महिला सशक्तीकरणका लागि आर्थिक समृद्धिमा जोड

समाधान संवाददाता २०८१ वैशाख ६ गते १३:१६

पोखरा ।
सुखद पारिवारिक जीवन र सामाजिक विकासका निम्ति हरेक महिलाहरू आत्मनिर्भर हुनुपर्नेमा जोड दिइएको छ । सबै किसिमका हिंसा, दुर्व्यवहार र कलहको जड भनेकै आर्थिक तथा सामाजिक सशक्तीकरणको अभाव भएको हुँदा महिलाहरु स्वरोजगार बन्नुपर्नेमा उनीहरुले ऐक्यवद्धता जनाएका छन् ।

बुहारी सशक्तीकरण समाज कास्कीले आफ्नो स्थापना दिवसको अवशर पारी आयोजना गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । कुनैपनि घरमा बुहारीहरु शिक्षित र रोजगार भएमा मात्रै मेलमिलाप र शान्ति कायम हुने भन्दै महिलाको आर्थिक सवलिकरणमा जोड दिएका हुन् ।


कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले समाजमा सती प्रथादेखि शुरु भएको लैङ्गिक विभेद र हिंसाको स्वरुप परिवर्तन मात्रै भएको तर केही हदमा मात्रै समस्याको समाधान हुने गरेको बताइन् । बुहारीहरुले चुलो चौको र पारिवारिक जिम्मेवारी सँगै जोखिमपूर्ण आर्थिक समृद्धीका काम गर्न सक्छन् भन्दै कमजोर सोच बदल्नुपर्ने उल्लेख गरिन् ।

Advertisement


पोखरा महानगरपालिका वडा नं ३ का वडा सचिव चन्द्रावती वाग्लेले राज्यले महिला सशक्तीकरणका लागि आकर्षक र उपयोगी वजेटको व्यवस्था गरे पनि सम्बन्धित वर्गका महिला समक्ष पुग्न नसकेको गुनासो सुनाइन् । उनले महिलालाई सीपमूलक तालिम प्रदान गरी स्वदेशी सामानको प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।


नेपाल बार ऐसोसियसन कास्कीका उपाध्यक्ष, अधिवत्ता गीता आचार्यले घरेलु हिंसा, तथा महिला हक अधिकारका निम्ति राज्यले गरेका व्यवस्थाबारे कानुनी सचेतना सम्बन्धी प्रशिक्षण दिइन् ।

Advertisement


संस्थाको वार्षिक उत्सवको अवशर पारी आयोजित ’सदस्य सम्मान , प्रशिक्षण तथा अन्तरक्रिया ’ कार्यक्रममा संस्थालाई योगदान पुर्याउने १३ जना सदस्यहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा सकुन पौडेल, सरिता भुजेल, पुष्पा शर्मा पौडेल, देवी पाठक, पुष्पा शर्मा, सन्ध्या भुजेल, सन्तोषी पौडेल, गिता न्यौपाने, लक्ष्मी आचार्य, नारायणी भट्टराई , फुलमाया अधिकारी , समिक्षा सुवेदी, मञ्जु भण्डारी सुवेदी छन् । कार्यक्रममा संस्थाका आजिवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । बुहारी सशक्तीकरण समाज पोखराका अध्यक्ष निर्मला केसी ’निरूको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संस्थाका सचिव फूलमाया अधिकारी ’सृष्टी’ ले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया