प्रकटका अप्रकाशित कृति छापिने

समाधान संवाददाता २०८१ वैशाख ७ गते ११:१२

पोखरा ।
उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी ‘शिव’का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । बिहीबार प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’को अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको हो ।


प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले शिवले साहित्यको क्षेत्रमा गरेको योगदानको उच्च मूल्यांकन उनका प्रकाशन नभएका कृतिलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय भएको जनाए ।


यसका अलावा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने गजलवाचन एवं प्रतियोगिता कीर्तिशेष प्रकटको जन्म जयन्तीको सन्दर्भ पारी ‘गजलमा प्रकट’ शीर्षकमा सञ्चालन गर्ने निर्णयसमेत भएको छ । गण्डकी प्रदेशको चिनारी गीतका सर्जकसमेत रहेका प्रकटको निधनले गण्डकी प्रदेशको साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया