्त गरेपछि प्राथमिकताको आधारमा सुरुमा ब्लक र टिनको २ कोठे अस्थायी टहरो बनाई निर्माण थालनी गरायो । यसरी निर्माण भएको २ कोठे टहरोमा १ कोठामा आवश्यक सामान सहित चौकीदार बस्ने गथ्र्यो । अर्को कोठामा बिहान बेलुकीको नियमित पूजाका साथै दाहसंस्कारका लागि लामा, पच्यु, घ्याब्रीबाट विधिवत पूजा–पाठ गरिन्थ्यो । डा. चन्द्रबहादुरको भनाइअनुसार– ‘बौद्ध अर्घौ सदनको विकास निर्माणमा नासु बिलबहादुरको भूमिका अतुलनीय छ । जसले सदनको संरक्षक र अभिभावकको भूमिका निर्वाह गर्नुभयो ।’ प्रायः मठ–मन्दिर तथा धर्मस्थलमा मठाधीश तथा पीठाधीशहरूले आफ्नो प्रभुत्व जमाउने प्रयास गर्छन् । बौद्ध अर्घौ सदन पनि यस अपवादबाट उम्कन सकेन । तर बिलबहादुरले सत्यको सहारा लिँदा उनीमाथि आरोप लगाउनेहरू टिक्न सकेनन् । अन्तत सत्यको जित भयो ।


बिलबहादुर गुरुङले सदनको स्थापना कालदेखि २०४३ पुस १५ सम्म सचिवको भूमिका निर्वाह गरेको भएको देखिन्छ । २०४३ साल पुस १६ बाट २०४९ साल पुस १५ सम्म अध्यक्षको भूमिका २०५९ सालमा संस्थाले रजत जयन्ती मनाउँदा बिलबहादुर मूल संयोजक थिए ।


विश्वशान्ति स्तूप निर्माण तथा सञ्चालनमा पनि धर्मप्रेमी, समाजसेवी बिलबहादुरको अत्यन्त महत्वपूर्ण भूमिका थियो । गुरुङ धर्मोदय सभा कास्की त्यसपछि बुद्ध जयन्ती मूल समारोह समिति कास्की, धर्मकाया बुद्ध मण्डला, विपश्यना ध्यान केन्द्र, पोखरा लायन्स क्लब जस्ता धेरै संघसंस्थामा पनि संलग्न थिए ।


२०५२÷५३ तिर वैशाख पूर्णिमाको सेरोफेरो, ‘बुद्धजयन्ती’ मनाउने क्रमको सामूहिक तयारी भेलामा ‘बुद्धजयन्ती समारोहलाई धर्मशिला बुद्धविहार भित्र सीमित नराखेर समस्त बौद्धमार्गीलाई समेटेर बौद्धपरम्परा अनुसार सामूहिक पर्वका रूपमा मनाइनुपर्छ’ भन्ने धारणा बनिसकेको थियो यस्तो अवस्थामा बौद्धमार्गीहरू बीच आध्यात्मिक एकता र बुद्धशिक्षाको प्रचार प्रसारका लागि संगठनात्मक एकता र छाता संगठनको आवश्यकता महसुस र परिकल्पना गरिनु स्वाभाविक थियो ।

२५४८ औं बुद्धजयन्ती समापन पछि २०६१ जेठ ९ गते २ वर्षे कार्यकालका लागि बिलबहादुर गुरुङको अध्यक्षतामा १२ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन हुन्छ । पोखराको बौद्ध गतिविधिमा सक्रिय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्पराको थालनी यसै कार्यकालबाट भएको हो । पहिलोपटक सम्मानित हुने पोखराका ऐतिहासिक हस्तीहरू स्व. बिलबहादुर गुरुङ र तिलकमान गुभाजू थिए ।


अहिले बौद्ध अर्घौ सदनले भव्य रूपले लिएको छ । यो सदन बनाउन र बौद्ध गतिविधिका साथै पोखराको समग्र उत्थानमा स्व. गुरुङले खेलेको भूमिका अत्यन्त प्रशंसायोग्य छ । स्व. गुरुङप्रति भावपूर्ण श्रद्धासुमन ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया