कर्मचारी युनियनको शुभकामना साटासाट

समाधान संवाददाता २०८१ वैशाख २ गते १७:२०

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले कर्मचारीले सुशासनको पक्षमा, नागरिकको हित हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश समितिद्वारा आयोजित सुशासनका लागि युनियनकर्मीहरूको, नेतृत्व विकास, भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा शुक्रबार उनले त्यस्तो विचार राखेका हुन् ।
सुवेदीले नागरिकलाई छिटो छरितो हुने गरी सेवा प्रदान गर्न र जनताको बीचमा कर्मचारीप्रति रहेको भ्रम निवारण गरी युनियनको नेतृत्वमा रहेकाले योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।


नेता सुवेदीले वर्तमान अवस्थामा लिडर कस्तो हुनुपर्छ, आधुनिक जीवन पद्धति र प्रविधिलाई उपयोग गर्ने विधि लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशका सचिव तीर्थ भट्टराइले सुशासन र ट्रेड युनियनको भूमिका विषयमा कर्मचारीहरूमा अनुशासन, निर्णय गर्ने क्षमता, सहयोगी भावना, हुनुपर्नेमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।

Advertisement


निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दीपक रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले नेपाली कांग्रेसले कर्मचारीलाई बुझ्न नसकेको विचार राखे । अध्यक्ष रेग्मीले कर्मचारीहरू समाजको वौदिक वर्ग भएकाले नागरिकको समस्य बुझेर सेवा प्रवाह गर्नुपर्ने खाँचो औंल्याए ।


कार्यक्रममा नेपाली केन्द्रीय सदस्य गुरू बरालले कास्की कांग्रेसका निष्ठावान नेता खेमराज पौडेलको निधनमा समवेदनामात्र प्रकट गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश लोक सेवा आयोगका सचिव ऋषिराम तिवारी कास्की कांग्रेसका सहसचिव नवीन सिग्देल, शंकर ढुंगाना, निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य चित्रा ढकाल लगायतले शुभकामना दिएका थिए ।

Advertisement


कालाबाङ घडेरी होमस्टेमा आयोजित २ दिने प्रशिक्षण कार्यक्रममा करिब ७० जना युनियनकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा युनियनका कोषाध्यक्ष राजन तिमिल्सिनाले स्वागत मन्तव्य गरेका थिए । कार्यक्रम सञ्चालन नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका सचिव टेकनारायण सुवेदीले गरेका थिए ।

तपाईको प्रतिक्रिया