जंगलमा आगो लगाउनेलाई कास्की प्रहरीले कारबाही गर्ने

समाधान संवाददाता २०८१ वैशाख १८ गते ११:५६

पोखरा ।
वज जंगलमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गर्ने भएको छ । आगजनीबाट क्षति भएको विगो असुल गरी तीन वर्षसम्म कैद वा साठी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मंगबार सूचना मार्फत कास्की प्रहरीले बताएको छ ।


आगलागी नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम समेत गर्दा पनि घटनामा कमि नआए प्रहरीको भनाइ छ । सूचनामा भनिएको छ ‘मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ मा वन जंगलमा आँगजनी गराई क्षति पुर्याउने व्यक्तिलाई ४ वर्षसम्म कैद र चालिस हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएकोले त्यस्तो आपराधिक कार्य गर्ने व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखी कारवाही गरिने व्यहोरा सूचित गरिन्छ ।


वन जंगलमा भएको आगजनीको कारण वनस्पति, वन्यजन्तु, जैविक विविधता र वातावरणिय पर्यावरणमा अपुरणिय क्षति हुन गई कास्की जिल्लाको जनजीवन नै प्रभावित हुन पुगेको छ ।

Advertisement


आपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरी हदैसम्मको कानूनी कारवाही गर्नका लागि यस जिल्ला प्रहरी कार्यालय, कास्कीबाट विशेष प्रहरी टोली परिचालन गरिएको व्यहोरा सवैमा जानकारी गराउन चाहन्छौँ ।


यस्तो कसूर गर्ने व्यक्तिलाई वन ऐन, २०७६ को दफा दफा ४९ अन्तर्गतको कसूरमा दफा ५० वमोजिम क्षति भएको विगो असुल गरी तीन वर्षसम्म कैद वा साठ्ठी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Advertisement


आगलागीका घटना सम्बन्धी सूचना नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरी सूचना दिई अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन सहयोग पुर्‍याई जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्नु हुन अनुरोध गरिएको छ । सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिनेछ ।’

तपाईको प्रतिक्रिया