अलविदा गजलकार प्रकट पंगेनी

समाधान संवाददाता २०८१ वैशाख ५ गते १०:४५

पोखरा ।
साहित्यकार सरुभक्तले मंगलबार मध्यान्ह १२ बजेतिर फेसबुकमा तस्बिरसहितको एउटा पोस्ट गरे—साथी, हाँसो ठट्टा गर्न पुगेकै छैन, चाँडै स्वस्थ हुनू । गीतकार प्रकट पंगेनीसँग ४० को दशकमा खिचिएको तस्बिरसहित सरुभक्तले स्टाटस पोस्ट गरेको २ घन्टा पुग्दा नपुग्दै खबर आयो—प्रकटको स्वास्थ्य सुध्रिएन, उनी अब यो संसारमा रहेनन् ।


ज्वरोले सिकिस्त भएर सोमबार मणिपाल अस्पताल भर्ना भएका प्रकटको भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो । पारिवारिक स्रोतका अनुसार जन्डिस, निमोनिया लगायत समस्याले शरीरका सबै अंगलाई थिलोथिलो पारेपछि सघन उपचार गर्नुपरेको थियो । र, उपचारका लागि अर्थ संकलनको जोहो सरुभक्त र उनै प्रकट पूर्वअध्यक्ष रहेको संस्था पोखरेली युवा सांस्कृतिक परिवारले मिलाउँदै थियो ।


परिवारका अध्यक्ष उपेन्द्र पौडेलले स्वास्थ्य लाभको कामनासहित संस्थाको तर्फबाट २५ हजार रुपैयाँ बिउ राखेर सहयोगका लागि अपिलको स्टाटस फेसबुकमा राखेका थिए । केही बेरमै पोयुसाको खाता र इसेवामा गरी ९३ हजार रुपैयाँ पनि संकलन भइसकेको थियो । तर, त्यो पैसाले प्रकटको उपचार हुन पाएन । प्रकटले मंगलबार दिउँसो अस्पतालको सघन उपचार कक्षमै अन्तिम सास फेरे ।

Advertisement


साहित्यकार सरुभक्त २०३५ सालदेखि प्रकटसँगको मित्रता सुरु भएको सम्झन्छन् । भन्छन्, ‘पोखरेली साहित्यको एउटा अग्रज स्तम्भ ढलेको महसुस भएको छ, एउटा आत्मीय साथी गुमाउँदा ठूलो अभाव खट्किँदो रहेछ ।’ उनले प्रकट समकालीनदेखि अनुज पुस्तासम्मका प्रिय रहेको पनि सुनाए ।


त्यसो त पोयुसाका पूर्वअध्यक्ष प्रकाश ज्ञवालीले प्रकटको अभिभावकीय अनुभवबारे आफूले लेखेको गजल उनको निधनपछि फेसबुकमा राखेर श्रद्धाञ्जली व्यक्त गरेका छन्ः
जीवनलाई हार्दिकतामा ढाल्न सिकायौ प्रकट दाइ
आफू निभेर अरुलाई बाल्न सिकायौ प्रकट दाइ
जन्माएथ्यो पोखराले वामे सर्दै थिएँ गजलमा
तातेताते गरी गोडा चाल्न सिकायौ प्रकट दाइ

Advertisement


५० को दशकपछि गजल लेखनमा सक्रिय प्रकट पछिल्लो समय शृंगारिक गजलवाचनका लागि बेला बेला देश दौडाहामा हुन्थे । पोखरा छाडेर आफ्नै जन्मथलो कास्कीको रुपा गाउँपालिका देउरालीमा बस्दै आएका उनले हालैको भेटमा उपन्यास लेख्ने मनसुवा राखेको सरुभक्तले सुनाए । देउरालीबाट कलेज पढ्न पृथ्वीनारायण क्याम्पस आएपछि प्रकटसँग भेट भएको सरुभक्त सम्झन्छन् ।


भन्छन्, ‘एउटा प्रहसनमा उनको अभिनयबाट प्रभावित भएपछि मैले मेरो नाटकमा खेल्न आग्रह गरेको थिएँ ।’ सरुभक्त सुरुआती दिनमा प्रकटको अभिरुचि नाटकमा रहेको बताउँछन् । सरुभक्तले लेखेको एउटा घरको कथा होइन शीर्षक नाटक २०३८ सालमा राष्ट्रिय नाटक प्रतियोगितामा लैजाँदा प्रकटले सर्वाेत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए ।


२०३५ सालमा प्रकट, तीर्थ श्रेष्ठ, विजय बजिमय, नवराज कार्की, दुर्गा बरालसहित आफू पोखरेली युवा सांस्कृतिक परिवारका माध्यमबाट साहित्यिक गतिविधि र सिर्जनाकर्ममा लागेको सरुभक्तले बताए । सुरुमा नाटक, त्यसपछि मुक्तक, कविता र लुम्ले कृषि केन्द्रमा बस्दा प्रकट गीततिर आकर्षिक भएको उनी बताउँछन् । भन्छन्, ‘उनी बहुविधाका प्रतिभा थिए । ग्रामीण विषयवस्तुका सुन्दर कविता लेख्न सक्ने कवि थिए ।’


१ हजार ५ सय जति गीत र गजल लेखेका प्रकटका गीत संग्रह यो मन कतै अल्झेको छ र जूनको चिठी जूनालाई तथा गजल संग्रह प्रणय वेदका ऋचाहरु र कविता संग्रह अक्षरभरि अक्षता प्रकाशित छन् । उनले लेखेर सञ्जीव सिंहले गाएको गीत किन राख्यौ चोखो तिखो चुलेसीमा…चर्चित छ । तगारो छेउ आएर पनि आँगनी टेकिनौं.. बोलको उनको अर्काे चर्चित गीत विमल पराजुलीले गाएका छन् । ५ दर्जन जति उनका गीत रेकर्ड भएका छन् ।


कास्कीको तत्कालीन देउराली पञ्चायत र हालको रुपा गाउँपालिकामा ६८ वर्षअघि जन्मिएका प्रकटको वास्तविक नामचाहिँ शिव पंगेनी हो । विद्यालयमा सँगै पढ्ने अरुको पनि नाम शिव भएपछि फरक पहिचानकै लागि उनले आफूलाई प्रकट नामबाट चिनाउन थालेका थिए । साहित्यमा उनी त्यही नाममा स्थापित थिए ।


नाटक लेखन र अभिनयमा पनि लागेका प्रकटको खास पहिचानचाहिँ शृंगारिक गजलहरुले बनाएको थियो । प्रणय वेदका ऋचाहरु पुस्तक प्रकाशनसँगै उनले देशका दर्जनौं सहरमा शृंगारिक र प्रणयका प्रेमिल गजल बाचन गरेका थिए । पछिल्लो समय उनी आफ्नै गाउँ देउराली (रुपा गाउँपालिका) कास्कीमा बस्थे । स्वर्गीय पंगेनीका श्रीमती, छोरा र छोरी छन् । पोखराको सेती नदीमा बुधबार पंगेनीको अन्तिम संस्कार गरिने उनी पूर्वअध्यक्ष रहेको संस्था पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया