इलामको कृषि उपज पोखरामा

समाधान संवाददाता २०८१ वैशाख ३ गते ११:००

पोखरा ।
पोखराको मुना कृषि लिमिटेड (मुना बजार)ले इलाम नगरपालिकाले प्रवद्र्धन गरेका कृषि उपज शनिबारदेखि बिक्री सुरुवात गरेको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ र इलाम नगरपालिकाका उपमेयर विष्णुकुमार लिम्बुले औपचारिक रुपमा बजार सेवा सुरुआत गरे ।


पहिलो चरणमा इलामका २० प्रकारका उत्पादन कोशेलीको रुपमा पोखराका उपभोक्तालाई बिक्री गर्ने मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले जानकारी दिए । पोखरा महानगरका उपमेयर गुरुङले उद्यमशीलताको विकासको सवाल इलामबाट सिक्नुपर्ने बताइन् । ‘हाम्रो खानपान र रहनसहन परम्परा र संस्कृतिसँग जोडिएको छ,’ उनले भनिन्, ‘इलामको कृषि उत्पादनले दुबै पालिकाका जनतालाई सांस्कृतिक रुपमा एककार हुन सहयोग पुग्ने छ ।’


उनले महानगरपालिकाले जेठो बुढो, खुदो लगायतका उत्पादनको ब्रान्डिङ गरेको जानकारी दिइन् । उनले दुबै पालिकाबीच भागिनी सम्बन्ध कायम गरेर कृषिका उत्पादन आदानप्रदान गर्न सकिने प्रस्ताव गरिन् ।

Advertisement


इलाम नगरपालिकाका उपमेयर लिम्बुले इलामको कृषि उपजले पोखराको बजारमा स्थान पाउने विश्वास व्यक्त गरिन् । इलाम उद्योग वाणिज्य संघसँगको सहकार्यमा खाद्य संस्कृति आदानप्रदान तथा बिक्री प्रवद्र्धन अभियान चलाएको जानकारी दिदै उनले कृषि उत्पादनको बजारीकरणको समस्या रहेको चर्चा गरिन् । उनले किसानले उचित मूल्य नपाउने र बिचौचियाले फाइदा लिने परिपाटीको अन्त्य हुनु पर्ने बताइन् । उनले इलामले कृषि क्षेत्रमा बजेट बढाउन लागेको योजना सुनाइन् ।


गण्डकी प्रदेश कृषि निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले एउटा पालिकाले गरेको कृषिको असल अभ्यासलाई अरु पालिकाले अनुशरण गर्नुपर्ने बताए । अहिलेको नयाँ पुस्तालाई केन्द्र बिन्दुमा राखेर गरेको उत्पादन बजारीकरणमा सहज हुने जानकारी दिँदै उनले कृषिमा आधार उद्योगको विकासमा ध्यान दिनु पर्ने चर्चा गरे ।

Advertisement


कार्यक्रममा मुना कृषि लिमिटेडले उत्पादन गरेका सामाग्री किसान बजार बिरौटामा बिक्रीका लागि राख्न लिमिटेड र पोखरा महानगरपालिका आर्थिक महाशाखासँग सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । आर्थिक महाशाखाका प्रमुख मनोहर कडसयाले स्थानीय कृषि उपजको बजारीकरणका लागि महानगरले सहजीकरण गरेको जानकारी दिए ।


उनले उत्पादनलाई बजारसँग जोड्न सके स्थानीय किसान संरक्षित हुन सक्ने बताए । उनले ३७ कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकेको जनाए । मुना कृषि लिमिटेडका अध्यक्ष गुरुङले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको परिप्रेक्ष्यमा कृषिका उत्पादनलाई स्वच्छ बनाउनका लागि महानगरले नियमन र ब्रान्डिङमा ध्यान दिन सुझाव दिए । पर्यटकहरु खाने कुरामा सचेत र सजग हुने भएको गुणस्तरीय उत्पादनमा ध्यान दिनु पर्ने उल्लेख गर्दै उनले कृषि र पर्यटनलाई सशक्त रुपमा जोड्न पर्ने बताए ।


कम्पनीमा म्यानेजर सीता पाण्डेले गैर आवासीय नेपाली संघको कृषि प्रवद्र्धन समितिको सामाजिक उत्तरदायित्व सहितको व्यवसाय अन्तर्गत खोलेको मुना बजारले ६ शाखाबाट २ हजार २ सय थरीका कृषि उपज बिक्री गरेको जानकारी दिइन् । कार्यक्रममा श्री कम्प्लेक्सका सञ्चालक झलक श्रेष्ठ, डा लक्ष्मीराज पाण्डे, चिउली पार्चे तमु समाजका अध्यक्ष लोककुमारी गुरुङ, भूतपूर्व सैनिक कृष्णबहादुर खत्रीले कृषि उपजको बजारीकरणबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया