सुरु भयो चौंरीको रगत खाने मेला

सुन्दरकुमार थकाली २०८१ वैशाख ९ गते १०:४८

जोमसोम ।
मुस्ताङमा चौंरीगाईको रगत खाने मेला लागेको छ । हिमालयन चौरी पालक तथा संरक्षण उपसमिति कोबाङले शुक्रबारदेखि याकचौंरीको आलो रगत खाने मेला आयोजना गरेको हो । प्राकृतिक उपचार पद्धति मध्येको एक मानिएको चौंरीको रगत खाँदा स्वास्थ्यवद्र्धक हुने भन्दै बर्सेनि सयौं सर्वसाधारण चौंरीको रगत खान मुस्ताङ आउँछन् ।


मुस्ताङमा चौंरीको रगत खाने प्रचलन नयाँ होइन । यहाँ सदिंयौंदेखि स्थानीय तथा जिल्ला बाहिरका मानिस बन्दोवस्तीका सामान लिएर मुस्ताङ आउँछन् । मुस्ताङमा परम्परागत रूपमा सदियौं वर्षदेखि याकचौंरी पालन गरिएको छ । यसलाई पछिल्लो पुस्ताका किसानले समेत निरन्तर पछ्याइरहेका छन् । हिमाली क्षेत्रमा पाईने याकचौंरी यहाँको सांस्कृतिक विशेषता मानिन्छ । यसलाई व्यावसायिक रूपमा समेत लगिएको छ ।


हिमाली तथा उच्चपहाडी लेक तथा खर्कहरुमा गोठै खडा गरेर पालन गरिने याकचौंरीले उच्चलेकमा वन्य जटीबुटी खाने भएकाले याकचौरी रगत स्वास्थ्यका लागि फाइदाजनक मानिएको हो । उच्चलेकमा पाइने यार्सा गुम्बा, जटामसी, निरमसी, पाँच औंले लगायतका जटीबुटी याकचौंरीले सेवन गर्ने भएकाले चौंरीको रगत खाँदा शारीरिक स्फूर्ति बढ्ने र यसले पेट सम्बन्धी सम्पूर्ण रोगको निको हुने भनाई छ ।

Advertisement


समुद्री सतहको ३ हजारदेखि ५ हजार मिटरको अग्लो उचाइमा याकचौंरी पालन गर्ने गरिएको छ । हिउँदयामको जाडोमा बस्ती नजिक झार्ने र बर्खायाममा उच्चलेकको चरन क्षेत्रमा छाडिन्छ । चिसो हावापानीमा हुर्काइने भएकाले याकचौंरीको रगत स्वादिलो र पोसिलो हुने गर्छ ।

याकचौंरीको आलो रगत प्रतिगिलास ३ सय रुपैयाँका दरले बिक्री

Advertisement


याकचौरी पालनबाट मुस्ताङका याकचौंरी पालकले चौरी गाईको दूध, दही, घिउ, छुर्पी बनाएर बिक्री गर्छन् । याकचौ्ररीको पाठापाठी हुर्काएर वयस्क बनाएपछि मासुका लागि पनि याकचौंरीको मासु बिक्री गर्ने गरिन्छ । याकचौंरीको छाला र पुच्छरसमेत महँगो मूल्यमा बिक्री हुन्छ । वैष्णव धर्मालम्बीहरुले पूजा कोठामा राख्न याकचौंरीको पुच्छरसमेत किनेर लैजाने गरेको पाइन्छ । याकचौंरी पालक व्यवसायीले याकचौंरीबाट दोहोरो फाइदा लिन गरेका छन् । याकचौंरीको रगत निकालरे बिक्री गर्दै याकचौंरी पालकले मनग्ये आम्दानीसमेत लिने गरेका छन् ।


हिमालयन चौरी पालन तथा संरक्षण उपसमितिले बर्सेनि वैशाख र साउन महिनामा याकचौरीको आलो रगत निकालेर सर्वसाधारणलाई बिक्री वितरण गर्ने गरेको उपसमिति सदस्य गोबिन्द शेरचनले जानकारी दिए ।


संरक्षण उपसमितिले थासाङ—२ घट्टेखोलामा चौंरीको आलो रगत खाने बेला सञ्चालन गरेको उनले बताए । समितिले वैशाख ८ गतेदेखि वैशाख १५ गतेसम्म रगत खाने मेला सञ्चालन हुनेछ । यसपटक याकचौंरीको आलो रगत प्रतिगिलास ३ सय रुपैयाँका दरले बिक्री भएको सदस्य शेरचनले बताए ।


मेलाको पहिलो दिन जिल्लाभित्र र जिल्ला बाहिरका १५० जना सर्वसाधारण चौरीको रगत खान घट्टे खोला पुगेका थिए । मेलाको दोस्रो दिन शनिबार २५ समूहका झन्डै २५० जना भन्दा बढी सर्वसाधारण चौरीको रगत खान त्यहाँ पुगेका छन् । चौंरीको रगत खाने गएका सर्वसाधारणले नाचगान गर्ने र तारो खेल खेलेर मनोरञ्जन लिने गर्छन् । रगत खाने मेलामा याकचौंरीको मासु समेत खान पाइन्छ ।


थासाङको घट्टेखोलास्थित चौरीको रगत खाने मेलामा सर्वसाधारणलाई खान र बस्नको सुविधा प्रदान गर्न झन्डै एक दर्जन त्रिपालका अस्थायी टहराहरु निर्माण गरिएको सदस्य शेरचनको भनाइ छ ।


अनुकुल मौसमका साथै बेनी —जोमसोम राष्ट्रिय राजमार्ग नजिकै भएकाले पनि थासाङको घट्टे खोलामा चौरीको रगत खान सर्वसाधारणको भीड लागेको हो । यसपटक प्रत्येक दिन बिहान एक पटक मात्र चौरीको रगत निकालेर बिक्री गर्ने गरिएको छ ।


चौरीको आलो रगत निकाल्नु अघि सम्वन्धित पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि मात्र चौरीको रगत निकाल्ने गरिएको समिति सदस्य शेरचनले उल्लेख गरे । सियो जस्तो आकारको हुपले याकचौरीको घाँटी छेउको नशामा कोपेर चौरीको रगत निकाल्ने गरिन्छ । चौरीको रगत निकालेपछि याकचौरी थप स्वस्थ्य हुने उनले सुनाए ।


थासाङ—२ मा ९ घरधुरीको ९ गोठको करिब ८ सय याकचौंरीको रगत निकाल्ने गरिएको छ । बर्खायाममा थासाङको मार्चेलेंक र घरपझोङको नमखुलेकमा पनि बर्सेनि याकचौंरीको आलो रगत निकाल्ने मेला लाग्छ । मुस्ताङमा याकचौंरीको आलो रगत खान अधिकांश छिमेकी जिल्लाबाट मानिसहरु आउने गरेको सौरुको याकचौंरी पालक सोजन हिराचनले जानकारी दिए । यसका अलावा चौरीको रगत खान काठमाडौं, पोखरा, बागलुङ र पर्वतबाट सर्वसाधारण मुस्ताङ आउने गरेको उनको भनाई छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया