म्याग्दीकी सुनीमाया गायिका पोखरामा भेटिइन्

श्याम कुँवर २०८१ वैशाख ६ गते १०:५४

पोखरा ।
चर्चित लोकगायक खड्ग गर्बुजाले केही समय पहिले आफ्नो ल्यापटपमा एक अग्रज गायिकाको सुनिमाया गीत भेटे । त्यो गीत सुनेर प्रभावित भएका गर्बुजाले गत महिनाको चैत २ गते फेसबुकमा स्टाटस लेखेर ती गायिकालाई खोज्न लोक संस्कृति क्षेत्रका महानुभावसमक्ष आग्रह गरे ।


उनले लेखेका छन्, ‘यो गीत जति पटक सुन्छु, त्यति नै पटक रुन्छु । सयौं पटक सुने, सैयौं पटक रोएँ । यो सुनीमाया गाउने यी महिलालाई भेट्न पाए यिनको पाउमा निधार राखेर ढोग्ने थिएँ ।’ उनको अनुमान थियो, ‘यानीमाया सुनिमाया गीतको उदगम स्थल म्याग्दी नै भएकाले यो सुनिमाया गाउने यी महिला पक्कै पनि म्याग्दीकै हुनुपर्छ ।’


उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘मैले यो सामग्री कहाँबाट पाएँ बिर्सिएँ । ल्यापटपमा रैछ । यदि कसैलाई उहाँको बारेमा थाहा छ भने मलाई जानकारी गराइ दिनुहुन विनम्र अनुरोध छ ।’ कलाकार गुर्बुजाको आग्रह छ, ‘यो गाउँ कहाँको हो, यो पनि बताइ दिनुहोला । यस्ता प्रतिभाहरु कुना कन्दरामा लुकेर बसेका छन् । यो गीत सुन्दा म कलाकार हुँ भन्न लाज लाग्छ ।’ उनले लेखेका छन्, ‘न यिनको नाम थाहा छ, न यिनको गाम थाहा छ । भिडियोमा देखिएको गाउँ पक्कै पनि म्याग्दी जिल्लाकै हुनुपर्छ ।’

Advertisement


म्याग्दीमा जन्मेका गायक गर्बुजाले खोजी गरेको गायिका थिइन्, ७२ वर्षीय मनकुमारी पाइजा । नाताले गर्बुजाको सानिमा पर्ने म्याग्दीकै ती गायिका पाइजालाई खोज्न प्रेम पुनले सघाए । धौलागिरी क्षेत्रका सालैजो, सुनिमाया, सोरठी झयाउरे गीतका बादशाहको रुपमा चिनिने गायक गर्बुजा बुधबार तिनै अग्रज गायिका मनकुमारीलाई भेटे ।


नयाँ वर्ष २०८१को अवसरमा म्याग्दी पोखरा चौतारीले सांस्कृतिक कार्यक्रम सहितको शुभकामना आदानप्रदान कार्यक्रममा गर्बुजा र पाइजालाई भेट्ने अवसर जुराइ दियो ।

Advertisement


भीरबाट खसेर शारीरिक रुपमा अपांग भएर ह्वील चेयरमा मञ्चमा पुगेका गायक गर्बुजा र पाइजाले संयुक्त रुपमा यानीमाया सुनीमाया गीत गाए । गायक गर्बुजाले सुनीमाया गाउने अग्रज गायिका पाइजालाई भेट्न पाएकोमा खुसी व्यक्त गरे । उनले सुर, ताल र स्वर मिलाएर गाइने सुनीमाया गीत गाउँदाका कठिनाई सुनाए ।

‘यो गीत जति पटक सुन्छु, त्यति नै पटक रुन्छु । सुनीमाया गाउने महिलालाई भेट्न पाए, उनको पाउमा ढोग्ने थिएँ ।
खड्ग गर्बुजा, लोकगायक


छ मात्रामा ढालेर गीत गाएको स्मरण गर्दै उनले म्याग्दीकै गायिका ज्ञानसरा जुग्जाली (ज्ञानु) र सुर्खेतकी टीका पुनले पछिल्लो समयमा लोप हुन लागेको सुनिमाया गीत गाउन सक्ने बताए ।


धौलागिरि क्षेत्रका शिरफूल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्के लगायतका परम्परागत लोकभाकाको गीत गाएका गर्बुजाले ‘हेर्दाहेर्दै मायाले सोलेडाँडा काट्यो मायाले, बेनी बजार कालीगण्डकी, पानी खायो बाघैले, सुन मुरलीलाई, छ फूल बनैमा लगायतका मर्मस्पर्शी भाका सिर्जना गरेका छन् ।


गाउँलेका दुःखसुख, मायाप्रेम, गाउँघरका उकाली ओरालीका कथा व्यथालाई टपक्कै टिपेर आफ्नो सिर्जनामा ढाल्न सिपालु गायक गर्बुजाले मौलिक लोक संस्कृति पिता पुर्खाको नासो भएको बताए । उनले लोक संस्कृतिलाई जोगाए नयाँ पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नु पर्ने खाँचो औल्याए ।


गायक गर्बुजाले २०४६ सालमा रेडियो नेपालको ‘चौतारी’ कार्यक्रममा गीत गाउँदा संसारको सबभन्दा ठूलो र खुसी व्यक्ति ठानेको स्मरण गरे । ‘चौतारी’ कार्यक्रम मेचीदेखि महाकालीसम्मका कलाकारको साझा चौतारी थियो,’ उनले भने, ‘म्याग्दी पोखरा चौतारी पनि सबै म्याग्दीबासीको सुख दुखःमा साथ दिने साझा चौतारी बन्न सकोस् ।’ उनले म्याग्दी लोक संगीतको उद्गम स्थल भएको तथा म्याग्दीबासी लोक संस्कृतिलाई माया गर्ने बताए ।


कार्यक्रममा लोक गायिका ज्ञानसरा जुग्जाली (ज्ञानु)ले यानीमायाको साथै बुधबार अपरान्ह सार्वजनिक भएको होमलाल पुनले साथ दिएको नौमती बाजाको तालको गीत ‘झिङखानीको तामा सुन मायाली’ प्रस्तुत गरिन् । समारोहमा म्याग्दीको मराङको थाली नाँच, दोबाको सोरठी, नदिपुर आमा समूहले गोर्खे खुकुरी नृत्य प्रस्तुत गरे ।


चौतारीको भित्तेपात्रो सार्वजनिक गरिएको कार्यक्रममा म्याग्दी पोखरा चौतारीका अध्यक्ष डा मेखबहादुर खत्री, वरिष्ठ उपाध्यक्ष गोपाल घिमिरे, उपाध्यक्ष कुलवीर पाइजा, महासचिव भलकनाथ शर्मा, वरिष्ठ सल्लाहकार महेश पराजुली, सल्लाहकार डा प्रेम पुन, समाजसेवी मुक्ति रोका, पुन समाज पोखराका अध्यक्ष चीनमाया गर्बुजा लगायतले म्याग्दीको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा चौतारीले खेलेका भूमिकाको बारेमा बोलेका थिए ।

श्याम कुँवर

कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया