मुस्ताङको कोबाङ र टुकुचे लेकमा यार्सा संकलन

सुन्दरकुमार थकाली २०८१ वैशाख १७ गते १२:३०

जोमसोम ।
मुस्ताङका उच्चलेकमा यार्सा गुम्बा संकलन गर्न थालिएको छ । जिल्लाको थासाङ गाउँपालिका—१ टुकुचे र थासाङ गाउँपालिकाका उच्चलेकमा यार्सा संकलन सुरु भएको हो ।


राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा स्थानीय र जिल्लाबाहिरका सर्वसाधारणलाई यार्सा संकलन गर्न अनुमति दिइने गरिन्छ ।


उपल्लो मुस्ताङको उच्चलेकमा यार्सा संकलन हुँदैन । तर, जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न लेकमा यार्सा संकलन हुन्छ ।

Advertisement


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत (एक्याप) मातहतको इलाका संरक्षण कार्यालय जोमसोममा ९ वटा र ईलाका संरक्षण कार्यालय लोमान्थाङमा ७ वटा स्थानीय संरक्षण व्यवस्थापन समिति (सीएमसी) छन् । यी समितिले एक्याप अन्तर्गत रहेर एक्यापले सुम्पिएको जिम्मेवारी र कार्यसम्पादन गर्छन् ।

एक्याप मातहतको समितिले एक्यापको कार्यविधि र मापदण्डमा रहेर वन तथा वातावरणका साथै जैविक विविधता संरक्षणमा काम गर्ने गरेका हुन्छन् । यी समितिले वन जंगलको संरक्षणसँगै हिमाली जटिबुटी यार्सा गुम्बा संकलन तथा व्यवस्थापनको काम गर्ने गरेका छन् ।

Advertisement


यिनै समितिले बैठक बसेर एक्यापको कार्यविधिमा रहेर निर्णय गरी यार्सा संकलन अनुमतिका लागि एक्यापलाई निवेदन पेस गर्छन् । यसरी सम्बन्धित संरक्षण व्यवस्थापन समितिले एक्यापको अनुमति पाएपछि सर्वसाधारणलाई तोकिएको शुल्क लिएर लेकमा यार्सा संकलन गर्न अनुमति दिने एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।

उनले चालु वर्षका लागि हालसम्म कोबाङ र टुकुचे लेकमा यार्सा गुम्बा संकलन गर्न सम्बन्धित समितिले निवेदन दिएपछि एक्यापले अनुमति प्रदान गरेको जनाए । उनका अनुसार अन्य संरक्षण व्यवस्थापन समितिले पनि यार्सा संकलन छोडपुर्जी दिन एक्यापमा अनुमति दिने तयारी गरेका छन् ।


हिमाली जिल्ला मुस्ताङ अन्तर्गत थासाङको कुञ्जो, कोबाङ र टुकुचे, घरपझोङ गाउँपालिकाको जोमसोम, वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ, झोङ र छेङ्गुरका उच्चलेकमा यार्सा संकलन गर्न सर्वसाधारण जान्छन् । मुस्ताङको थासाङ गाउँपालिकाको वडा १ टुकुचे र वडा—२ कोवाङ संरक्षण व्यवस्थापन समितिले जिल्ला बाहिर र जिल्लाभित्रका सर्वसाधारणलाई धमाधम यार्सा संकलन पुर्जी दिन थालेका हुन् ।


संरक्षण व्यवस्थापन समिति कोबाङका अध्यक्ष जीवन थकालीले कोबाङका उच्चलेकमा वैशाख ४ गतेदेखि यार्सा संकलन पुर्जी वितरण गर्न सुरु गरिएको जानकारी दिए । कोबाङ संरक्षण समितिले मुली लेक, पोलो लेक, श्रीखर्क, मार्चे र सानुसरे लेकमा पुगेर यार्सा संकलन गर्न अनुमति दिने गरिएको समितिका अध्यक्ष थकालीले बताए ।

सर्वसाधारणलाई यार्सा संकलन गर्न संकलन पुर्जी वापत स्थानीयलाई २ हजार ५ सय र जिल्ला बाहिरका सर्वसाधारणलाई ५ हजार शुल्क लिने गरेको अध्यक्ष थकालीको भनाइ छ । यार्सा संकलनका लागि झन्डै ५० जनाभन्दा बढीले संकलन पुर्जी लिइसकेको र यार्सा संकलनका लागि सर्वसाधारण थपिने क्रम जारी रहेको समिति अध्यक्ष थकालीले जनाए ।


थासाङ गाउँपालिका—१ टुकुचेको संरक्षण व्यवस्थापन समितिले पनि वैशाखको २ गतेदेखि यार्सा संकलन फुकुवा गरेको संरक्षण व्यवस्थापन समिति अध्यक्ष दीपसागर थकालीले जानकारी दिए । टुकुचे संरक्षण व्यवस्थापन समितिले स्थानीयलाई १ हजार र जिल्ला बाहिरका सर्वसाधारणलाई ३ हजार रुपैयाँ शुल्क उठाउने गरेको समिति अध्यक्ष थकालीको भनाइ छ । टुकुचे समितिमार्फत बतासे लेक, धम्पुस लेक, मार्चे लेक र धौलागिरि आइफल लेक यार्सा टिप्न हालसम्म २८ जनाले संकलन अनुमति पुर्जी लिएका छन् ।


घरपझोङ गाउँपालिकाको जोमसोमको नममुलेक लगायत स्थानमा यार्सा संकलन अनुमतिको प्रक्रिया थालनी भएको छैन । जोमसोम समितिका अध्यक्ष चन्द्रबहादुर थकालीले समितिले यार्सा संकलन अनुमति दिने विषयमा छलफल भएको र सम्भवत जेठको १ गते संकलन अनुमति दिने तयारी भइरहेको बताए ।

‘हामी पहिलो बैठक बस्छौं, त्यसमिति मिति तोक्छौं,’ अध्यक्ष थकाली भने, ‘यार्सा टिप्नेलाई नियम र शुल्क कति लिने भन्ने विषयमा छलफल हुन्छ, यसपछि एक्याप कार्यालयमा पत्राचार गर्छौं ।’ जोमसोम लेकमा गत वर्ष ९० जनाभन्दा बढीले यार्सा संकलन अनुमति लिएका थिए । त्यस समय स्थानीयलाई ४ हजार र जिल्ला बाहिरका सर्वसाधारणलाई ६ हजार शुल्क तोकिएको थियो ।


वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ लेकमा यार्सा संकलनका लागि छोड पुर्जी दिने तयारी भएको मुक्तिनाथ संरक्षण व्यवस्थापन समिति अध्यक्ष घ्युर्मी गुरुङले जानकारी दिए । मुक्तिनाथ लेकमा गतवर्ष यार्सा संकलन पुर्जीका लागि स्थानीयलाई ४ हजार र जिल्ला बाहिरका लागि ६ हजार शुल्क थियो । गत वर्ष मुक्तिनाथ लेकमा यार्सा टिप्न करिब ८० जना मानिस लेकमा पुगेका थिए ।


वारागुङको झोङ लेकमा यार्सा संकलनका लागि छोडपुर्जी दिने विषयमा प्रारम्भिक छलफल भएको समिति अध्यक्ष सोनाम खाण्डो गुरुङले बताइन् । झोङ लेकमा गत वर्ष स्थानीयलाई २ हजार र अन्यलाई ३ हजार शुल्क लिइएको थियो । यार्सा संकलनबाट उठेको रकम समितिमार्फत गाउँ समाजलाई बुझाउनुपर्ने बाध्यता रहेको उनले सुनाइन् । झोङ लेकमा गत वर्ष ५० जना भन्दा बढीले अनुमति लिएका थिए ।


वारागुङको छेङ्गुर लेंकमा संरक्षण व्यवस्थापन समितिले नभई गाउँ समाजले नै यार्सा संकलन अनुमती दिने गरेको स्रोतले जनाएको छ । यसरी यार्सा संकलन अनुमतिबाट उठेको रकम गाउँसमाजकै कोषमा जम्मा हुने गरेको स्रोतको भनाइ छ । मुस्ताङका उच्चेलेकमा यार्सा गुम्बा संकलनका लागि स्थानीय सर्वसाधरणसहित रोल्पा, दाङ, रुकुम, गोरखा, धादिङ, बाग्लुङ र म्याग्दी जिल्लाका सर्वसाधरण यार्सा संकलन गर्र्न मुस्ताङ आएका छन् ।


जैविक विविधतामध्येको बहुमूल्य प्राकृतिक हिमाली जटिबुटी यार्सा गुम्बाको स्वदेश तथा विदेशमा उत्तिकै माग हुन्छ । यार्सा गुम्बा विभिन्न आयुर्वेद औषधिमा समेत प्रयोग हुन्छ भने यसको सेवनले शारीरिक स्फूर्ति र यौन क्षमता वृद्धि गर्नसमेत टेवा पुर्‍याउँछ ।


यार्सा संकलनकर्ताले संकलन गरेको यार्सा जिल्ला बाहिर लैजाँदा स्थानीय तह र एक्याप कार्यालयमा छोड पुर्जी लिने पर्ने प्रावधान छ । एक्याप मुस्ताङले वन नियमावली २०७९ अनुसार यार्सा गुम्बा छोड पुर्जीका लागि प्रतिकेजी ३१ हजार शुल्क लिने गरेको छ ।

एक्यापले संकलन गर्ने यार्सा छोड पुर्जी वापत उठेको राजस्व नेपाल सरकारको खातमा जम्मा हुन्छ । यार्सा छोड पुर्जी लिने व्यापारीहरुले एक्याप र स्थानीय तहमा दोहोरो राजस्व बुझाउनु पर्दा समस्या पर्ने गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया