सम्झिए चूडामणि खनाल

समाधान संवाददाता २०८१ वैशाख १७ गते १२:३५

पोखरा ।
हेमजा साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गरी प्राध्यापक चूडामणि खनालको स्मृति सभा गरेको छ । खनालको ७१ वर्षमा २०८० वैशाख ३१ गते निधन भएको थियो ।


प्रतिष्ठानले खनालको जन्मजयन्ती सन्दर्भमा स्मृति सभासहित माध्यमिक तहका विद्यार्थी केन्द्रित नेतृत्व विकास कार्यशाला आयोजना गरेको हो । कार्यक्रममा अम्बिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र अधिकारीले एक गुरुको स्मरणमा विद्यार्थीलाई चेतना छर्दै नेतृत्व विकास कार्यशाला आयोजना गरेकोमा प्रतिष्ठानलाई आभार व्यक्त गरे ।


गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेर सेवा निवृत्त खनाल २०२४ सालदेखि साहित्य लेखनमा लागेको पौडेलले जानकारी गराए ।

Advertisement

‘वसन्तविरोध’ शीर्षकको रचनाबाट नेपाली साहित्यमा प्रवेश गरेका खनालका ‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’, ‘प्रमुख अतिथि’, ‘पोखराज’ ‘खिनौरी सहर पसेपछि’ लगायतका झण्डै आधा दर्जन साहित्यिक कृति र २ सय फुटकर निबन्ध प्रकाशित भएको जानकारी गराउँदै पौडेलले खनाललाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए ।


कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक महासचिव असफल गौतमले नेपाली वाङ्मयको श्रीवृद्धिमा लाग्छौं भन्नेहरू नै कुण्ठापूर्ण जीवन बाँच्न रुचाउँदा अग्रजको योेगदान ओझेलमा परेकोमा चिन्ता व्यक्त गरे ।

Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका परशुराम अधिकारीले अग्रजले देखाएको बाटो पछ्याउँदै प्रतिष्ठान अगाडि बढ्ने क्रममा रजत वर्षलाई साच्चै पृथक बनाउन कार्यसमिति क्रियाशील रहेको बताए ।

कार्यक्रममा सिर्जना साहित्य सदनका संरक्षक भानुभक्त अविरल, संस्कृत युवा मञ्च नेपालका सचिव दिवाकर पौडेल, लघुकथा प्रतिष्ठानका सदस्य विष्णु बास्तोला, लोकदोहोरी गायक सुरेशरमण अधिकारी लगायतले बोलेका थिए ।


सोही सन्दर्भमा प्रतिष्ठानले रजत जयन्ती १९ औं विशेष कार्यक्रम माध्यमिक तहका विद्यार्थी केन्द्रित नेतृत्व विकास कार्यशालासमेत सम्पन्न गरेको छ । कार्यशालामा ३३ जना विद्यार्थीको सहभागिता थियो ।


प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले नेपाली हास्यव्यङ्ग्य साहित्यमा चूडामणि खनालको योगदानको उचित कदर हुन आवश्यक रहेको धारणा राखे ।

उनले, प्रतिष्ठान अग्रज स्रष्टाको स्मरण गर्दै नवपुस्तासँग हातेमालो गरेर अगाडि बढ्ने क्रममा विभिन्न संघ, संस्था र विद्यालयले सहकार्य गरी अगाडि बढ्न हौसला दिएकामा आभारसमेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया