पर्यटन प्रवर्द्धनमा गण्डकी र मधेस सहकार्य

समाधान संवाददाता २०८१ वैशाख १६ गते १३:३५

पोखरा ।
पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेस प्रदेशबीच सहकार्य हुने भएको छ । मिथिला र गण्डकका आ–आफ्नै विशेषता रहेकाले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका सहकार्यको वाचा गरेका हुन् ।


शनिबार महोत्तरीको बर्दिबासमा भएको कार्यक्रमका वक्ताहरुले दुवै प्रदेशले सहकार्य गरी पर्यटनबाट थप लाभ लिन सक्ने क्षेत्रहरुबारे प्रकाश पारे । अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीन दिने कार्यक्रम लिएर मधेस गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकारअघि बढ्ने बताए ।


मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेसमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार भएको जनाउँदै अब प्रदेशमा पर्यटन बोर्ड गठन हुने सुनाए । मधेश प्रदेशका ८ जिल्लाका सबै जिल्लामा पर्यटकीय क्षेत्र विकास गर्ने योजना रहेको उनले बताए । उनले पोखरा आएका पर्यटक कसरी मधेस ल्याउने तथा मधेश घुम्न आउने पर्यटक पोखरा कसरी पठाउने भन्नेबारे प्याकेज घोषणा गर्नुपर्ने विचार राखे ।

Advertisement


गण्डकी–मधेस हवाई सेवा सञ्चालन निरन्तरताका लागि छुटको व्यवस्था गरेर भए पनि चाँडै नै अघि बढाउनुपर्नेमा उनको जोड छ । पर्यटक ल्याउन सरकारले के गर्नुपर्छ, त्यस्तो नीति बनाउन तयार रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले साथ दिनुपर्ने बताए । जानकी मन्दिर र अयोध्या संस्कृति जोड्न चाँडै नै जनकपुर–अयोध्या रेल सञ्चालनको प्रोजेक्ट घोषणा हुने उनको भनाइ छ ।
मधेसका गृह, सञ्चार तथा कानुन मन्त्री शारदादेवी थापाले तालैतालको सहर पोखरा झैं मठ, मन्दिरको सहर जनकपुरलाई पनि चिनाउनुपर्ने भनाइ राखिन् । श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पर्यटन क्षेत्र विकासको मेरुदण्ड भएको जनाइन् ।

श्रमिकलाई संगठित गरेर रोजगारी दिने क्षेत्र पर्यटन भएको र आयआर्जनको दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
टेवान अध्यक्ष कमला गिरीले पर्यटन विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य आवश्यक रहेको औंल्याइन् । विगतमा पनि पोखरा–सिमरा तथा पोखरा–जनकपुर उडान भएकोमा पुनः निरन्तरतामा जोड दिइन् । पर्यटनमैत्री नीति नियम बनाउनुपर्ने भन्दै उनले आन्तरिक पर्यटन प्रवद्र्धन गरी यहाँको पैसा बाहिर जान रोक्नुपर्ने बताइन् ।

Advertisement


नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश संरक्षक विजय झुनझुनवलाले मधेसमा पनि पर्यटन बोर्ड स्थापनाको जोड दिए । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश अध्यक्ष हिरालाल गौतमले मधेश प्रदेशका नाका खोल्नुपर्नेमा जोड दिए । बर्दिबासमा हतियार कारखानाको पुरातात्विक महत्व रहेको चर्चा गर्दै उनले पर्यटन क्षेत्रमा विनियोजित रकम खर्च गरेमात्रै धेरै काम हुन सक्ने विचार व्यक्त गरे ।


नाट्टा मधेस प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेले मधेश र गण्डकी प्रदेशबीच विगतमा झैं सहकार्यको आवश्यक रहेको बताए । उनले गढीमाई भ्रमण वर्ष घोषणा गर्नुपर्ने बताए ।


कार्यक्रममा बर्दिबास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णुबहादुर खड्का, समाजसेवी केदार कोइराला, पर्यटन व्यवसायी तवरेज आलम, पत्रकार विशाल बस्नेत, सागरराज तिमिल्सिना, विजय नेपाल लगायतले बोलेका थिए ।


टेवान टोलीले विभिन्न आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तीन दिने कार्यक्रमअन्तर्गत त्यस क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । टोलीले शुक्रबार वीरगञ्ज उद्योग वाणिज्य संघसँग अन्तक्र्रिया गरेको थियो । टोलीले वीरगन्ज, बाराको गढीमाई मन्दिर, जनकपुरधाम, बर्दिबास, टुटेश्वर, पञ्चमाई मन्दिर, भरत ताल आसपासका धार्मिक एवं पर्यटकीय क्षेत्रको भ्रमण गरेको टेवान सचिव एवं कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले बताइन् ।

तपाईको प्रतिक्रिया