१ रुपैयाँ बचतबाट ८ करोड पुँजी

समाधान संवाददाता २०८१ वैशाख ६ गते १०:४७

तनहुँ ।
सुन्दा पत्यार नलाग्न सक्ला तर १ रुपैयाँ बचतले ८ करोडको पुँजी संकलन भएको छ । बन्दीपुर गाउँपालिका ४ स्थित बिमलनगर आमा समूहले १ रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल ८ करोड जम्मा भएको छ ।


करिब ३ वर्षसम्म समूहले १, २, १०, २०, ५० र १ सयका दरले बचत गर्दै आएको थियो । विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए ।


समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी ८ करोडभन्दा बढी पुगेको हो । महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताइन् । अहिले सहकारी संस्थामा ८ सयभन्दा बढी शेयर सदस्य छन् ।

Advertisement


थापा भन्छिन्, ‘सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक १ हजार ५ सयसम्म जम्मा गर्न थालेका छन् ।’ सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्याङकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर १५ लाखसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्नाकुमारी मगरले सुनाइन् ।


सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ । गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन छ । तत्कालीन समयमा १ लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको थियो ।

Advertisement


वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्धलगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ । आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेश स्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया