सम्पादकीय—श्रमको सम्मान गर

समाधान संवाददाता २०८१ वैशाख १९ गते १४:०३

नेपालको संविधानको मौलिक हक र कर्तव्यमा आम श्रमिकका अधिकार सनिश्चित गरिएको छ । नयाँ श्रम ऐन मार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षाको व्यवस्था भएको छ । नेपालमा श्रमिकको बैंक मार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा योजना ११ मंसिर २०७५ देखि सुरुवात भयो । मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना जस्ता सुविधा कोषमा छन् ।


सुरुवातमा औपचारिक क्षेत्रका श्रमिकहुँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र अनौपचारिक क्षेत्रका श्रमिकलाई योजनाले समेट्ने प्रयास भएको छ । ‘नयाँ सामाजिक संझौताको लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारी सहितको अर्थतन्त्र’ भन्ने नाराका साथ मे दिवस १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईदा योजनाले सबै क्षेत्रमा श्रमिकलाई समेट्न नसकेको आवाज उठेको छ ।


ऐतिहाँसिक पृष्ठभूमि हेर्दा श्रमिकको अवस्था नागरिक सरहको थिएन । श्रमिकलाई बस्तुको दर्जामा राखेर हेरिन्थ्यो । सामन्ती राज्य व्यवस्था र रोगजारदाताको विपक्षमा बोल्नु दुस्सायस हुन्थ्यो । काम गर्नेमाथि काम लगाउनेको ज्यादतिका बिरुद्ध सन १८८६मा अमेरिकाको सिकागोमा पहिलो संगठित मजदुर आन्दोलन भएको थियो ।

Advertisement

त्यस आन्दोलन माथि भएको चरम दमनका स्मरण गर्दै ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आरामको माग सहित सन १८९०मा आन्दोलन सफल भएपछि विश्वभरी श्रमिक दिवस मनाउन थालिएको छ । नेपालमा विक्रम सम्बत २००३मा विराटनगर जुट मिलमा पहिलो पल्ट संगठित मजदुर आन्दोलन सुरु भयो । क्रमशः नेपालमा २००७ सालदेखि निरन्तर रुपमा श्रमिक दिवस मनाइने गरेको छ ।


नेपालको हरेक राजनीति परिवर्तननमा आम श्रमजीवीको योगदान छ । नेपालमा राजतन्त्रको समुल अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना देखि हरेक राजनीतिक परिवर्तन तथा शासन व्यवस्थालाई फेर्न योगदान पुर्‍याएका आम नेपाली श्रमिकले नेपालका राजनीतिक दल तथा राज्यबाट उचित हिस्सा पाउन सकेका छैनन् ।

Advertisement

श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु आजको आवश्यक हो । शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रको उचित रुपमा सम्बोधन गर्दै सम्मानित सुरक्षित श्रम जीवन, स्वास्थ्य नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यन्वयन गर्नु पर्छ ।


खासगरी उक्त दिवस श्रमिकलाई बस्तुबाट मानवमा रुपान्तरण गर्ने अभियानसँग जोडिएको छ । आम श्रमिकको सम्मान, उत्सव एवं पर्वको रुपमा लिइने गौरवशाली दिवसलाई श्रमिकहरुको पर्वको रुपमा हेर्ने गरिएता पनि श्रमिकको गुम्दै गरेको अधिकारको रक्षा गर्दै थप हक र अधिकारको सुनिश्चितका लागि श्रमिक एकताको सन्देश दिने दिन पनि हो । नेपाली श्रमिकले श्रम ऐनमा व्यवस्था भए अनुसारको नियुक्ति सेवा सुविधा पाउन एक जुट भएर लाग्नु पर्छ । त्यस्तै श्रमको सम्मान गरी श्रमिकले सम्मानित, सुरक्षित र समृद्ध जीवन यापन गर्नको लागि श्रमिकको एकता आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया