‘पच्यु खेगी’मा तानिए युवा

प्रमिला कुँवर २०८१ वैशाख १६ गते १३:३९

पोखरा ।
अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल, घोरेपानी लगायतलाई जोड्ने पदमार्गमा पर्छ घान्द्रुक । गुरुङ जातिको पुरानो बस्ती घान्द्रुक पर्यटकको विश्राम स्थलसमेत हो । कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ नम्बर वडामा पर्ने घान्द्रुकमा होमस्टे सञ्चालन आएपछि गाउँले पर्यटनमा फड्को मारेको छ ।


पहिले घान्द्रुक आउने पाहुनाको गन्तव्य अर्कै हुन्थ्यो, घान्द्रुक विश्रामस्थलमात्र थियो । गाउँले पर्यटकलाई घान्द्रुकमा एक रात वा दुई/तीन दिन कसरी डुलाउने भन्नेतिर लागे । पर्यटकलाई पृथकपन दिन साँस्कृतिक कार्यक्रम देखाउने साथै मौलिक सँस्कृतिहरु देखाउने योजना बन्यो ।


अरु बेला सधैं पाइन्ट र टिर्सट लगाउने राजेश गुरुङ गाउँमा मेला, महोत्सव हुँदा पच्यु खेगीको पहिरनमा सजिएर पुग्छन् । मेश्रम बराह माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने घान्द्रुक १० का गुरुङ १२/१३ वर्षको उमेरदेखि नै पच्यु खेगीमा समावेश हुन थालेका हुन् ।

Advertisement


सँगै पढ्ने उनका साथीहरु खेलकुदमा व्यस्त हुँदा उनी भने पच्यु खेगी प्रशिक्षणमा व्यस्त हुन्छन् । भन्छन्, ‘हामीले हाम्रो परम्परा, संस्कृति जोगाउनु पर्छ, मलाई यसमा रुचि भएर नै यतातिर लागेको हुँ, विद्यालयको हाफ छुट्टीमा साथीहरु गेम खेल्न जान्थे, म र मेरा केही साथी यसको प्रशिक्षणमा जान्थ्यौं । मेरो लागि फुटबल, भलिबल जुन गेम भने पनि यही हो ।’


प्रकृतिको पूजा गर्ने, प्रकृतिलाई नै देवता मान्ने भएकाले पच्यु खेगीलाई प्रकृति पूजक भनेर पनि बुझिने उनले बताए । पच्यु खेगी भनेको गुरुङ पुरोहित हो । गुरुङ समुदायमा हुने जन्म, मृत्यु, विवाह, ग्रहशान्ति लगायतका संस्कार गुरुङ पुरोहितबाटै हुन्छ । संगठनमा प्रायः १६/१७ वर्षका युवा छन् ।

Advertisement

घान्द्रुकका युवाहरु टाउकोमा भोव, खाउरे आदि लगाएर बाजाको तालमा नाच्छन् । उनीहरु पच्यु खेगी अर्थात् पुरोहित बन्दै छन् ।


पच्यु खेगीको प्रशिक्षण लिन त्यति सजिलो नभएको उनी सुनाउँछन् । ‘रुचि हुनुपर्छ, नीति, नियम पालना गर्नुपर्छ, विभिन्न चरण पार गर्दै, त्याग पनि गर्न सक्नुपर्छ । हामीले भैंसी, सुँगुरको मासु खान मिल्दैन, १ वर्षमा ३ महिना जति प्रशिक्षण लिनुपर्छ,’ राजेशले भने ।


पच्यु खेगीले लगाउने पहिरन पनि फरक किसिमको हुने गर्छ । टाउकोमा लगाउने प्वाँखको टोपी (भोव), धनेस चराको मुख (खाउरे) लगाएर विभिन्न किसिमका बाजा बजाउँदै तालमा ताल मिलाएर नाच्छन् शिष्या (चेला)हरु ।


कला, संस्कृतिलाई समुदायको पहिचान सम्झेर प्रशिक्षण लिन अग्रसर भएको १७ वर्षीय अतीत गुरुङ बताउँछन् । घान्द्रुक १० कै अतीत २ वर्षदेखि पच्यु खेगीको प्रशिक्षण लिइरहेका छन् । युवाले मौलिक कला, सँस्कृतिको महत्व बुझेर नयाँ पुस्तामा पुस्तान्तरण गर्न यसलाई जोगाउन कम्मर कसेर लाग्नुपर्ने उनी तर्क राख्छन् । उनी पनि मेश्रम बराह माविमा कक्षा १२ मा पढ्छन् ।


उनका बाजे पच्यु खेगीका चिबा थिए । बाजेको निधन भएपछि यसप्रति झनै झुकाव बढेको उनको अनुभव छ । ‘भदौ, पुस र माघ गरी वर्षमा ३ महिना प्रशिक्षण लिन्छौं, योग्य बन्न करिब ४ वर्ष जति लाग्छ,’ अतीतले भने, हस्तलिखित पाण्डुलिपि गुरुङ भाषामा भएकाले सुरुमा अक्षर चिन्न भाषा बुझ्न हम्मे पर्‍यो । सिक्दै जादाँ सजिलो भयो । आफ्नो संस्कार, संस्कृति, भाषा, पहिचानको संरक्षण गर्नुपर्छ । आफ्नै संस्कार आफ्नै रीतिरिवाजमार्फत गर्न पाउँदा खुसी लाग्छ ।’


पच्यु खेगी सिकेसँगै संस्कार संस्कृतिसँग मात्रै नभएर गुरुङ भाषासँग पनि नजिक हुन पाएकोमा उनले गर्व महसुस भएको सुनाए । संस्कृतिलाई जीवितै राख्नु युवाको दायित्व भएको बताउँदै उनले आधुनिकतालाई अंगाले पनि मौलिक परम्परालाई बिर्सन नहुने उल्लेख गरे ।


गाउँमा कसैको मृत्यु भएमा आत्माले स्वर्गमा बास पाओस्, दुख कष्ट नपरोस् भनेर पच्यु खेगीले संस्कार गर्ने चलन सुरु भएको पच्यु खेगीका चिबा ७१ वर्षीय मिमबहादुर गुरुङले सुनाए । पच्यु खेगीको मुख्य गुरुलाई गुरुङ भाषामा चिबा भनिन्छ ।


मन्त्र जानेको, प्राकृतिक विपदलाई रोक्न सक्ने तथा आफ्नो काम आफैं गर्न सक्ने व्यक्तिमात्र चिबा बन्न पाउने उनले खुलाए । मिमका अनुसार मन्त्रबाटै प्राकृति विपद्लाई पनि रोक्न सकिन्छ तथा गाउँमा अनिष्ट नहोस्, बालीनाली सप्रियोस्, प्राकृति विपद नआओस् भनेर पूजा गरिन्छ । झाकी तयार गर्नुअघि मन्त्र जप गरेरमात्र पूर्व धज उठाइन्छ । पूर्व धज सूर्यग्रहण र चन्द्रग्रहणको रातमा मात्र बनाइन्छ ।


बुढेस कालले छोए पनि संस्कृति संरक्षणमा सक्रिय भएर लागेका छन् उनी । संस्कार भावना र पहिचानसँग जोडिएको बताउँदै भाषा र संस्कृतिले एकआपसमा जोडिराख्ने माध्यम भएको बताए । ‘उमेर र स्वास्थ्यले राम्रो साथ दिएको छ ।

सक्ने बेलासम्म लागिरहनेछु, सँस्कृतिक उत्थानमा सहयोग गर्न पाउँदा गर्व लागेको छ,’ उनले भने, ‘मभन्दा पहिला ठूला बुबा, बुबा चिबा बन्नुभएको थियो । म चिबा बनेको पनि १५ वर्षभन्दा बढी भयो । पच्यु खेगीमा लागेको त ८/१० वर्षको उमेरदेखि नै हो ।’


गुरुङ समुदायको मौलिकता झल्कने कतिपय कला, संस्कृति पाका पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण नहुँदा पहिचान नै लोप हुने अवस्था रहेकोमा मिमबहादुर चिन्तित सुनिए । तर पछिल्लो समय संस्कृति जोगाउन युवाले संरक्षणमा रुचि र चासो देखाउन थालेकाले संस्कृतिजोगिनेमा उनी आशावादीसमेत छन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया